म उसकी श्रीमती हुँ भन्ने थाहै थिएन …


IMG_20150626_140443909अम्बिका दाहाल/पहिचान – सबैको जीवनमा आ आफनै कथा हुन्छन । त्यस्तै मेरो जीवनको पनि एउटा छुट्टै कथा छ । कतिले यसलाई मर्नुभन्दा अघि सबैलाई सुनाउने मौका पाउछन् त कतिले यसलाई अभिव्यक्त गर्न नपाएर मृत्युसगै आफ्नो जीवनकथा अनि अनुभवहरु पनि अन्त्य गर्छन् । त्यस्तै एउटा मेरो कथा जो आम मानिसले भोग्ने भन्दा फरक परिवेशमा घटेको पृथक छ । त्यहि कथा जुन कथालाई मैले लुकाएर राखेको थिए । अभिव्यक्त गर्ने ठाउँ पाइरहेको थिइन ।

मनभित्रै गुम्सिएका मेरा अनुभव अनुभुति वा भनौ जीवन भोगाइहरुले मन भतभती पोलिरहेको थियो । मेरो जीवनवारे चासो राख्नेहरुलाई सधै मेरो वास्तविकता मनमा सल्केको आगो केहि गरे पनि निभाउन सकिदोरहेनछ । त्यहि ज्वलन कम हुने आशामा मनको बह पोख्नको लागि कुनै बाटो रोज्नुपर्दा बिकल्पमा यो अनलाइन रोज्न पुगे ।

मेरो परिवारमा पहिलो अनि अन्तिम सन्तानको रुपमा मेरो जन्म भयो । त्यहि पनि छोरीको रुपमा । पुरुष प्रधान समाजमा म पहिलो सन्तान त्यहि पनि छोरीको रुपमा जन्मिए । अहिलेको जस्तो दुइ सन्तान इश्वरको बरदान भन्ने भनाइ अनि छोरा र छोरी दुबै बराबर हुन भन्ने सोचाइ त्यो समयमा कहि कसैमा थिएन । मलाई जन्म दिने आमा जस्ले आजको यो रंगिन सन्सार मलाइ देखाइदिएकी छिन । उनी भन्ने गर्थिन म जन्मदाको त्यो क्षण अथवा वितेको त्यो कहाली मेरी आमाको भोगाइ । म बुझने भएपछि उनी आफ्ना जीवनकथा सुनाउथिन । उनकी आमाले पनि उनी बुझ्ने भएपछि यसरी नै सुनाउने गर्थिन रे । यसरी छोरीहरुलाई आत्मकथा सुनाउने परम्परा त्यागेर मैले आत्मानुभुति अभिव्यक्तिको अलग बाटो अपनाउदै छु । किनकि मैले उनीहरुको भन्दा भिन्न जीवनशैली भोगेको छु ।

पहिलो सन्तान छोरी जन्माउदा घर परिवार र समाजले गरेको असैह्य व्यबहार आमाले सुनाउदा मलाइ अचम्म लाग्थ्यो आमाले कुनै इतिहासको कुरा गर्नु भएको होला जस्तो भान हुन्थ्यो । तर पछि पो थाहा पाए त्यो सत्य रहेछ । दासि पीडित र शोषित थिए महिला । त्यति बेला छोरीलाइ जन्म दिएको भन्दै मेरो बाबुले सुत्केरी भएको अबस्थामा आमालाइ धेरै दुख दिनुभएको थियो अरे । यो सब सुन्दा आक्रोस आउछ । घृणा लाग्छ यो समाजप्रति । कहिले काहि त आफ्नै जन्मप्रति दुख लागेर आउछ । त्यो समय त्यस्तै थियो खै के गर्नु जस्तो भए पनि मर्न सकिदोरहेनछ ।
त्यति बेलाको समयमा छोरीले राम्रोसंग बोल्न सक्ने भएपछि माइतिमा राख्नु हुदैन भन्ने चलन थियो । समाजले राखेको नियम पुरा गर्नको लागि मेरा बाबु आमाले मलाई ६ पुगेर ७ बर्षको लाग्ने बितिकै बिहेको कुरा चलाउनुभयो । विहे भन्ने कुरा त के यो संसार समेत बुझ्न नसक्ने मेरो त्यो अबोध मानसिकताको कसैले ख्याल नै नगरी कुरा चलेको केहि समय पछि नै मेरो बिहेको दिन तोकियो ।

