नयाँ शक्ति पार्टीको छलफल सत्रमा पिंकी गुरुङको संबोधन ‘तेस्रोलिंगीलाई तिरस्कार र बहिस्कारका विरुद्ध एकजुट होऔ’

नयाँ शक्ति पार्टीको छलफल सत्रमा पिंकी गुरुङको संबोधन ‘तेस्रोलिंगीलाई तिरस्कार र बहिस्कारका विरुद्ध एकजुट होऔ’

काठमाडौं (पहिचान) असार १ – नयाँ शक्ति नेपाल पार्टीकी केन्द्रीय परिषद सदस्य पिंकी गुरुङले तिरस्कार र बहिस्कारका कारण मात्र समलिंगी तेस्रोलिंगीहरु समस्यामा रहेको बताएकी छन् । नयाँ शक्ति नेपालको घोषणासभा पछि प्रज्ञा भवन कमलादीमा भएको छलफलसत्रमा परिषद सदस्य गुरुङले पुरुष महिला सरह नै तेस्रोलिंगीमा क्षमतावान हुने भन्दै क्षमताको कदर नगरी तिरस्कार र बहिस्कार गरेका कारण मात्र समस्या आएको बताइन् ।
उनले नयाँ शक्ति नेपाल आधुनिक समाजको प्रतिनिधित्व गर्नेगरी गठन भएकाले पनि अब त्यस्तो समस्या नहुने बताइन् । ‘तेस्रोलिंगीहरु पनि महिला र पुरुष जस्तै आ आफ्नो क्षमता र दक्षता भएका हुन्छन, तर उनीहरुको क्षमताको कदर भन्दा पनि उनीहरुमाथि तिरस्कार र बहिस्कार भएका कारण मात्र समस्यामा छन्’ गुरुङले भनिन ‘अब त्यस्तो अवस्था कसैलाई पनि आउने छैन किन भने नयाँ युगको आवाज सुन्नेगरी नयाँ शक्ति आएको छ, तपाइहरु हामीसँग काँधमा काँध मिलाएर अधिकारको लडाइ लडिदिनुहुने छ ।’ उनले समुदायका मानिस सक्षम भएर मात्र समस्याको समाधान नहुने भन्दै सबै मानिसले समुदाय विशेषका मुद्धा उठाउन आवस्यक भएको बताइन् ।Naya Shakti Pinki

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष समेत रहेकी परिषद सदस्य गुरुङले विश्वका धेरै देशहरुमा अहिले पनि कानुनी अधिकार नपाएर समलिंगी तेस्रोलिंगीहरु समस्यामा रहेपनि नेपालमा त्यस्तो अवस्थामा सुधार आएको बताइन् । ‘विश्वका कयौं त्यस्ता देशहरु छन्, जहाँ समलिंगी तेस्रोलिंगीहरुले कानुनी अधिकार नै पाएका छै्रनन्’ गुरुङले भनिन्, ‘हाम्रो देशमा संविधानले नै समलिंगी तेस्रोलिंगी भनेर संबोधन गरिसकेको छ ।’
उनले संविधान निर्माणका क्रममा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बसेर पनि डाक्टर बाबुराम भट्टराईले समलिंगी तेस्रोलिंगीका मुद्धा संविधानको मस्यौदामा पार्न सकारात्मक काम गरेको भन्दै उहाँकै नेतृत्वमा रहेको नयाँ शक्तिले अब समलिंगी तेस्रोलिंगीलाई अधिकार सम्पन्न बनाउने विश्वास व्यक्त गरिन् ।
उनले समलिंगी तेस्रोलिंगीहरु आजकै दिन कहिबाट झुल्किएका नभएर यसको अस्तित्व युगौं युग देखि रहदै आएको बताइन् । ‘हिन्दु धर्म र दर्शन अनुसार सत्य त्रेता द्वापर र कली सबै युगमा समलिंगी तेस्रोलिंगीकोे अस्तित्व देखिन्छ’ उनले भनिन्, ‘सिखण्डी, अर्धनारेश्वर, हुँदै अहिलेका समलिंगी तेस्रोलिंगीहरु त्यसका उदाहरण हुन् ।’
उनले त्रेता युगमा राजकुमार राम बनबास जाँदा सँगै गएका जनतालाई सबै नरनारी घर फर्क भनेको र १४ वर्ष पछि फर्कदा केही जनता त्यही बसेको देखेर राम छक्क परेको कथा पनि सुनाइन् । ‘१४ वर्ष पछि राम त्यहीबाटो फर्किदा उनका केही जनता त्यही किनारामा बसिरहेका थिए, राम छक्क पर्दै किन नर्फकिएको घर मैले त फर्कन भनेको थिए भने’ उनले भनिन्, ‘किनभने तपाईले नररारीलाई मात्र फर्क भन्नुभएको थियो, हामी नर नारी नभएर फक हौं त्यसैले फर्कने आदेश नभएकाले यही बसेका ।’ त्यसो भनेपछि रामले उनीहरुलाई पनि सँगै अयोध्या राज्य फर्काएको कथा उनले सुनाइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.