नक्कली भुटानी शरणार्थी : २० पीडितलाई १ करोड ९२ लाख बिगो भराउने फैसला

नक्कली भुटानी शरणार्थी : २० पीडितलाई १ करोड ९२ लाख बिगो भराउने फैसला

58
SHARES

काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २० जना जाहेरवाला तथा पीडितलाई प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीबाट बिगो भराउने ठहर गरेको छ।

अदालतले दुलाल र भण्डारीबाट २० जना जाहेरवाला तथा पीडितलाई कुल १ करोड ९२ लाख ४२ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको हो। आङटावा शेर्पाबाट भने दाफुरी शेर्पा र दोर्जी शेर्पालाई १ लाख रुपैयाँ बिगो भराउने ठहर भएको छ।

अदालतको फैसलाको पूर्णपाठअनुसार केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, रामशरण केसी र आङटावा शेर्पाले आपसी मिलेमतोमा सङ्गठित भई जिम्मेवारी बाँडफाँट गरेका थिए। उनीहरूले आर्थिक लाभ लिने उद्देश्यले आपराधिक समूह निर्माण गरेको अदालतको ठहर छ।

उनीहरूले जाहेरवाला तथा उनीहरूका आफन्तलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै किस्ताकिस्तामा रकम उठाएको फैसलामा उल्लेख छ। यसरी जाहेरवालाबाट २ करोड १७ लाख ९२ हजार रुपैयाँ ठगी गरेको पुष्टि भएको अदालतले जनाएको छ।

यसअघि लगाउको मुद्दामा सजायको मागदाबी गरिएको थियो। प्रस्तुत मुद्दामा भने सजायको छुट्टै मागदाबी नगरी बिगोको मात्र दाबी गरी पूरक अभियोगपत्र दायर गरिएको अदालतले जनाएको छ।

चार प्रतिवादी ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसूरमा दोषी

अदालतले लगाउको मुद्दामा लिएका आधार र कारणसमेतबाट केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र आङटावा शेर्पाले ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर तथा एकीकृत कसूर गरेको ठहर गरेको छ।

लिखत किर्तेतर्फ भने दुलाल र भण्डारीलाई कसूरदार ठहर गरिएको छ। सागर राई र आङटावा शेर्पाविरुद्ध लिखत किर्तेको अभियोग दाबी नपुग्ने ठहर भएको छ।

रामशरण केसीले भने लिखत किर्ते, ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर तथा एकीकृत कसूर गरेको अभियोगबाट सफाइ पाएका छन्।

अदालतले केसीको हकमा लगाउको मुद्दामा लिएका आधार र कारणसमेतबाट अभियोग दाबी पुग्न नसक्ने ठहर गरेको हो।

आङटावा शेर्पाबाट एक लाख

आङटावा शेर्पाको हकमा दाफुरी शेर्पा र दोर्जी शेर्पाले आफूहरूलाई अमेरिका पठाइदिने भन्दै जनही ६ लाख रुपैयाँ दिएको जाहेरी दिएका थिए। अमेरिका पठाउन नसकेपछि शेर्पाले ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ फिर्ता गरेको र बाँकी १ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।

शेर्पाले भने आफूले अमेरिका पठाइदिने भन्दै रकम नलिएको बयान दिएका थिए। जाहेरवालाले हाइड्रोपावरको शेयर खरिदका लागि ११ लाख रुपैयाँ दिएको र सो रकम फिर्ता गरिसकेको उनको दाबी थियो।

तर अदालतले शेर्पाले जाहेरवालाबाट रकम लिएको स्वीकार गरेको तथ्यलाई समेत आधार मानेको छ। लगाउको मुद्दामा परेको किटानी जाहेरी तथा जाहेरवालाहरूको बकपत्रबाट केही रकम फिर्ता भएको र केही रकम बाँकी रहेको देखिएको अदालतले जनाएको छ।

यसबाट शेर्पाले ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसूर गरेको पुष्टि भएको अदालतको ठहर छ। सोही आधारमा दाफुरी शेर्पालाई ५० हजार र दोर्जी शेर्पालाई ५० हजार गरी १ लाख रुपैयाँ बिगो भराउने फैसला भएको छ।

सागर राईबाट बिगो नभराउने

सागर राईविरुद्ध मनिला रायमाझी र राजन राईले २१ लाख रुपैयाँ बिगो दाबी गर्दै संयुक्त जाहेरी दिएका थिए। तर मनिला रायमाझीले अदालतमा सागर राईसँग आफ्नो व्यक्तिगत लेनदेन रहेको र सबै लेनदेन मिलिसकेको भनी बकपत्र गरेकी थिइन्।

सोही कारण मनिला रायमाझी र राजन राईको हकमा सागर राईबाट बिगो भराउनुपर्ने नदेखिएको अदालतले ठहर गरेको छ।