त्यसपछि मेरो विहे पनि गरियो । विहेको दिन पनि दशै आएर होला यस्तो राम्रो लुगा लगाइदिएको भनी सोच्ने मेरो बाल अवोध मानसिकताले मसगँ विवाह गर्ने केटा अर्थात् श्रीमानलाई पनि मेरो खेल्ने नयाँ साथी सोच्यो । मलाई श्रीमान, घर, परिवार, नातागोता, जिम्मेवारी केही थाहा थिएन । तैपनि मेरो विवाह भयो । विहे गरेपछि श्रीमानको घर गएर बस्नुपर्दा मलाई ज्यादै नरमाईलो लाग्यो । किनकी त्यहा मेरी आमा थिइनन् । मैले चिनेका साथीसङ्गी कोही पनि थिएनन् । परिवार सम्झेर बेलाबेला रुने गर्थे । त्यो बेला नरोउ अब छिट्टै माइत जान पाउछौ भनी मलाई सबैले फकाउने कोसिस गर्थे । श्रीमानको घरलाई मैले आफ्नो घर मान्नै तयार थिइन तर श्रीमान चाही खेल्ने नजिकको साथी भइसकेको थियो । तर उ सगँ पनि मलाई धेरै कहाँ खेल्न दिन्थे र । बुहारी भएपछि घरको काम गर्नुपर्छ भन्दै विभिन्न काम सिकाउथे । मसगै मेरो श्रीमानले पनि ती काम गर्न रुची राख्दा उसको आमाले उसलाई बेस्सरी गाली गर्नुहुन्थ्यो, कि छोरा मान्छे भएर छोरीले गर्ने काम गर्नु हुदैन भनेर । मलाई मात्र होइन मेरो श्रीमानलाई पनि विवाह भयो र म उसको श्रीमती हुँ भन्ने थाहा थिएन । अरुले भन्न त हामी दुवैलाई तिमीहरु श्रीमान श्रीमती हौ भन्ने गर्थे । तर हाम्रो मानसिकताले यसलाई बुझ्न नै सकेको थिएन ।
असार साउनको महिना थियो क्यारे त्यतिबेला । किनकी हर दिन झमझम पानी पथ्र्यो । त्यो बेला मलाई साथीको आमाले अब तिमी तिम्रो माइत गएर बस्नुपर्छ । अनि रजस्वला भएपछि फेरी यहाँ आउनुपर्छ र यही जिन्दगी विताउनुपर्छ । माइत गएको समयमा राम्रोसगँ घर व्यवहारका काम सिकेस् भोली तैले नै सुख पाउने होस् बाबै भन्दै सम्झाइन । अरु त मैले केही बुझिन त्यसबेला मात्र म मेरो घर परिवारमा जहाँ मेरो आमा थिइन त्यहाँ जादैछु भन्ने चाही बुझे । हर्षको सीमा रहेन कि म फेरी मेरै गाउँ मेरो आफ्नै ठाउँ फर्कदैछु । मेरो शरीर भन्दा पहिल्यै मन पुगिसकेको थियो । मेरो त्यो आफ्नै प्यारो घरमा ।
त्यसपछि मलाई माइती भनिने त्यो आफ्नै घरमा लगियो । केही दिनसम्म मैले मेरो खेल्ने साथीलाई धेरै सम्झिए । उ पनि यही भइदिएको भए सगैँ खेल्न हुन्थ्यो जस्तो पनि लाग्थ्यो । तर मैले उसको घर र परिवारलाई भने सम्झिने कामै गरिन । माइतमा गएपछि फेरी पुरानै साथीसङ्गीका साथ पुरानै गतिविधि चल्न थाल्यो र सुरुका केही बर्ष रमाइलै तरिकाले वा भनौ बाल्यकाल नै हो भन्ने गरि वित्यो । तर खै किन हो जति समय बढ्दै जान्छ उती नै मैले महशुस गर्ने रमाइलोको मात्रा पनि घट्दै गयो । खै किन यसको कारण पनि थाहा भएन मलाई । समयको रफ्तारसगै उमेर बृद्धि अनि शारिरीक संरचनामा पनि बृद्धि हुदै गयो । घर व्यवहार माया ममता नातागोता अलिअलि बुझ्दै जान थाले । मलाई मेरै आमाले धेरै व्यवहारिक पाठ पढाउदा पढाउदा म पनि संसारलाई थोरै बुझ्दै जान थाले । आमाले भनेका धेरै कुरामध्ये थोरै कुरा बुझ्दै थिए ।
म १४ वर्षको उमेरको परिधीभित्र हिडिरहेकी थिए । आमाले मलाई मेरो शारिरीक परिवर्तनबारे प्राय मसगँ कुरा गरिरहन्थिन् । किनकी यो नै सबैभन्दा महत्वपुर्ण हुन्थ्यो छोरी मान्छेका लागि । साथीहरु सबै विहे गरेको घर गइसकेकाले गाउँमा म प्राय एक्लै हुन थालिसकेको थिए । विद्यालय पनि जाने मौका पाइदैनथ्यो छोरीहरुले । यसर्थ आमाले बताउने आमाले सम्झाउने बा परामर्श दिने घरव्यवहारका शिक्षा नै हाम्रा लागि ठुलो ज्ञान हुन्थ्यो । मेरो अब महिनावारीको समय हुन लागेको भन्दै यस सम्बन्धमा आमाले मलाई जानकारी दिदै थिइन । मलाई भने मेरो महिनावारी कहिल्यै नभइदिएपनि हुने थियो नि भने झै लाग्थ्यो । किनकी यो हुने वित्तिकै म मेरो विहे भएको घर जानुपर्ने हुन्थ्यो । मलाई आमाले पहिल्यै भन्दा बढी घरव्यवहारका कुरा सिकाउन थालेकी थिइन । किनकी म उनकै भनाइअनुसार छिट्टै माइत छाडेर आफ्नै घर जादैथिए रे । १४ वर्ष पार गरेर १५ मा टेकेको मात्र के थिए मैले नचाहेको त्यही कुरा भयो । आखिर प्राकृतिक नियम न प¥यो । हामीले चाहदैमा कहाँ हुने हो र ?

