समलिङ्गी तेश्रोलिङ्गीलाई चुनावमा उम्मेदवार बनाउने काँग्रेसको तयारी

समलिङ्गी तेश्रोलिङ्गीलाई चुनावमा उम्मेदवार बनाउने काँग्रेसको तयारी

  • सोमबार, जेष्ठ १३ २०७०

विष्णु अधिकारी (पहिचान) जेठ १३ -नेपाली काँग्रेसले अव हुने संविधानसभा चुनावमा समलिङ्गी तेश्रोलिङ्गीलाई उम्मेदावर बनाउने तयारी गरेको छ । राज्यका हरेक नीति निर्माण तहमा समलिङ्गी तेश्रोलिङ्गीको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि चुनावमा उम्मेदवार बनाउने तयारी गरेको हो । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले काँग्रेस समावेशिताको पक्षमा रहेको बताउँदै पार्टीको प्रक्रिया पूरा गरेर समलिङ्गी तेश्रोलिङ्गीलाई पनि अवको चुनावमा उम्मेदवार बनाउन पहल गर्ने प्रतिवद्धता जनाए । समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्ग, उपाध्यक्ष मनिषा ढकाल, मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठ र क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाह सहितको टोलीसँग महामन्त्री सिंहले यस्तो प्रतिवद्धता जनाएका हुन् । काँग्रेसले बोल्ने मात्रै होइन, नारा लगाउने मात्रै होइन महामन्त्री सिंहले भने ः काँग्रेसले काम गरेरै देखाउछ । महामन्त्री सिंहले अल्पसंख्यक समूदायको मुद्धालाई पार्टीमा लगेर छलफल गर्ने र आगामी दिनमा यस विषयमा पार्टीले मूख्य भूमिका खेल्ने बताए ।

समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका लागि अहिले भोग्नु परेका समस्या समाधानका लागि पार्टीबाटै पहल हुने महामन्त्री सिंहले प्रतिवद्धता जनाए । संसारमा समलिङ्गी तेश्रोलिङ्गीलाइृ हेर्ने दृष्टिकोणमा परिवर्तन आइरहेको छ महामन्त्री सिंहले भने ः नेपालमा प्रजातन्त्र आएपछि मात्रै यो मुद्धा अगाडि आएको हो । उनले लोकतन्त्र रहे मात्रै अल्पसंख्यक समूदायको अधिकार सुनिश्चिित हुने हुँदा लोकतन्त्रको रक्षाका लागि सबै एकै ठाउँमा आउनु पर्नेमा जोड दिए । महामन्त्री सिंहले नील हिरा समाजको लामो समय देखि रोकिएको नविकरण प्रक्रियाबारे पनि चासो राख्दै प्रक्रिया पूरा गरिसक्दा पनि नविकरण नहुनु दुखद विषय भएको बताए ।

महामन्त्री सिंहसँगको छलफल पछि कुराकानी गर्दै समाजकी अध्यक्ष पिंकी गुरुङ्गले नीति निर्माण तहमा समलिङ्गी तेश्रोलिङ्गीको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरुले पहल गर्नुपर्ने बताइन । समाजकी उपाध्यक्ष मनिषा ढकालले अहिले सम्म अधिकार विहिन भएको अल्पसंख्यक समूदायका मुद्धालाई काँग्रेसले सम्वोधन गर्नुपर्ने बताइन । मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले ठूलो संख्यामा रहेका समलिङ्गी तेश्रोलिङ्गी समूदायलाई राजनीतिक दल, राज्यका हरेक नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न काँग्रेसले पहल गर्नु पर्ने बताइन ।

महामन्त्री सिंहले आफ्ना समस्या लिखित रुपमा लिएर आउन र लिखित रुपमा आएका समस्या पार्टीमा राखेर छलफल गर्ने बताउनु भएको श्रेष्ठले जानकारी दिइन । क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाहले अव आउने संविधानसभा चुनावमा समलिङ्गी तेश्रोलिङ्गीलाई उम्मेदवार बनाउने विषयमा पार्टीको धारणा माग गरेको बताए । उहाँले संविधानसभा चुनावमा काँग्रेसले तीन चार जना प्रतिनिधिलाई उम्मेदवार बनाउने विश्वास व्यक्त गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.