नील हिरा समाज १६ वर्षमा प्रवेश

नील हिरा समाज १६ वर्षमा प्रवेश

काठमाडौं (पहिचान) भदौ २७ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गरिरहेको संस्था नील हिरा समाज १६ वर्षमा प्रवेश गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान समेत नभएको अवस्थामा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्तको अगुवाइमा सन २००१ मा आजकै दिन अर्थात सेप्टेम्बर १२ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा नील हिरा समाज दर्ता भएको थियो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र द्विलिंगी) को अधिकारका लागि दर्ता गरेको संस्थामा पन्तले सदस्य बसिदिने कोही नहुँदा आफ्नै परिवारका सदस्यहरुको नागरिकता लगेर संस्था दर्ता गराएका थिए । त्यतिवेला समुदायका तर्फबाट संस्थापक अध्यक्ष सुनिलबाबु पन्त मात्र थिए । बाँकी उनका दाइ, दिदी र आफन्तहरु सदस्य रहेका थिए ।
त्यस अघि पनि संस्थाका सदस्यहरु पिंकी गुरुङ, मनिषा ढकाल, परशुराम राई लगायतसँग सुनिलबाबु पन्तको भेट हुने गरे पनि उनीहरु संस्थापकको हैसियतमा रहेका थिएनन् । पछि संस्था दर्ता भएको करिव एक वर्षमा संस्थाको साधारणसभाले संस्था पुनर्गठन गर्यो र सुनिलबाबु पन्तकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयो । जसमा समुदायका र बाहिरिका सदस्यहरु मिलेर ११ जनाको कार्य समिति बनेको थियो । नयाँ कार्य समितिमा संग्रामसिंह हमाल उपाध्यक्ष, मनिषा ढकाल सचिव र विष्णुराज पन्त कोषाध्यक्ष भए ।
पन्तले त्यस लगत्तै परिवार स्वास्थ्यका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था एफ्एचआइमार्फत सहयोग लिएर समुदायका मानिसहरु भेटघाट भएर सचेतना कार्यक्रम संचालन गर्न सुरु गरे । त्यहीबाट विभिन्न ठाउँमा भेटघाट सुरु गरेको संस्थाले अन्य दातृ संस्थाहरुसँग पनि सहयोग लिदै आफ्ना गतिविधि बढाउन थाल्यो । त्यसपछि संस्थाले कर्मचारी सहित आफ्ना कार्यक्रमहरु संचालन गर्न थाल्यो ।
सुनिलबाबु पन्तकै अध्यक्षताको कार्यकालमा नील हिरा समाजको आफ्नै भवन निर्माण देखि विभिन्न ठाउँमा शाखा कार्यलय स्थापना सम्मका कामहरु भए । अहिले ३१ जिल्लाका ५३ स्थानमा नील हिरा समाजका शाखा कार्यालय छन् भने नेपालका सबैभन्दा ठुला एनजीओ मध्येमा नील हिरा समाज पनि पर्छ ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आजको दिनमा विगतका दुःखहरुलाई अहिलेका उपलब्धी हेरेर विर्षदै गर्व गर्नुपर्ने बताइन् । ‘धेरै दुख गरियो टिमका तर्फबाट यो अवधिमा’ गुरुङले विगत सम्झदै भनिन्, ‘आजको दिनमा अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुप्रति गर्व बोध हुन्छ ।’ उनले अवका दिनमा प्राप्त उपलब्धीको रक्षा गर्दै बाँकी उपलब्धीका लागि लाग्नुपर्ने बताइन् । ‘संविधानमा लेखिएका कुरा कानुनमा लेखाएर कार्यान्वयन गराउन, प्राप्त अधिकार उपभोगका लागि समुदायका मानिसलाई प्रोत्साहित गर्न र अझै पनि लुकेर बसेकाहरुलाई बाहिर आएर अधिकारका लागि अवाज उठाउन प्रोत्साहन गर्नु अवको आवस्यकता हो’ उनले भनिन् ।
समाजको स्थापना काल देखि नै लेखा साखामा रहेर काम गर्दै संस्थाको कोषाध्यक्षसम्म भएका विष्णुराज पन्तका पनि आफ्नै संम्झना छन् । उनी सुरुमा सानो काम थालेको संस्थामा सुनिलबाबु पन्तले धेरै काम गर्ने योजना बनाएपछि धेरै सहयोगि हातहरु पनि जुटेको बताए ।
‘त्यसपछि दातृ राष्ट्रहरुका सहयोग पनि ह्वात्तै बढ्यो अनि संस्थाका गतिविधि पनि त्यहीअनुपातमा बढे’ त्यतिवेलाको अनुभव सुनाउँदै विष्णुराज पन्त भन्छन्, ‘त्यसपछि संस्थाको सदस्य हुन पाएकोमा गर्व गर्ने देखि संस्थाको सदस्यता लिने सम्मको संख्या बढेर गयो, नखुलेकाहरु खुलेर आउन थाले भने कति पय नखुलेरै पनि संस्था र समुदायका लागि काम गर्न थाले ।’
त्यतिवेला समुदायका मानिसहरु बाहिर अरुसँग बोल्न पनि नचाहने उनले सुनाए । ‘कोही पनि कोठा भित्रै बस्ने अरुसँग नबोल्ने स्वभावका थिए, त्यही वेला मलाई सुनिलबाबु पन्तले मेरो भिनाजु हो उहाँ एकाउण्ट हेर्ने काम गर्नु हुन्छ भनेर चिनाए पछि सबैले मलाई भिनाजु भन्न थाले’ पन्तले अनुभव सुनाए । उनलाई अहिले पनि अधिकांसले भिनाजु भनेर संबोधन गर्छन ।
नील हिरा समाजका उपकार्यकारी निर्देशक समेत रहेका मानवअधिकारकर्मी परशुराम राईले यसबीचमा थुप्रै उपलब्धी हाँसिल भएको बताए । ‘हामीले धेरै उपलब्धीहरु हाँसिल गर्यौं’ राईले भने, ‘सर्बोच्चको फैसला पछि नागरिकता पासपोर्ट पाउन थालेका छौं, संविधानमा लैंगिक तथा यौंनिक अल्पसंख्यक भनेर लेखियो, सरकारको आवधिक योजनामा पनि समेटियो, कानुन बन्ने चरणमा छ, समलिंगी विवाहसम्बन्धि सरकारी समिति बन्यो त्यसले मान्यता दिनु भनेर प्रतिवेदन पनि बुझाएको छ ।’ उनले अहिले सरकारले पनि बाल अधिकार सन्धिमा सहमति जनाएको र विद्यालयको पठ्यक्रममा समेत समूदायको बिषय समेटिएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading