नेपालगंजका तेस्रोलिंगीको प्रश्न : हामीले नमागी अधिकार पाउने दिन कहिले आउछ ?

नेपालगंजका तेस्रोलिंगीको प्रश्न : हामीले नमागी अधिकार पाउने दिन कहिले आउछ ?

बाँके (पहिचान) जेठ १९ – नेपालगंजका तेस्रोलिंगीहरुले नमागिकन अधिकार पाउने दिन कहिले आउछ भन्दै सरकालाई प्रश्न गरेका छन् । नर्वेवियन प्रोजेक्ट अन्तरर्गतको मानवअधिकार तथा संचार परियोजना अन्तर्गत राखिएको मिडिया अन्तरक्रियामा नेपालगंजका तेस्रोलिंगीहरुले सधै अधिकार मागे पनि पूर्ण अधिकार पाउन नसकेको गुनासो गरे ।

अन्तरक्रियामा यस अघि अगाडी आएर नबोलेका श्रीमाया गुरुङ, निर्मला चौधरी, अंकित पुनले आफ्ना समस्या राखेका थिए भने यस अघि कम मात्र बोल्ने शिला गुरुङले पनि आफ्ना समस्या खुलेर राखेकी थिइन् ।
‘हामीलाई समान नागरिक भनेर भनाईमा मात्र सिमित गरिएको छ, पुरुष र महिलालाई जस्तो समान लिंगमा विवाहको मान्यता दिइएको छैन’ समलिंगी श्रीमायाले भनिन्, ‘म अहिले पनि मेरो पार्टनरसँग नै बस्दै आएकी छु तर कानुन नहुँदा हाम्रो सम्पत्तिको स्वामित्व देखि धर्मसन्तान राख्ने कुरा समेतमा समस्या छ ।’ कानुन बनाउने र व्यवहारिक रुपमा सरकारी कर्मचारीबाट नै विभेदपूर्ण व्यवहार हुने कुरा समेत अन्त्य नभएको उनले बताईन् ।
उनीजस्तै पहिलोपटक सार्वजनिक रुपमा आफ्ना समस्या राखेकी तेस्रोलिंगी निर्मला चौधरीले संविधानमा आयो भनेका विषय समेत कानुनमा नआउदा नागरिकता लगायतका समस्या समाधान नभएको बताइन् । ‘हामीलाई नागरिकताको अधिकार दिइएको छ तर पनि पुरानो पहिचानका आधारमा नाम लेखेर लिंगको महलमा मात्र अन्य उल्लेख गरेर नागरिकता दिइन्छ’ निर्मलाले भनिन्, ‘हामीले आफूले चाहेको र समाजे चिन्ने गरेको पहिचान अनुसारको नाम नागरिकतामा पाउन सकेका छैनौ ।’ उनले रोजगारी लगायतका अन्य हक अधिकारमा पनि महिला सरहका अधिकार प्राप्त हुनुपर्ने बताइन् । ‘हामीले नमागीकन नागरिकले पाउने अधिकार पाउने दिन कहिले आउछ ?’ निर्मलाले प्रश्न गरिन् ।Bake
अन्तरक्रियामा अंकित पुनले पनि सक्रियतापूर्वक सहभागिता जनाए । ‘म जन्मिदा छोरी थिए, मेरा बाबुआमाको इच्छा ज्वाइ ल्याउने थियो’ उनले भने, ‘तर मेरो स्वभाव अर्कै विकास भयो मैले ज्वाई हैन बुहारी भित्र्याउने स्वभाव देखाए ।’ उनले आफ्नो स्वभावलाई बाबुआमाले स्वीकार गर्न नसकेकै कारण आफूले घर छोड्न बाध्य भएको बताइन् ।
‘एउटी सामान्य महिला घरबाट निकालिएका भए राज्यले उसलाई पुनस्थापना केन्द्रमा राख्थ्यो तर मलाई राज्यका तर्फबाट केहीपनि सहयोग भएको छैन’ उनले भनिन् ।
कार्यक्रममा पश्चिम तारा नेपालका क्षेत्रीय प्रमुख सुदिप भट्टले संविधानमा समेटिएका विषयलाई कानुनमा समेट्न बाँकी रहेको, समलिंगी विवाहलाई मान्यता दिनेगरी तयार भएको सरकारी रिपोर्ट महिला बालवालिका तथा समाजकल्याण मन्त्रालयमा थन्किएको, भएका कानुन विभेदपूर्ण हुँदा समलिंगी विवाहलाई अपराधको रुपमा हेरिएको लगायतका समस्या रहेको र त्यसको समाधानका प्रेसको महत्वपूर्ण भूमिका रहेको बताए ।
अन्तरक्रिया कार्यक्रमका सहभागि पत्रकारहरुले समलिंगी तेस्रोलिंगीका विषय समय समयमा संवेदनशील इश्युका रुपमा आउने गरेपनि केही समयपछि पुरै सेलाएर त्यो इश्यु उनीहरुको नै हैन जस्तो लाग्नेगरेको बताएका थिए । ‘कहिले एकदमै गंभीर विषयका रुपमा प्रेसले कभर गरेका विषय केही समयपछि उनीहरुकै चासोको विषय जस्तो नबन्दिदा कसरी निरन्तरताा हुन सक्छ? पत्रकार निरज गौतमले भने, ‘फेरी उहाँहरुका विषयमा हामी प्रेसले जति स्पेस दिएका छौं त्यसको उपयोग पनि उहाँहरुबाट पर्याप्त भएजस्तो लाग्दैन ।’
उनले अधिकार प्राप्तिको आन्दोलनमा सम्बन्धित समुदायका क्रियाशीलता नलिदासम्म अरुले जतिसुकै समय र श्रम लगानी गरेपनि त्यो सफल नहुने भन्दै सम्बन्धित समुदाय नै बढी क्रियाशील हुुनुपर्ने बताए । पत्रकार गौतमले प्रेसलाई पनि उनीहरुको क्रियाशीलताले नै समाचार सम्प्रेशण गर्नका लागि प्रेरण मिल्ने पनि बताए ।
कार्यक्रममा उपस्थित अन्य पत्रकाहरुले आफ्नो नजिकमा देखिनेगरेका तेस्रोलिंगीहरुका स्वभाव र उनीहरुका गतिविधिका विषयमा पनि आफूहरु जिज्ञासु हुने गरेको सुनाएका थिए । धेरैजना पत्रकारहरुले कानुनमा हुने प्रावधानका जटिलता र मिडियाले स्पेस दिने आवस्यकताका विषयमा पनि प्रश्न उठाएका थिए । उनीहरुका जिज्ञासाको जवाफ कार्यक्रम पहिचानका तर्फबाट काठमाडौंबाट आएका पत्रकार रमेश वाग्ले दिएका थिए ।
पहिलोपटक मिडियासामु प्रस्तुत भएका समलिंगी तेस्रोलिंगीले कार्यक्रम सकिएपछि आफूहरु उत्साहित भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले कार्यक्रमबाट आफूहरुलाई बोल्ने र आफ्नाकुरा राख्ने आत्मबल प्राप्त भएको पनि बताएका छन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.