तेस्रोलिंगीका अधिकार संस्थागत नगरे सर्बोच्चमा रिट दायर गर्ने

तेस्रोलिंगीका अधिकार संस्थागत नगरे सर्बोच्चमा रिट दायर गर्ने

चितवन (पहिचान) साउन ५ – समलिंगी तेस्रोलिंगीप्रति रहेको विभेदको नजर अन्त्य गर्न चेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याइएको छ । चितवनको नाराणयणगढमा नील हिरा समाज शाखा कार्यालय चितवनले आयोजना गरेको कार्यक्रमका सहभागीले समाजमा अझै पनि समलिंगी तेस्रोलिंगीप्रति नकारात्मक हेराई रहेको भन्दै यस्तो व्यवहार र मानसिकताको अन्त्य गर्न कार्यक्रमहरुको आवश्यकता रहेको बताएका हुन् ।
संविधानमा अधिकार उल्लेख हुँदैमा समलिंगी तेस्रोलिंगीप्रति हुँदै आएको विभेद अन्त्य नहुने भन्दै कार्यक्रममा नील हिरा समाजका कानुनी सल्लाहकार तथा अधिबक्ता सुजन पन्तले घर परिवारबाटै विभेदको ऋखलाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
अब संशोधन हुने कानुनले समलिंगी तेस्रोलिंगीको अधिकार संस्थागत नगरे संविधानमा टेकेर सर्बोच्चमा रिट दायर गर्न सकिने उनले बताए । तर, अधिकारसँगै समाजले पनि स्वीकार गर्ने वातावरण भने घरबाटै सुरु हुनुपर्नेमा अधिबक्ता पन्तले जोड दिए । Sujan 1
कार्यक्रममा अन्तरलिंगी इशान रेग्मीले भने—हामीलाई सुरुमा घर परिवारबाटै विभेद हुन्छ, त्यसपछि समाज र सरकारी निकायबाट हुन्छ । म सुरुमा केटी जस्तो थिँए । अहिले केटा जस्तो देखिरहनु भएको छ । यही शारीरिक अस्थाले गर्दा मैले कति दुःख पाएको छु, त्यो मलाई मात्रै थाहा छ । तपाईहरु मेरो ठाउँमा एक छिन बसेर हेर्नुस् मेरो पीडा तपाईंलाई बोध हुन्छ ।
कार्यक्रममा सहभागी पत्रकारहरुले नील हिरा समाजले समलिंगी तेस्रोलिंगीको अधिकारकारका लागि चलाएको अभियानले चाँडै सफलता पाएको भन्दै यसले अझै निरन्तरता पाउनु पर्ने बताए ।
‘चितवनमा नील हिरा समाज आफ्नो अभियानमा चाँडै सफल भएको हो । तर, पछिल्लो समय यस्तो त्यती धेरै कार्यक्रम गरेजस्तो लाग्दैन,’कार्यक्रममा एक पत्रकारले भने, ‘समलिंगी तेस्रोलिंगी भन्ने बित्तिकै अझै मान्छेले बुझ्ने भनेको खराब हुन्छन् भन्ने नै हो । यो अवस्थाको अन्त्यका लागि त चेतनामूलक कार्यक्रम गर्नु पर्छ । चाहे त्यो सरकारी सहयोगमा होस् या गैरसरकारी संस्थाको सहयोगमा होस ।’
नील हिरा समाज शाखा कार्यालय चितवनबाट अप्रत्यक्ष रुपमा मनोबैज्ञानिक परामर्श लिने तथा अन्य सेवा लिने समलिंगी तेस्रोलिंगीको संख्या ६ हजार रहेको मानव सचेतना समाजका प्रमुख देवनारायण श्रेष्ठले जानकारी दिए । ३ सय ७५ जना समाजको प्रत्यक्ष सम्पर्कमा रहेको श्रेष्ठले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.