तेस्रोलिंगी कुमारीको परिवारले राहत पाएन

तेस्रोलिंगी कुमारीको परिवारले राहत पाएन

काठमाडौं (पहिचान) जेठ १२ -कुमार भनेर बोलाउथे, उसले कुमारी भन्नु म छोरी हुँ भन्थ्यो । तर छोरी हो भने ज्वाई लिएर आइज भन्थे ५० बर्षिया पञ्चकुमारी भुजेलले भनिन, अब न कुमार न कुमारी केही भन्न पाइएन । सुनसरीको धरान नगरपालिका वडा नम्वर १२ चतरालाइन स्थायी बसोबास भएकी कुमारीको बैशाख १२ गतेको महाभुकम्पले प्राण लियो । काठमाडौं नक्सालमा बस्ने कुमारी १२ गतेको पहिलो भुइचालोमा बचेकी थिइन । तर कोठामा अरु साथीलाई बाहिर निकाल्न जादाँ आएको भुईचालोले उनको निधन भयो ।

तेस्रोलिंगी कुमारीकी आमाका आँखा रसाइरहेका छन् । तप्त तप्त आँसु झार्दै अहिले उनी सरकारले दिने राहत लिन काठमाडौंमा छिन् । घर परिवार धान्ने त्यही एउटी थिइ पञ्चकुमारीले भनिन्, अब यो उमेरमा म कसको शरण पर्न जाउँ । १४ बर्षको उमेरदेखिनै केटी बनेर हिडेकी कुमारीले समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय सुनसरीमा काम गर्थिन । केही समय काम गरेर समाजको केन्द्रीय कार्यालयमा आवद्ध कुमारीको निधनले समलिंगी तेस्रोलिंगीलाई पनि चिन्तित बनाएको समाजकी अध्यक्ष पिंकी गुरुङले वताइन । अध्यक्ष गुरुङले कुमारीको निधन प्रति शोक व्यक्त गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ती मिलोस भनेकी छन् ।IMG_20150526_130303646

१९ बर्षकी कुमारीका परिवारले अहिलेसम्म किरिया खर्च र राहत केही पाउन सकेका छैनन् । धरान नगरपालिकाले घटना जहाँ भएको हो त्यहीबाट राहत लिनु पर्ने वताएको र काठमाडौंमा आफ्नो कुनै सम्पर्क नभएकाले सहयोग गरिदिन नील हिरा समाजमा आएको आमा पञ्चकुमारी भुजेलले पहिचान अनलाइनलाई वताइन् । पञ्चकुमारीलाई काठमाडौं आउनका लागि धरानकी समाजसेवी सन्ध्या ताम्राकारले चार हजार रुपैयाँ सहयोग जुटाइदिएको पञ्चकुमारीले वताइन । पञ्चकुमारीको परिवार गरीव छ सन्ध्याले पहिचान अनलाइनसँग टेलिफोनमा कुरा गर्दै भनिन् तपाईहरुले राहतका लागि काठमाडौंमा पहल गरिदिनु होला ।

कुमारी पासपोर्ट बनाएर यो बर्ष बिदेश जाने र धन कमाएर राम्रो घर बनाउने योजनामा रहेकी आमा पञ्चकुमारीले वताइन । सरकारले तेस्रोलिंगीको पहिचान अन्य भनेर जनाएपनि नागरिकता लगायतका कागजजात नहुँदा नाता प्रमाणित गर्न समेत नसकिएको आमा पञ्चकुमारीको भनाई छ । एकातिर परिवारको सदस्य गुमाएको पीडा अर्को सरकारी निकायको झन्झटिलो प्रक्रियाले पञ्चकुमारीको चाहुरिएको अनुहारमा आँखाबाट खसेका आँसु टलपलाइरहेका छन् ।

अहिलेसम्म तेस्रोलिंगी कुमारी, नील हिरा समाजमा आवद्ध सामूदायिक स्वास्थ्य अधिकृत ज्योती प्रकाश केसी र अर्का एक जना नाम ठेगाना नखुलेका तेस्रोलिंगीको महाभुकम्पमा परी निधन भएको नील हिरा समाजका उपनिर्देशक परसुराम राईले जानकारी दिए । यस्तै नील हिरा समाजका संचार अधिकृत एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव दुलालका बुबा गोविन्द दुलालको पनि महाभुकम्पमा परी निधन भएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading