गगनलाई धक्का दिन देउवालाई रेड कार्पेट

गगनलाई धक्का दिन देउवालाई रेड कार्पेट

कांग्रेसको आधिकारिकता विवादमा पहिलेको निर्णय उल्टाउँदा गत फागुन २१ को चुनाव पनि खारेज हुन सक्छ?

53
SHARES

काठमाडौं – सरकारको दोहोरो चरित्र उदाङ्गो भएको आरोप लागेको छ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झन्डै ६ महिना विदेशमा हुँदा रेड कर्नर नोटिस जारी गरेको सरकारले स्वदेश फर्कँदा हाइअर्लटसहित सुरक्षा दिएर दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लागेको हो।

जेनजी आन्दोलनमा घाइते भई उपचारका लागि सुटुक्क विदेश गएका देउवालाई पक्राउ गरेर नेपाल झिकाउन निर्वाचित सरकारले रेड कर्नर नोटिस जारी गरेको थियो। विमानस्थलमा बाजागाजा सहित स्वागत गरिनु, रेड कर्नर नोटिसमा वास्ता नहुनले देउवा सबै चाँजोपाँजो मिलाएर मात्रै स्वदेश फर्किएका टिप्पणी भएका छन्।

विदेशमा हुँदा रेड कर्नर नोटिस जारी भएका देउवालाई स्वदेश फर्कँदा रेड कार्पेटमा स्वागत गरिएको टिप्पणी भएका हुन्। देउवा श्रीमती आरजु राणा देउवा र छोरा जयवीरलाई विदेशमै छोडेर नेपाल फर्किएका हुन्। सरकारले आफूमाथि गर्ने व्यवहारपछि मात्रै आरजु र जयवीर फर्कने/नफर्कने निधो गर्ने देउवाको योजना देखिएको छ।

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिनु र देउवालाई स्वस्फूर्त स्वागत गर्न पाउँदा इतर समूह पनि उत्साहित बनेको छ। राष्ट्रिय चुनावमा मतदानको आह्वानसमेत नगरेका देउवाले पार्टी ३८ सिटमा खुम्चिनुको दोष विशेष महाधिवेशनलाई दिएका छन्।

देउवाले उही पुरानो शैलीमा बाघ झैँ गर्जेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग लडेको सुनाएका छन्। आफूलाई कसैले नेतृत्वबाट हटाउन नसक्ने हुङ्कार गरेका छन्। विद्यार्थी राजनीतिदेखि पूर्वराजासँगको लडाइँमा अदालतबाट न्याय पाएको सुनाएका छन्। अब पनि अदालतबाट न्याय पाउने उनले बताए।

देउवाले सम्पूर्ण शक्ति पार्टी नेतृत्वका लागि खर्चेका छन्। गगन थापा नेतृत्वको पार्टी नेतृत्वलाई च्यालेन्ज गर्दै समानान्तर केन्द्रीय समिति समेत बनाउने सङ्केत देउवाले दिएका छन्। रेड कर्नर नोटिस जारी भएको विषयमा देउवाले बोलेका छैनन्।

उनले राजतन्त्र अन्त्य भएर गणतन्त्र आउनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका रहेको चर्चा गरेका छन्। अदालतबाट आफूले न्याय पाएको र अब पनि न्याय पाउने उनले बताए।

नेपाली कांग्रेसभित्र देउवा स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग पौठेजोरी खेलेर स्थापित भएका नेतामा पर्छन्। उनले कांग्रेस कोइरालाहरूको बिर्ता नभएको भन्दै छुट्टै कांग्रेस प्रजातान्त्रिक पार्टी नै गठन गरेका थिए।

तर, पछि देउवाले मूल कांग्रेसमा प्रजातान्त्रिक कांग्रेसलाई एकीकरण गरेका थिए। लगातार दुई पटक सिङ्गो कांग्रेसको सभापति बनेका देउवालाई तेस्रो पटकका लागि विधानले नै रोकेको छ। विशेष महाधिवेशनपछि पद गुमाएका देउवा यतिबेला १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई ब्युँताउने कसरतमा लागेका छन्।