मलाई त्यसपछि घर पठाइयो । त्यो समय म अति नै रोएको थिए । किनकी माइती घरलाई छोडेर वा भनौ आफ्नाहरुलाइै छाडेर पराइहरुलाई आफ्नो बनाउन म पराइघर गएको थिए । त्यो दिनदेखि मलाइ लाग्यो म अब छोरी नभएर कसैको बुहारी हु, अनि कसैको श्रीमती र कसैको भाउजु अब म सानी छैन मैले धेरै जिम्बेवारी पुरा गर्नुछ । मनमा अनेक प्रश्न एक पछि अर्को उब्जिरहे तर कुनै प्रश्नको उत्तर पाइन । त्यतिबेला आफु जस्तै साथीहरु पनि कोहि थिएनन । आपसमा कुरा साटासाट गर्न पाएको भए पनि त मन हल्का हुन्थ्यो नि । त्यो पनि सम्भब थिएन । आफु भन्दा ठुला मान्छेसंग भन्न लजाउथे अनि आफनै श्रीमानसंग त ठाडो शिर पारेर पनि हेर्न सक्दैनथे ।

यस्तै कुराहरु मनमा खेलिरहन्थे । मेरो उमेर अझै पनि सानै थियो । यद्यपी मैले पुरै जिम्मेवारीपन घरमा देखाउनुप¥थ्यो । यो मेरो लागि धेरै चुनौतीको कुरा थियो । म श्रीमान देखेर लजाउथे । तर उनी भने मसगँ मिल्न खोज्थ्ये । मेरो भावना र कुरा गर्ने शैलीसगँ उनको पनि भावना र कुरा गर्ने शैली मिल्थ्यो । उनी पनि खुब लजाउथे । त्यसपछि मेरो शारिरीक अंगहरुको पनि बिकास हुन थाल्यो । उमेरसंगै परिवर्तनहरु हुन थाले । उमेरसंगै परिवर्तनहरु हुन्छन भनेर आमाले भन्नुभएका कारण मलाइ शारिरीक परिवर्तनसंग कुनै किसिमको डर भएन । मेरो महिनावारी पछि मात्र मैले महिनावारीको परिभाषा बुझे । त्यसपछि बिभिन्न यौन आकांक्षाहरु बढन थाले बल्ल मात्रै मैले बिवाहको महत्व बुझे । त्यसपछि मैले कसैको साथको आबश्यक्ता महसुस गर्न थाले मेरो साथमा श्रीमान हुनुहुन्छ अब मलाइ उहाको मायाको खाचो छ । उहाको न्यानो काख मेरो लागि आबश्यक रहेको मलाइ महसुस हुन थाल्यो ।
एक दिन साझको बत्ति बालेर खाना बनाउन थाले । घरका सबै कामबाट फर्किसकेका थिए । म खाना बनाउदै थिए आमाले मलाई अब बच्चा बनाउने तर्फ लाग्नुप¥यो भनेपछि म लाजले भुतुक्क भए । किशोरलाई सम्झाउ बुहारी अब हामीलाई पनि बाटो खुलाईदेओ तिमीहरुले । उता ससुराले पनि थप्नुभयो । मैले केही बोल्न सकिन । चुपचाप नै बसे । सबै जना संगै बसेर खाना खायौ । श्रीमान खाना खाने बितिकै कोठामा गएर सुतेका थिए । म पनि आफ्नो काम धन्दा सकेर बिस्तारै आफनो कोठातिर लागे । जादै थिए । त्यो कोठाको ढोकाबाट भित्र नियाल्दा कता कता मनमा त्रास उत्पन्न भइरहेको थियो । म कहा छु ? के छु र किन यहा छु ? मैले मात्रै भगवानलाई सम्झिए र मन दरो बनाएर बिस्तारै गएर सुते । सुत्न त सुते तर त्यो रात भरी निदाउन सकिन । मनमा खेलेका अनेक प्रश्नसंगै पुरै रातबित्यो । बिहानी सुर्यको किरण उदाय संगै उठे । तिनै काम, कुचो, दैलो, भाडा, खाना, खाजा यस्तै यस्तै काम मैले गर्नुपर्ने भएका कारण दिन त्यतिकै पत्तै नपाइ बित्यो ।

मैले गर्ने हरेक काममा उनले सहयोग गर्थे । हामी एकदमै खुशी थियौ । सानै उमेरमा बिहे गरेको भएपनि हामीले किशोरावस्थामा आएर एकले अर्कालाइ बुझन थाल्यौ । बढी आत्मीय हुन थाल्यौ । घास पात उकाली ओराली गर्दा हामी मिलेर हिडेको देख्दा सारा गाउका मानिस फलानाका पो छोरा बुहारी भन्दै प्रशंशा गर्ने गर्थे । मलाइ मेरो जिन्दगी देखेर गर्व लाग्थ्यो । परिवारमा श्रीमान एउटा मात्रै छोरा अनि एकजना दिदि जसको विवाह भइसकेको थियो । त्यसपछि एक दिन घरमा खाना खाने समय भएको थियो सबै जना वरिपरि खाना खानको लागि बसेका थियौ । त्यहि मौका पारेर आमाले मेरा छोरा बुहारी साच्चै भगवानले नै बनाएर पठाएका जस्ता छन । सबैले गरेका प्रसंसामा म पनि थप लगाउछु भन्दै आमाले भन्नुभयो । मैले सोचेको यहि थिए, अहिले पुरा भयो, म धेरै खुशी छु । अझ परिवार राम्रो बनाउनको लागि एउटा सन्तान चाहियो । एउटा सन्तान खेलाउने मन छ । आमाले भन्नुभयो हामी दुवै जना केही बोलेनौ । म लजाए ।

त्यतिकैमा हामी आ आफनो कोठामा पस्यौ । कोठामा पसेर त्यो दिन मैले मेरो श्रीमानसंग केहि कुरा गर्ने योजना बनाएको थिए । कोठाको ढोका लगाए र चुककुल पनि लगाए । म पनि संगै बस्नको लागि उनी नजिकै गएर बसे । त्यति बेला उनले के सोचेर बसेका थिए त्यो मलाइ थाहा भएन अनुहार मलिन थियो । त्यसपछि मैले उनको हात समाएर भने सुन्नु भयो आमाले भन्नुभएको कुरा ? यसमा तपाइको बिचार के छ ? मैले उनलाइ प्रश्न गरे तर उनले यो प्रश्नको उत्तर दिएनन । झण्डै १ घण्टा सम्म उनले केहि बोलेनन । बिहान उज्यालो भएपछि हेर्दा पनि श्रीमानको अनुहारमा कुनै चमक नै थिएन । धेरै दिन बिरामी भएर उठेको मान्छे जस्तो लाग्यो । आमाले त्यो कुरा नभन्दा सम्म उनी खुशी नै देखिन्थे । त्यो दिनदेखि खै के भयो मैले जान्न सकिन । हामी त्यति धेरै मिल्ने मान्छे तर पनि किन उनले मलाई उनको मनभित्रको कुरा खुलस्त भन्न नसकेका भनेर अचम्म लाग्थ्यो ।

घरमा बुहारीको केहि कमजोरी हुनुपर्छ भन्दै शंका गर्न थालिसकेका थिए । मैले मेरो वास्तबिकता केहि बताउन सकिरहेको थिइन । बाहिर देख्न हासि खुसि नै थिए म । तर मनमा लागेको आगो त दन्किरहेको नै थियो । फेरी एक दिन खाना खाने समयमा नै आमाले सृष्टि धान्नको लागि बिहे गरेकी बुहारी बाझि परिछ । यस्तो थाहा भएको भए त किन बिहे गर्थे र बिचरा मेरो छोराको भबिष्य बिग्रने भयो भन्नुभयो । मैले खानाको पहिलो गास मात्रै मुखमा हालेको थिए । यस्तो सुन्ने बित्तिकै मेरा आखाबाट थालमा भएको भातको सिता भन्दा बढि आसुका धारा बगे । श्रीमान पनि त्यहि थिए तर उनी केहि बोलेनन्, म पनि केहि बोलिन । एक हातले तालि बज्दैन । अनि सन्तान नजन्माउनुमा महिलाको मात्रै दोष हुन्छ र ? भन्दै प्रतिक्रिया दिन मन लागेको थियो । तर केही बोलिन । हुनत मेरो परिवारले जे बुझेको थियो त्यहि भन्यो । हामीवीचको सम्बन्ध त केवल हामी दुईलाई मात्र न थाहा थियो । तर पनि यो कुराले मेरो मन अति रोयो ।
मेरो रुवाइले उनलाई छोयो सायद त्यस रात बल्ल उनले मलाई केही रहस्य झै गरि भने । निरु तिमीलाइ धेरै तनाव भएको छ । त्यो मलाइ थाहा छ । अनि जस्तो दुख पर्दा पनि तिमीले मलाइ कहिले नराम्रो बनाइनौ मलाई त्यो पनि थाह छ । मैले सबै कुरा याद गरको छु निरु । तर म विवश छु । मैले अब मेरो कुरालाई लुकाएर राख्नुहुदैन । आज म तिमीलाइ मेरो वास्तविक कुरा बताउछु । कृपया मलाई घृणा नगर है । मैले तिमीलाई पहिल्यै भन्नुपर्ने थियो । दुख नमान । मलाई केटि मान्छे मन पर्दैन । मेरो मन पनि महिलाकै छ । म आफुलाई महिला भन्ने लाग्छ र केटाप्रति आकर्षण हुन्छ । म सधै मेरो जीवनसाथी केटा भएको परिकल्पना गर्छु । तिमीलाइ पनि थाहा छ । यदि हामीले जानेर बिवाह गर्न पाएको भए बिवाह गर्ने उमेर बल्ल हुदैछ । त्यति बेला मलाइ केही थाहा भएन । मैले परिवारलाइ बताउन पनि सक्दिन । म उहाँहरुको मन दुखाउन पनि सक्दिन । मलाई माफ गर म तिमीलाई बच्चा दिन सक्ने पुरुष होइन अर्थात् मेरो इच्छा त्यस्तो कदापी हुन सक्दैन । मैले भनेको मान्छौ भने तिमी कसैसंग बिवाह गर ।
यो सुन्न नपाई म कुनै डरलाग्दो सपना देखेर सपनाबाट बिउझिएको जस्तै भए । त्यो कुरा थाहा पाएपछि मेरा अगाडि बढन लागेका पाइलाहरु रोकिए । उसको स्वभाव केटी जस्तै थियो तर मैले त्यस्तो पनि हुन्छ भन्ने कहिल्यै लागेको थिएन । वास्तवमा मलाई उसको जस्तो यौनिकताको विषयमा कहिल्यै थाहा पनि थिएन । उसको कुराले मलाई के गरौ र कसो गरौको स्थितिमा पु¥यायो । त्यसपछि मलाइ त्यो घरमा फर्केर जान मन लागेन । त्यस दिन देखि म आप्mनो माइतिमा बस्न थाले । माइतीको एक्लो सन्तान भएकाले आमाबालाई स्याहार गरेर माईतमा नै बस्न थाले । समयक्रमले बाआमालाई यो संसारबाट विदा गरिसक्यो ।

आजसम्म म मेरो माइतमा नै छु । मेरा काकाको छोराछोरी नातिनातिना मेरो स्याहारमा छन् । जिन्दगीले अन्तिम समयतिर ल्याइसकेको छ । मैले किशोरलाई उसले चाहेजस्तो जिन्दगी जिउन एक्लै छाडिदिए । उसले के गरि वसेको छ त्यो मैले कहिल्यै जान्ने कोशिस गरिन । यसो भन्दैमा मैले आफुलाई पनि कहिल्यै दुखि बनाइन । किनकी मेरो माइतीपक्षले मलाई सधै माया गरिराखेको छ र मर्नुभन्दा अघि जीवनभर कसैलाई भन्न नसकेको मेरो जीवनको यो रहस्य सबैलाई सुनाएर मर्ने धोको थियो जुन आज पुरा भएको महसुुस गरेको छु ।

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार