नयाँ शक्तिको घोषणासभामा तेस्रोलिंगीको सांस्कृतिक कार्यक्रम

नयाँ शक्तिको घोषणासभामा तेस्रोलिंगीको सांस्कृतिक कार्यक्रम

काठमाडौं (पहिचान) जेठ २४ – डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा समलिंगी तेस्रोलिंगीले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने भएका छन् । जेठ ३० गते राजधानीमा हुने पार्टी घोषणासभामा यौनिक तथा लैंगिक अल्पसंख्यकले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
“नयाँ शक्ति नेपालले आयोजना गरेको घोषणासभामा हाम्रो पनि सांस्कृतिक कार्यक्रम रहने छ,” नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, “समलिंगी तेस्रोलिंगीले रंगशालामा हुने कार्यक्रममा डान्स गर्नेछन् ।”
गुरुङ नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद् सदस्य हुन् । उनले अन्य पार्टीको तुलनामा नयाँ शक्ति नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई सम्मानजनक व्यवाहार गरिरहेको बताइन् । “म स्वयम केन्द्रीय परिषद् सदस्य छु”, उनले भनिन्, मौखिक रुपमा मात्रै होइन पार्टी विधानमा पनि हाम्रो बारे स्पष्ट उल्लेख हुनुपर्छ भन्ने मेरो मान्यता हो ।” उनले पार्टीको बिधानको प्रस्थावनामा नै समलिंगी तेस्रोलिंगीबारे उल्लेख गर्नु पर्ने उनको धारणा छ । Pinki Gurung
पहिलो संविधानसभा आसपासमा समलिंगी तेस्रोलिंगी अधिकारका अभियन्ता सुनिलबाबु पन्तसँगै नेकपा संयुक्तमा रहेका केही यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा नेकपा एमालेमा प्रवेश गरेका थिए । तर, एमालेले आफूहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै अहिले नयाँ शक्ति नेपालमा आबद्ध भएका छन् ।
पार्टी गठनको चरणदेखि नै नयाँ शक्तिमा आबद्ध गुरुङले राजनीतिक अधिकार सँगै सामाजिक तथा सांस्कृतिक र समग्र अधिकारका लागि कुनै न कुनै पार्टीमा आबद्ध हुनु पर्ने अवस्था रहेका कारण आफूहरु नयाँ शक्तिमा प्रवेश गरको बताइन् ।
“अधिकारका लागि राजनीतिक चिनजान र भनसुन आवश्यक नभइ समलिंगी तेस्रोलिंगी अधिकार संस्थागत गर्न गाह्रो हुने रहेछ,” अध्यक्ष गुरुङले भनिन्,“हाम्रो अधिकारका लागि पनि हामी नयाँ शक्तिमा आबद्ध भएका हौं, हाम्रा धेरै साथीहरु पनि यसमा आवद्ध हुन चाहन्छन। र म पनि नयाँ शक्तिमा आउन आग्रह गर्छु ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.