नियमित महाधिवेशन तोकिएको मितिमा गर्न अक्षम देउवा देशभित्रै हुँदा विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएका हुन्। तर, त्यसबेला देउवाले केही बोलेनन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका देउवा यतिबेला भने आफू पक्षीय नेताहरूको भेलामा सहभागी भएर बाघ झैँ गर्जिएका छन्।

विधि, थिति, नीति र नियम आफू अनुकूल भए मात्रै न्याय हुने र अरूका लागि लागू हुँदा अवैधानिक भन्ने देउवाको चरित्र उदाङ्गो भएको टिप्पणी हुन थालेको छ। गिरिजाप्रसाद कोइरालाले अब कांग्रेस फेरि दुई टुक्रा नबनाउन दिएको जिम्मेवारी देउवा स्वयंले यतिबेला भुलेको टिप्पणी समेत भएका छन्।

विमानस्थलबाट सिधै पार्टी कार्यालय सानेपा नगई चुनदेवी सम्पर्क कार्यालय जानुले देउवामा अझै कांग्रेसको शक्ति हत्याउने चाहना देखिएको छ। अरूका लागि मात्रै नभएर आफ्ना लागि पनि विधि, थिति, नीति र नियम पालना हुनुपर्ने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन्।

देउवाले विदेशबाटै चलाएको गुट अर्थात् इतर समूहले राष्ट्रिय भेलाको आयोजना गरेको छ, जुन भेला आइतबार सकिँदैछ। देउवाको उपस्थितिले उत्साहित भएको इतर समूहका नेताहरूले संस्थापन पक्षमाथि आक्रोश पोखेका छन्। जसको तारोमा सभापति गगनकुमार थापा परेका छन्।

उनीहरू गगनलाई सभापतिबाट हटाउने आदेश ल्याउन कागजपत्र जुटाउने अभियानमा लागेका छन्। एकाएक राष्ट्रिय भेलालाई सम्मेलन नामकरण गरेका छन्। भृकुटीमण्डपको विशेष महाधिवेशनलाई अवैधानिक घोषित गराउन १४ औँ महाधिवेशनबाट निर्वाचित देउवालाई साक्षी राखिएको छ।

इतर समूहले भेला भनेर प्रचार गरेको, उद्घाटनसमेत भेलाकै रूपमा गरे पनि दोस्रो दिनको बन्द सत्रमा ब्यानर परिवर्तन गरी सम्मेलन राखिएको छ। भेलाको निर्णयबाट सम्मेलन राख्न मिल्ने रहेछ, भेला होइन सम्मेलन भएको छ, इतर समूहका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि खनिएका देउवा पक्षीय नेताहरूको चुरीफुरी र फुर्तिफार्तीले नेपाली कांग्रेसभित्र स्पष्ट दुई समूह देखिएको छ। कांग्रेस फुट्ने अड्कलबाजीसमेत सार्वजनिक भएका छन्। तर, इतर समूहको राष्ट्रिय भेलाका संयोजक डा. शशाङ्क कोइराला भने नयाँ पार्टी खोल्नका लागि भेला नभएको बताउँछन्।

आफूलाई लोकतान्त्रिक शक्तिको दाबी गर्ने कांग्रेस यतिबेला न यता न उताको अवस्थामा छ। अधिकांश समय सत्ताको नेतृत्व गरेको कांग्रेस अहिले जनमत गुमाएर हरिबिजोगको अवस्थामा पुगेको छ। तर, उही पुरानै रवाफ भने नेताहरूले कायम राखेका छन्।

इतर समूहले सर्वोच्च अदालतबाट निस्सा पाएको र देउवा स्वदेश फर्किएपछि संस्थापन पक्षलाई हायलकायल पार्ने बाटो बनाइरहेका छन्। तर, सर्वोच्च अदालतले अघिल्ला निर्णय खारेज गर्दा अन्य विषय पनि सँगसँगै आउने कानुनका जानकार बताउँछन्।

