काठमाडौं (पहिचान) कात्तिक २५ – “भारतका सञ्चार माध्यमहरुले अहिले तराई–मधेसमा आन्दोलनको अबरोधले इन्धन अभाव भएको भनेर अफबाह फैलाइरहेका छन,” यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको मातृ संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्,“तर, हाम्रो अधिकार नयाँ संविधानमा लेखिएको छ भनेर किन भन्दैनन् ? राम्रो कुरा चाँही गर्दै गर्दैनन् । नभएको कुरा गरेर भ्रम मात्रै श्रृजना गर्छन् ।”
समलिंगी तेस्रालिंगीहरुको अधिकार नयाँ संविधानमा उल्लेख भएको विषय समग्र नेपाल र नेपालीका लागि नै गर्भ र सौभाग्यको विषय भएको भन्दै उनले भनिन्,“यसलाई विश्व समुदायमा पुर्याउन सके हाम्रा लागि पनि अझ राम्रो हुने थियो । अहिले अरु देशका समलिंगी तेस्रोलिंगीबीच हाम्रो संविधानमा अधिकार उल्लेख भएको विषय गफ गर्ने नयाँ विषय बनेको छ ।”
विकसित पछिल्लो राजनीतिक विषयमा ढकालले अहिले भारतले गरेको नाकाबन्दीलाई राष्ट्रियतासँग जोडेर जनताले हेरिरहेको भन्दै यौनिक तथा लैगिक अल्पसंख्यक पनि यस्तो अवस्थामा राज्यसँगै रहेको बताइन् । उनले भनिन्,“हामी अहिलेको यो असहज अवस्थामा सरकारलाई सकेको सहयोग गर्न चाहान्छौं । हाम्रो सहयोग संधै रहन्छ ।”
तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले राज्यले समलिंगी तेस्रोलिंगीलाई अधिकार नदिने तर अनावश्यक आरोप मात्रै लगाउने गरेको गुनासो गरिन् ।“हामीलाई सरकारले केही गर्न सक्तैनन् भन्छ, काम गर्ने अबर दिदैनन् । तिमीहरु पनि काम गर्न सक्छौ भनेर जिम्मेवारी दिनु पर्यो हामीसँग पनि क्षमता छ । हामी पनि गर्न सक्छौं ।”
नयाँ संविधानले विभिन्न जात जाती तथा समुदायका लागि आयोग गठन गरेपनि आफ्नो समुदायका लागि नभएको भन्दै उनले भनिन्,“हाम्रो लागि केही छैन । आयोग पनि छैन । समावेशी आयोगमा समावेश गर्ने हो या राष्ट्रिय मानव अधिकार आयोगमा समावेश गर्ने हो स्पष्ट हुनुपर्यो ।”
निर्देषक ढकालले नयाँ संविधान कार्यान्वयन गर्नका लागि कानुन निर्माण आवश्यक रहेको भन्दै भनिन्,“कानुन निर्माण गर्दा यस क्षेत्रका एक्सपर्टिजहरुलाई पनि समावेश गर्नु पर्छ । हाम्रो बारेमा सुनेको मात्रै व्यक्तिले सबै कुरा जानेको हुँदैन त्यसैले यसबारे पूर्ण ज्ञान भएको एक्सपर्टिजहरुलाई नै कानुन निर्माण र नीति निर्माण तहमा समावेश गर्नुपर्छ ।”
निर्देषक ढकाल र अधिकारकर्मी श्रेष्ठले आफ्नो पहिचान अनुसार घरपरिवारले स्वीकार्न नसक्दा अझै पनि धेरै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्तिले भाइटिका लगाउन नपाएको गुनासो गर्दै भने,“अझै पनि हाम्रो पहिचान अनुसार स्वीकार्न नसक्दा हामी भाइटिका लगाइदिनबाट बञ्चित छौं । सबै परिवारले स्वीकारे हामीले पनि दिदी बहिनी सरह दिपावली मनाउन पाउने थियौं ।”
नेताहरुको अदुरदर्शी सोच र उपयुक्त रणनीति बनाउन नसक्दा देश अहिलेको जटिल मोडमा आइपुगेको भन्दै उनीहरुले २०७२ सालको दिपावलीमा लक्ष्मिले नेताहरुलाई सद्बुद्धि दिउन भन्ने कामना समेत गरे । “यो दिपावलीमा लक्ष्मिमाताले हाम्रा नेताहरुलाई दुरदर्शी रणनीति बनाएर अघि बढ्न सक्ने सद्बुद्धि दिउन । हामीसँग भएको प्रचुर स्रोत साधानको उपयोग गरेर आत्मनिर्भर हुने भिजनसहित अघि बढ्न प्रेरित होउन् ।” ढकाल र श्रेष्ठले भने ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.