पहिचान/ काठमाडौं, कार्तिक २१- रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकले अब हुने चुनावमा पनि भोट दिन नपाउने भएका छन् । निर्वाचन आयोगले गठन गरेको कार्यदलले थुप्रै समस्या हुने भन्दै तत्काल मतदान प्रकृयामा सहभागी गराउन नसकिने सुझाव दिएपछि विदेशमा रहेका नेपाली नागरिक भोट प्रदानबाट बञ्चित हुने भएका हुन् ।
निर्वाचन आयोगले पाँच वर्षे रणनीतिक योजना बनाएर ‘ओभर सी भोटिङ’ गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्ग र अयोधी प्रसाद यादव तथा आयोगका तत्कालीन सहसचिव शारदा प्रसाद त्रिताल नेतृत्वको टोलीले थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा गरेको अध्ययनले अहिले भोट दिलाउन सम्भव नभएको ठहर गरेको हो ।
आयोगका सचिव ज्ञानदर्शन उदासको नेतृत्वमा परराष्ट र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीको कार्यदलले पनि सैद्धान्तिक, नीतिगत र व्यवहारिक रुपमा विदेशमा रहेका नेपालीलाई अहिले मतदान प्रकृयामा सहभागि गराउन नसकिने निष्कर्ष सहित आयोगलाइ सुझाव दिएको छ ।
निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्गले सुझाव आएका र आयोगले अध्ययन गरिरहेको जानकारी दिए । सबैभन्दा पहिले कानूनी व्यवस्था गर्न आवश्यक रहेको गुरुङले बताए । यसका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने र सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्ने आयूक्त गुरुङ्को भनाई छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.