कांग्रेसको आधिकारिकता विवादमा पहिलेको निर्णय उल्टाउँदा गत फागुन २१ को चुनाव पनि खारेज हुन सक्ने जिकिर वरिष्ठ अधिवक्ता यदुनाथ खनालले गरे।

यो विवाद बाहिरबाट हेर्दा कांग्रेसभित्रको रडाको जस्तो देखिए पनि यसको असर पार्टीको आन्तरिक राजनीतिमा मात्रै सीमित नहुन सक्ने जोखिम देखिएको छ। विशेष महाधिवेशनलाई अवैधानिक गराउने प्रयासमा देउवा समूह लागेको छ। तर, अदालतको आदेश र त्यसबाट उत्पन्न हुने कानुनी तथा राजनीतिक परिणामले ठूलो दुर्घटना निम्त्याउने खतरा समेत देखिएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता, कांग्रेसको आधिकारिकता र त्यससँग जोडिएका निर्णयहरू अदालतको अन्तिम निष्कर्षसँग जोडिन सक्ने भएकाले विवाद थप जटिल बन्ने देखिन्छ। अदालतले पुरानो निर्णय उल्टाउने अवस्था आए त्यसले निर्वाचनलगायत त्यसपछिका संवैधानिक तथा राजनीतिक प्रक्रियामा समेत प्रश्न उठाउन सक्ने कानुनका जानकारको दाबी छ।

यसकारण कांग्रेसको आन्तरिक विवादलाई केवल सभापतिको पदका लागि देउवा र गगनबीचको नेतृत्व सङ्घर्षका रूपमा मात्रै हेर्न नहुने देखिन्छ। अदालतबाट हुने निर्णयले पार्टीको आधिकारिकता, विशेष महाधिवेशनको वैधानिकता र त्यससँग जोडिएका राजनीतिक निर्णयलाई प्रभावित गर्ने अवस्था आए त्यसको प्रभाव राज्य सञ्चालन र संवैधानिक स्थायित्वसम्म पुग्न सक्ने जोखिम देखिएको छ।

कांग्रेसको आन्तरिक विवाद अब पार्टीभित्रको नेतृत्व सङ्घर्षमा मात्रै सीमित नरही राज्य सञ्चालन र संवैधानिक स्थायित्वसँग समेत जोडिन सक्ने देखिएको छ। देश मध्यावधि चुनावमा जान सक्ने सङ्केत समेत व्यक्त भएका छन्। इतर समूहको भेलाका संयोजकसमेत रहेका डा. शशाङ्क कोइरालाले बहुमतको सरकार भए पनि मध्यावधि हुँदैन भन्न नसकिने बताए।

देउवाको विदेश बसाइका क्रममा रेड कर्नर नोटिसदेखि स्वदेश फिर्तीपछि देखिएको राजनीतिक सक्रियतासम्मका घटनाले सरकार र राज्यका निकायको भूमिकामाथि प्रश्न उठाएको छ। अर्कोतर्फ, कांग्रेसभित्रको नेतृत्व विवाद, विशेष महाधिवेशनको वैधानिकता र सर्वोच्च अदालतबाट आएको निस्सासँग जोडिएको विषयले पार्टीको आन्तरिक शक्ति सङ्घर्षलाई थप पेचिलो बनाएको छ।

अहिलेको कांग्रेस विवाद केवल देउवा र गगनबीचको नेतृत्व सङ्घर्ष नभई विधि, विधान, अदालतको निर्णय र राजनीतिक स्थायित्वको परीक्षा पनि बनेको छ। विवादको अन्तिम निकास कानुनी र राजनीतिक रूपमा थप गहिरिँदै गए त्यसको प्रभाव कांग्रेसभित्र मात्रै सीमित नरही मुलुकको संवैधानिक तथा राजनीतिक स्थायित्वमै पर्न सक्ने जोखिम भने बढेको छ।

समाचार शेयर गर्नुहोस्
53
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.