वालेनको विवादित र्‍यापमा मौन सत्ता, भूमिकाको मौनतामाथि प्रश्न

वालेनको विवादित र्‍यापमा मौन सत्ता, भूमिकाको मौनतामाथि प्रश्न

83
SHARES

काठमाडौं – महिलालाई लक्षित गर्दै गरिएको स्त्रीद्वेषपूर्ण र अपमानजनक भाषा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणायुक्त अभिव्यक्ति, “छक्का” जस्ता गाली शब्दहरूको हिंसात्मक र अमानवीय सन्दर्भमा प्रयोग तथा यौन हिंसालाई सामान्यीकरण वा तुच्छीकरण गर्ने अभिव्यक्तिहरू समावेश रहेको र्‍याप भिडियो विवादमा प्रधानमन्त्री वालेन्द्र शाह मौन बसेका छन्।

यस्ता सामग्रीको निरन्तर उपलब्धताले, विशेष गरी सम्बन्धित व्यक्तिको वर्तमान राजनीतिक हैसियतलाई ध्यानमा राख्दा, समाजमा हानि पुर्‍याउने, विभेदलाई वैधता दिने तथा सीमान्तकृत समुदायका लागि शत्रुतापूर्ण सामाजिक वातावरण सिर्जना गर्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू बताउँछन्।

प्रधानमन्त्री वालेन्द्रलाई विनम्रताको भावनासहित उक्त भिडियो हटाउन पहल गर्न उनीहरूको आग्रह छ। उनीहरूले वैशाख ४ गते नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएका थिए।

तर, ब्युरोले हालसम्म भिडियो हटाउन गरेको आग्रहको जवाफ प्राप्त हुन नसकेको जनाएको छ। “युट्युबलाई पत्र लेखेका छौँ, तर अहिलेसम्म जवाफ आएको छैन,” ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले भने।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले श्रम संस्कृति पार्टी, नेपाली कांग्रेससहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसम्म पनि यो माग पुर्‍याएको बताएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेनसँग भेट हुँदा कुरा राख्ने आश्वासन दिएका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसदीय दलमार्फत संसद्मा आवाज पुर्‍याउने बताएका छन्।

तर, समुदायका व्यक्तिहरूका अनुसार रास्वपाका अधिकांश सांसदहरू भने प्रधानमन्त्री वालेनविरुद्ध सार्वजनिक रूपमा बोल्न अनिच्छुक देखिएका छन्। समुदायका सदस्यहरूका अनुसार सत्तारुढ दलभित्र यो विषय उठाउन समेत असहजता रहेको अनुभूति गरिएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै संसद्मा पुगेकी भनिने रास्वपाकी सांसद भूमिका श्रेष्ठले पनि हालसम्म सार्वजनिक रूपमा यस विषयमा धारणा नदिएको समुदायका व्यक्तिहरूको गुनासो छ। समुदायका सदस्यहरू भन्छन्, समुदायविरुद्ध प्रयोग भएका घृणास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई आग्रह गर्नसमेत प्रतिनिधिहरू हिचकिचाइरहेको देखिनुले प्रतिनिधित्वको प्रभावकारितामै प्रश्न उठाएको छ।

भूमिका पुरुषबाट अन्य र अन्यबाट लिङ्ग परिवर्तन गरी महिला बनेकी सत्तारुढ दलकी समानुपातिक सांसद हुन्। उनले आफूलाई तेस्रोलिंगी नभई महिला भएको दाबी गर्दै आएकी थिइन्। सांसद बन्नका लागि भने उनले आफू तेस्रोलिंगी समुदायको प्रतिनिधित्व गर्ने बताएकी थिइन्।

सांसद बनेपछि भूमिकाले तेस्रोलिंगीमाथि अपमान हुने शब्द हटाउन समुदायका व्यक्तिहरूले उठाएको आवाज संसद्मा उठाउन नसकेको समुदायका सदस्यहरूको आरोप छ। समुदायका व्यक्तिहरूका अनुसार प्रधानमन्त्री वालेनको र्‍याप भिडियोमा प्रयोग भएका शब्दप्रति उनले हालसम्म सार्वजनिक धारणा व्यक्त गरेकी छैनन्।

उनको प्रतिनिधित्व महिला हो कि तेस्रोलिंगी समुदायको भन्ने विषयमा नै प्रश्न उठिरहेको समुदायका व्यक्तिहरू बताउँछन्। समुदायका सदस्यहरूका अनुसार प्रधानमन्त्री वालेनको र्‍याप भिडियोमा व्यक्त भएका शब्दबाट समुदायमाथि परेको पीडालाई पर्याप्त रूपमा सम्बोधन गरिएको अनुभूति हुन सकेको छैन। उनीहरू भन्छन्, संसद्मा बोल्ने अवसर पाउँदा पनि यो विषय प्राथमिकतामा परेको देखिएको छैन।

विवादित र्‍याप भिडियो सार्वजनिक रूपमा उपलब्ध रहँदा प्रधानमन्त्री वालेन्द्र शाह स्वयं पनि मौन रहेको भन्दै समुदायले प्रश्न उठाएको छ। समुदायका सदस्यहरूका अनुसार प्रधानमन्त्रीले हालसम्म यस विषयमा सार्वजनिक रूपमा माफी मागेका छैनन्, न त भिडियो हटाउने सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेका छन्।

समुदायका सदस्यहरूले विगतका त्रुटिलाई समयसँगै सामान्य ठान्ने प्रवृत्तिप्रति असहमति जनाएका छन्। “गलत, गलत नै हो। एकचोटि भएको गल्ती समय बित्दै जाँदा सही हुँदैन।”

जेनजी आन्दोलनको रापतापमा जनताको अभिभावक बन्न पुगेका प्रधानमन्त्री वालेनलाई सीमान्तकृत समुदायले आशाको किरणका रूपमा लिएको उल्लेख गर्दै तेस्रोलिंगी समुदायसँग माफी माग्न र विवादित भिडियो हटाउन आग्रह गरेका छन्। “त्यसपछि मात्रै हामीले साँचो अर्थमा अभिभावकत्वको अनुभूति गर्न सक्नेछौँ,” समुदायले भनेको छ।

सम्बन्धित समाचार :

प्रधानमन्त्री वालेनलाई प्रश्न : भिडियो हटाउँदा असफल, राख्दा सफल हुने हो?

माफी मागे प्रधानमन्त्रीको उचाइ घट्दैन, झन् बढ्छ…

र्‍याप शब्द विवादमा वालेनलाई दुई विकल्प

वालेनका उग्रसमर्थक र रास्वपालाई तेस्रोलिंगीको चरित्रहत्या गर्ने अभिव्यक्ति नदिन सुनिल बाबुको अनुरोध

प्रधानमन्त्री वालेनलाई तेस्रोलिंगीको खुला पत्र : ‘अपमानजनक शब्द फिर्ता लिन’ आग्रह

प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

वालेनको र्‍याप विवाद: घृणायुक्त भिडियो हटाउन सुनिलबाबुको आह्वान

समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.