जाजरकोट पहिरोमा तीन जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोट पहिरोमा तीन जनाको मृत्यु, दुई बेपत्ता

175
SHARES

जाजरकोट – अविरल वर्षाको कारण भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ।

साउन ३० गते साँझ ५ः३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ वर्षीय राम बहादुर शाही, ४५ वर्षीय सिद्धि बहादुर कामी, ५८ वर्षीय कमला कार्की, २३ वर्षीय अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीय सुन्तली चदरा र ६१ वर्षीय भद्रकला कार्की घाइते भएका छन्।

घाइतेमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ। उक्त पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली साउन ३१ गते बिहान परिचालन भएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

जिल्ला अस्पताल जाजरकोटमा उपचार पश्चात् नेपालगन्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। यसैगरी बेपत्ता ४ जना मध्य सोही ठाउँ बस्ने ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीकार्यको क्रममा फेला पारिएको छ। यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० वर्षीय भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीय हरिस बि.क. अझै बेपत्ता छन्।

हरिस बि.क. पहिरो पश्चात् घरबाट निस्किएकोमा सम्पर्क विहीन भएका हुन्। खोज तथा उद्धारको लागि परिचालित टोलीले उनीहरूको खोजीकार्य जारी राखेको छ। उक्त पहिरोमा परी सोही ठाउँका ८ वटा घरहरूमा समेत ठुलो क्षति पुगेको छ।

समाचार शेयर गर्नुहोस्
175
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.