बजेट विनियोजन गर्न समलिंगी तेस्रोलिंगीको माग

बजेट विनियोजन गर्न समलिंगी तेस्रोलिंगीको माग

कञ्चनपुर (पहिचान) जेठ १५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले आफ्नो समूदायका लागि पनि बजेट विनियोजन गर्न माग गरेका छन् । नील हिरा समाजको नर्वेजियन परियोजनाको सहयोग र सहयात्रा नेपालको आयोजनामा महेन्द्रनगरमा भएको अन्तरक्रियामा समूदायका सदस्यले बजेट विनियोजन गर्न सरकारसँग माग गरेका हुन् ।

समलिंगी तेस्रोलिंगी समूदायका लागि डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा मात्रै बजेट विनियोजन भएको वताउँदै अन्तरक्रियामा सहभागीमाहरुले गणतन्त्र दिवसका दिन अर्थमन्त्री बिष्णु पौडेलले संसदमा प्रस्तुत गर्ने बजेटमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका लागि पनि रकम छुट्टिनु पर्ने वताए । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले समाजमा आफूहरु माथि हेर्ने दृष्टिकोण सकारात्मक हुनुमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको वताइन् ।

तेस्रोलिंगीलाई विभिन्न उपनाम दिएर हेरिन्थ्यो श्रेष्ठले भनिन्, सबैको साथ सहयोगले समूदायका सदस्य माथि हुने विभेद, दुरव्यवहार र हिंसा केही कम भएको छ । अधिकारकर्मी विश्वराज अधिकारीले धर्मग्रन्थहरुमा समेत समलिंगी तेस्रोलिंगी व्यवहारलाई स्वीकार गरिएको वताउँदै अब संबिधानमा लेखिएको अधिकार कार्यान्वयन हुनु पर्ने वताए । उनले घर, परिवार, समाज र राज्यको हेर्ने दृष्टिकोण सकारात्मक बनाउन पत्रकार भूमिका महत्वपूर्ण हुने वताए ।Media

सुदुरपश्चिम समाजका क्षेत्रीय संयोजक एवं यौनिक तथा लैंगिक अल्पसख्यकहरुको महासंघ नेपालका उपाध्यक्ष राजु लामाले सुदुरपश्चिममा १२ जना अन्तरलिंगी व्यक्ति सम्पर्कमा आएको जानकारी दिए । रेडियो कार्यक्रम पहिचान सुनेर सम्पर्कमा आउने क्रम बढेको छ लामाले भने, गाउँ गाउँमा लुकेर बसेकाहरुले टेलिफोन सम्पर्क गरेर यौनिकताबारे जानकारी लिने गरेका छन् । तेस्रोलिंगी मोनिका शाहीले आफ्नो समूदायका लागि राज्यले आरक्षणको व्यवस्था गर्नु पर्ने माग गरिन् ।

तेस्रोलिंगी अधिकार कर्मी मनिला न्यौपानेले आफू अनाथ बालबालिकाको आश्रयस्थल बन्न चाहेको वताइन । म एक दुई जना सन्तानको आमा होइन मनिलाले भनिन्, धेरै अनाथ वालवालिकाको आमा बनेर सेवा गर्न चाहन्छु, राज्यले कानु निर्माण गरिदियोस । रेडियो कार्यक्रम पहिचानको पार्टनर रेडियो शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर बिष्णु अवस्थीले समलिंगी तेस्रोलिंगीको अधिकारको बिषय समेटिएको पहिचान कार्यक्रमबारे गाउँ गाउँबाट फोन आउने गरेको वताए । एक मिनेट कार्यक्रम प्रसारण हुन ढिला हुँदा फोन गरेर पहिचान कार्यक्रम किन प्रसारण नभएको भन्छन् ? अवस्थीले भने, सायद लुकेर बसेका समूदायका सदस्यहरुको चासो भएर नै होला ।

नील हिरा समाजका कानुनी सल्लाहकार सुजन पन्तले यो समूदायको संबिधानमा अधिकार लेख्ने नेपाल एसियाकै पहिलो देश भएको जानकारी दिए । भारतमा समलिंगी तेस्रोलिंगीलाई नेपालमा जति अधिकार छैन पन्तले भने, अधिकारको बिषयमा नेपाल भारत भन्दा धेरै अगाडि छ । उनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.