रामशरण केसीले रकम सङ्कलन गरे, दुलाल र भण्डारीलाई बुझाए

श्यामकृष्ण श्रेष्ठबाट २६ लाख, ओमबहादुर क्षेत्रीबाट ८ लाख, खगेन्द्र तामाङबाट १५ लाख, मनोज विष्टबाट १६ लाख, रामकुमार श्रेष्ठबाट २० लाख ६० हजार, भरतबहादुर घिमिरेबाट १६ लाख, बलराम खड्काबाट १५ लाख र सोनिका ठकुरीबाट ३ लाख रुपैयाँ लिएको भन्दै जाहेरी परेको थियो।

रामशरण केसी, केशवप्रसाद दुलाल र सानु भण्डारीले अदालतमा रकम नलिएको तथा जाहेरवालासँग चिनजानसमेत नभएको बयान दिएका थिए।

तर अदालतले मूल मुद्दामा सानु भण्डारी र केशवप्रसाद दुलाललाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दाको प्रमुख कसूरदार ठहर गरेको छ।

रामशरण केसीले जाहेरवालाबाट रकम सङ्कलन गरेको देखिए पनि आफैँ ठगी गरी रकम लिने मनसाय नदेखिएको अदालतको ठहर छ। उनले जाहेरवालाबाट लिएको रकम दुलाल र भण्डारीलाई बुझाएको देखिएको फैसलामा उल्लेख छ।

त्यसैले रामशरण केसीलाई अभियोग मागदाबीका कसूरबाट सफाइ दिइएको छ। तर केसीमार्फत वा केसीलाई रकम दिएको दाबी गर्ने जाहेरवाला तथा पीडितको बिगो दुलाल र भण्डारीबाट भराउने ठहर भएको छ।

कसले कति बिगो पाउने?

अदालतको फैसलाअनुसार दुलाल र भण्डारीबाट श्यामकृष्ण श्रेष्ठले २५ लाख, ओमबहादुर क्षेत्रीले ८ लाख, खगेन्द्र तामाङले १५ लाख, मनोज विष्टले १६ लाख, रामकुमार श्रेष्ठले २० लाख ६० हजार, भरतबहादुर घिमिरेले १२ लाख ५० हजार, बलराम खड्काले १५ लाख र सोनिका ठकुरीले ३ लाख रुपैयाँ बिगो भराई लिन पाउनेछन्।

त्यस्तै, राजु तामाङले १५ लाख, लाक्पा शेर्पाले १५ लाख, फुपु छिरिङ शेर्पाले १० लाख, नर्वु शेर्पाले ५ लाख, सीता थापाले ५ लाख, जमुनी तामाङले ५ लाख र तुला भन्ने आशाकुमारी लिम्बुले ७ लाख रुपैयाँ बिगो भराई लिन पाउने ठहर भएको छ।

कुन्दन देवानको हकको ४ लाख रुपैयाँ भने उनका हकवालालाई भराउने फैसला भएको छ। पूर्णबहादुर मगरले ५ लाख ३२ हजार र सविना श्रेष्ठले ५ लाख रुपैयाँ बिगो भराई लिन पाउनेछन्।

यसैगरी आङटावा शेर्पाबाट दाफुरी शेर्पा र दोर्जी शेर्पाले जनही ५० हजार रुपैयाँ बिगो भराई लिन पाउनेछन्।

२० जना जाहेरवाला तथा पीडितलाई बिगो

फैसलाको ठहरअनुसार २० जना जाहेरवाला तथा पीडितलाई बिगो भराउने व्यवस्था गरिएको छ। त्यसमा दाफुरी शेर्पा र दोर्जी शेर्पाको १ लाख रुपैयाँ बिगो आङटावा शेर्पाबाट भराउनेछ।

बाँकी १९ जनाको बिगो केशवप्रसाद दुलाल र सानु भण्डारीबाट भराउने ठहर भएको छ। अदालतले सम्बन्धित प्रतिवादीबाट मुलुकी फौजदारी संहिता, २०७४ को दफा २५४ बमोजिम बिगो दिलाई भराई दिन आदेश दिएको छ।

अदालतले प्रस्तुत मुद्दामा कसूरदार ठहर भएका दुलाल, भण्डारी, सागर राई र आङटावा शेर्पालाई भने छुट्टै सजाय गर्नुपर्ने नदेखिएको जनाएको छ। प्रस्तुत मुद्दामा सजायको मागदाबी नभई बिगोको मात्र दाबी लिइएको कारण यस्तो ठहर भएको हो।

फैसलामा चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन गर्न सकिने उल्लेख छ। अदालतले प्रतिवादीलाई फैसलाको प्रमाणित प्रतिलिपिसहित पुनरावेदनको म्याद दिन तथा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँलाई फैसलाको प्रमाणित प्रतिलिपिसहित जानकारी दिनसमेत आदेश गरेको छ।

समाचार शेयर गर्नुहोस्
58
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.