“यौनिकता विज्ञापन गरेर हिड्ने कुरा होइन”

“यौनिकता विज्ञापन गरेर हिड्ने कुरा होइन”

काठमाडौं(पहिचान) असोज ३० – तृष्णा आचार्य एमए दोस्रो वर्ष (आरआर) पत्रकारिताको विद्यार्थी हुन् । उनलाई देश विदेशका धेरै कुरा थाहा छ । फ्रान्सेली राज्य क्रान्ति देशी भारतीय स्तन्त्रता संग्रामसँगै आधुनिक घटनाक्रम्बारे उनी जानकारी राख्छिन् । पत्रकारितामा आफ्नो भविश्य खोजिरहेकी उनलाई धेरै विषयमा जानकार हुनुपर्छ भन्ने लाग्छ । समलिंगी तेस्रोलिंगी बारे पनि उनलाई धेरै कुरा जान्ने मन छ । के हो त समलिंगी तेस्रोलिंगी ? उनले भनिन्, “जसबाट सन्तान हुदैनन् ती ब्यक्ति नै तेस्रोलिंगी हुन् ।” जव तेस्रोलिंगी अधिकारकर्मी भुमिका श्रेष्ठले तेस्रोलिंगी र समलिंगी दुबैमा सन्तान उत्पादन क्षमता हुन्छ भनिन् उनलाई अचम्म लाग्यो । “आजसम्म म भ्रममा रहेछु ।”आचार्यले भनिन्,“हामी जत्तिको पढेलेखेका मान्छेलाई त केहो समलिंगी तेस्रोलिंगी भन्नेबारे जानकारी छैन भने पुरै समाज अनविज्ञ छ । यो समुदायबारे धेरैलाई बुझाउनु पर्छ । यसको नेतृत्व सरकार र स्वयम यौनिक तथा लैगिंक अल्पसंख्यकले लिनु पर्छ ।”
उश्रृखल गतिबिधिमा संलग्न र चञ्चले स्वाभावका ब्यक्ति नै समलिंगी तेस्रोलिंगी हुन् भन्ने काठमाडौको बौद्ध निवासी याङजी शेर्पालाई लागेको छ । “ठमेलतिर नराम्रो काममा संलग्न ब्यक्ति नै तेस्रोलिंगी समलिंगी हुन् भन्ने मलाई लागेको थियो । तर, त्यो त होइन पो रहेछ ।” शेर्पाले भनिन्, “आजको सेमिनार मेरा लागि धेरै उपलब्धि मुलक रह्यो, मलाई धेरै कुरा जान्ने मौका मिल्यो । अब सायद उनीहरुप्रति मैले नराम्रो सोच्दिन होला ।” काठमाडौंको आरआर क्याम्पसमा समलिंगी तेस्रोलिंगील गरेको अन्तरक्रियामा सहभागी तृष्णा आचार्यले यौनिक तथा लैगिक अल्पसंख्यकका अधिकार संविधमानमा सुनिश्चित गर्नु पर्ने बताइन् । “उनिहरु संविधानसभामा आउनु पर्छ भन्दा पनि ल्याइनु पर्छ । उनीहरु पनि यो देशका नागरिक हुन् समाबेशीताका आधारमा पनि समलिंगी तेस्रोलिंगीको उपस्थिती हुनु पर्छ ।” “माओवादीले समाबेशीको सिद्धान्त नेपालमा भित्र्यायो तर ऊ पनि यसमा चुक्यो । माओवादी यसमा नचुकेको भए साह्रै राम्रो हुने थियो ।”

