“साहित्यकारले नबुझेकाले यौनिक अल्पसंख्यकका विषय समावेश हुन सकेन”

“साहित्यकारले नबुझेकाले यौनिक अल्पसंख्यकका विषय समावेश हुन सकेन”

काठमाडौं (पहिचान) चैत्र ४ – गीतकार डीपी परिश्रमीले समलिंगी तेस्रोलिंगीबारे आम समाजलाई थाहा नभएकै कारण उनीहरुका विषय नेपाली साहित्यमा समावेश नभएको बताएका छन् । समाजमा भए गरेका विषयस्तु नै साहित्यमा प्रतिविम्वत हुने भन्दै परिश्रमीले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयबारे आम नागरिक र साहित्यकारलाई जानकारी भएको भए अन्य विषय सरह यसले पनि प्रवेश पाउने बताए ।
DP“धेरैलाई अझै पनि समलिंगी तेस्रोलिंगीबारे थाहा छ जस्तो मलाई लाग्दैन । मैले पनि पत्रपत्रिका तथा संचारमाध्यममा यसबारे केही सुनेपनि बिस्तृतमा थाहा थिएन । आज केही बुझ्ने मौका पाउँदैछु । अरुलाई पनि यस्तै होला भन्ने लाग्छ,” परीश्रमीले भने, “साहित्यकारलाई यसबारे अझै धेरै जानकारी भएपछि समलिंगी तेस्रोलिंगीका विषय पनि साहित्यमा समावेश हुनेछन् ।”
हरेक व्यक्ति समान भएको भन्दै समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुने उनको भनाई छ । नेपालको नयाँ संविधानले अधिकार समेत सुनिश्चित गरिसकेको अवस्थामा फरक पहिचान भएकै आधारमा विभेद गर्न नुहनेमा उनको जोड छ ।
“नयाँ संविधानले समलिंगी तेस्रोलिंगीलाई अधिकार प्रदान गरेको छ । संविधान आँफै मुर्त दस्तावेज होइन । कानुनले संविधानको व्यख्या गरेपछि त्यसको कार्यान्वयन हुने हो । अब समलिंगी तेस्रोलिंगीलाई अधिकार प्रदान गर्नेगरी कानुन बन्छ कि बन्दैन त्यो महत्वपूर्ण पक्ष हो ।”
सूचना प्रविधिको विकाससँगै विश्व सानो गाउँमा परिणत भइसकेको अवस्थामा अन्य देशमा भएका प्रयोग र सफलताका आधारमा समलिंगी तेस्रोलिंगीलाई कस्तो अधिकार दिने र कस्तो व्यबाहार गर्ने त्यसबाट पनि सिक्नु पर्ने गीतकार परिश्रमीले बताए । “विश्व सानो गाउँमा परिणत भइसकेको छ । हमीले अन्य देशमा के भइरहेको त्यो पनि हेर्न सक्छौं । राम्रो कुरालाई अरुको हेरर पनि प्रयोग र प्रचलनमा ल्याउन सकिन्छ ।” उनले भने ।
गीतकार परीश्रमीले यही महिना आफ्नो एकल शब्दमा तिर्सना नामक गीति संग्रह सार्वजनिक गर्दैछन् । उनको एल्बममा सम्भुजित बास्कोटाको एकल संगीत रहेको छ भने सत्यराज आचार्य, स्वरुपराज आचार्य, हेमन्त शर्मा, प्रमोद खरेल, मीलन अमात्य, आस्था रावत र राज सिग्देलले स्वर दिएका छन् ।
परिश्रमीले कविता र गीत समावेश अन्तरमनको सुशेली नामक संग्रह समेत प्रकाशोन्मुख अवस्थामा रहेको जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.