“अधिकार सबैले पाउनु पर्छ । हुन त म आँफै जनजाती महिला भएपनि कोटा र आरक्षण प्रणालीप्रति बिरोधी बिचार राख्ने मान्छे हुँ ।” याङजीले भनिन् , “भुमिकाको कुरा सुन्दा साँच्चै उनीहरु बिभेदमा परेको महशुस भयो । निश्चित समयसम्म उनीहरुलाई राज्यले आफ्ना प्रत्यक सरकारी निकायमा आरक्षणको ब्यबस्था गर्नु पर्छ । शिक्षण संस्थामा पनि छात्रबृत्तिको ब्यबस्था मिलाउनु पर्छ ।” आरआर क्याम्पसमै अध्यननरत पदम भट्टराई बिगत ५ वर्ष देखी पत्रकारीता गर्दै आएका छन् । अनलाईन पत्रकारीतामा निकै रुची राख्ने उनले आजसम्म कति समाचार लेखे कुनै लेखा जोखा छैन । राजनीति, अर्थ, खेलकुद, अपराधलगायतका बिषयमा दिनहु दशौं समाचार लेख्ने पदम आजसम्म यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका बारेमा त्यती धेरै समाचार नलेखेको बताउछन् । समचारकै खेती गर्ने र समाचारमै रमाउने पदमले समलिंगी तेस्रोलिंगीका बारेमा समाचार लेख्नु हुदैन भनेर चांही समाचार नलेखेका होइन रहेछन् । “मलाइर्् यो समुदायबारे त्यती धेरै जानकारी नभएर समाचार लेख्न नसकेको हुं । मैले यो समुदायबारे अझै धेरै जान्न बाकि छ । ” पदमले भने, “उनीहरुलाई गरिने संबोधन र उनीहरुको लैगिकता बारे नै मलाई धेरै कन्फ्युजन छ । त्यही भएर मैले चाहेर पनि समाचार लेख्न सकिन । सायद अब केही बुझेको छु उनीहरुको समाचार लेख्ने प्रतिबद्धता यही जनाउन चाहान्छु ।”

पश्चिम नेपालबाट अध्ययनकै लागी काठमाडौंको आरआर कलेज आइपुगेकी शुष्मा अर्यालले यसअघी समलिंगी तेस्रोलिंगी संग केही कार्यक्रम गर्ने अबरपाए पनि उनीहरुको यौनिकताबारे खुलेर सोध्न नसकेको बताइन् । “तेस्रोलिंगीमा सन्तान उत्पादन क्षमता हुन्छ की हुदैन भन्नेमा ममा कौतुहलता थियो । आज अन्त्य भयो । उनीहरुसंग पनि सन्तान उत्पादन गर्ने क्षमता हुदोरहेछ । भावना मात्र हाम्रो भन्दा फरक रहेछ ।” सुष्माले भनिन् ।

आफ्नो औपचारिक शिक्षाको अन्तिम वर्षमा अध्ययन गरिरहेका विद्यार्थी तथा पत्रकारहरुलाई नै समलिंगी तेस्रोलिंगीबारे किन थाहा हुन सकेन ? “नेपाली समाज अझै पनि यौनका बारेमा खुलेर कुरा गर्नेलाई राम्रो नजरले हेर्दैन । त्यसैले हामीलाई समाजले तपाईहरुको यौनिकता के हो भनेर हामीलाई सोध्न सकेन । र, हामीले पनि हामी यस्ता ब्यक्ति हौं भनेर भन्दै हिड्न सकेनौं” निलहीरा समाजकी इभेण्ट मेनेजर तथा तेस्रोलिंगी अधिकारकर्मी भुमिका श्रेष्ठले भनिन्,“यौन भन्ने कुरा विज्ञापन गरेर हिड्ने कुरा होइन । कसैले जिज्ञासा राख्छ भने हामीले त्यस्तो परिस्थितीमा हाम्रो बारेमा खुलेर बुझाउदै आएका छौं ।” “घरबाट निष्कदा देखी घर नपुगुञ्जले हामीले दिनमै हजार मानसिक तनाव झेल्नु पर्छ” भुमिकाले भनिन्, “छक्का, हिजडा, नपुसंक जस्ता अपसब्द र गाली हामीले बेहोर्नु पर्छ यो हाम्रो समस्या हो ।”

निल हीरा समाजका कार्यक्रम संयोजक परशुराम राईले अझै पनि खुला ह्रदयले यौनिक तथा लैगिक अल्पसंख्यकलाई बिपरितलिंगी महिला पुरुषले स्वीकार्न नसकेको बताउछन् । “भिडका अगाडी यो छक्का हिजडा भन्दै हामीलाई जिस्काउछन् ।” राईले भने, “हाम्रो मनोबल गिराउने र बेइज्जत गर्ने संस्कार नै बनिकेको छ । यसको अन्त्य नभएसम्म समलिंगी तेस्रोलिंगी खुल्न सक्तैनन् ।” अधिकार प्रात्तिको लडाईमा रहेका यौनिक तथा लैगिक अल्पसंख्यकलाई सबैले सहयोग गर्नु संयोजक राइको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading