माफी मागे प्रधानमन्त्रीको उचाइ घट्दैन, झन् बढ्छ…

माफी मागे प्रधानमन्त्रीको उचाइ घट्दैन, झन् बढ्छ…

99
SHARES

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को १२ वर्ष पुरानो र्‍याप ब्याटलमा प्रयोग भएका हेट स्पिचले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई बोल्नै पर्ने बाध्यता आइलागेको छ।

समलिङ्गी, तेस्रोलिंगीप्रति घृणा फैलिने भिडियोले समुदायका व्यक्तिहरू जुरुक्क उठेका छन्, र यसले लामो समयदेखि सहँदै आएको पीडा, सङ्घर्ष, दैनिक जीवनमा भोग्दै आएको अपहेलना, परिवार र समाजबाट अस्वीकृत गरिँदै आएको वास्तविकता, र अदृश्य बनाइँदै आएको आवाजलाई पुनः सतहमा ल्याएको छ।

प्रधानमन्त्री वालेनकै अभिव्यक्तिले समाजमा नकारात्मक भ्रम फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ। उनीहरूले यो पहिलो पटक उठाइएको विषय नभएको प्रस्टीकरण पनि दिएका छन्, बरु यो लामो समयदेखि सञ्चित पीडा, सङ्घर्ष, पहिचानका लागि गरिँदै आएको लडाइँ, सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारको निरन्तर खोजी, र बारम्बार दबाइँदै आएको आवाजको अर्को प्रकट रूप भएको बताएका छन्।

वालेनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएदेखि र्‍याप ब्याटलमा प्रयोग भएको हेट स्पिच विवादमा परेको हो। २०७९ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले वालेनको ब्याटलमा प्रयोग भएका शब्दप्रति आपत्ति जनाएका थिए।

वालेन काठमाडौं महानगरको प्रमुख बनेको ३ वर्षमै देशको कार्यकारी बने। वालेनले गाएको र्‍याप ब्याटलमा दोहोर्‍याएर प्रश्न गरेनन् लैङ्गिक तथा यौनिक अल्पसंख्यकले, जसले उनीहरूको पीडा, सङ्घर्ष, अस्तित्वको स्वीकृतिका लागि गरिरहेको निरन्तर प्रयासलाई फेरि एकपटक दबिएको अनुभूति गरायो, र “हाम्रो आवाज कसैले सुन्दैन” भन्ने अनुभूति झन् गहिरियो।

संस्थागत रूपमा निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) मौन बस्यो। समुदायका सदस्यहरूले बोल्न आग्रह गरे पनि सुनेको नसुझैं गर्‍यो सोसाइटीको नेतृत्व, जसका कारण प्रतिनिधित्व र आवाजबीचको दूरी अझ गहिरिएको, संस्थागत संरचनाभित्रै पनि आफ्नै पीडा ओझेलमा परेको आरोप लाग्यो।

वालेनको कानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज पुग्न सकेन। प्रधानमन्त्री बनेका वालेन यतिबेला भने त्यही पुरानो र्‍याप ब्याटलले विवादमा तानिएका छन्। ती शब्दहरूले केवल मनोरञ्जनको सीमा पार गरेर घृणा, अपमान, बहिष्करण र समाजमा गलत धारणा स्थापित गर्ने भावनालाई बढवा दिए, जसले पहिले नै सीमान्तकृत समुदायको आत्मसम्मानमा गहिरो चोट पुर्‍याएको छ।

वालेनकै दलकी सांसद, जो आफूलाई कहिले तेस्रोलिंगी, कहिले पारलिंगी, कहिले ट्रान्सजेण्डर, कहिले यौनिक तथा लैङ्गिक अल्पसंख्यक त कहिले महिला नै भएको बताउने जन्मँदा छोरा जन्मिएकी भूमिका श्रेष्ठ छिन्। श्रेष्ठको संसदमा प्रतिनिधित्वलाई सोसाइटीले ऐतिहासिक उपलब्धिको रूपमा प्रचार गरेको छ, तर पहिलो संविधान सभा सदस्य एवं सोसाइटीका संस्थापक सुनिल बाबु पन्तको नाम उच्चारण गर्न लकपकाइरहेको छ।

वालेनको अभिव्यक्तिमा प्रश्न गर्दा सांसद बनेकी भूमिकालाई असहज हुने ठानेर सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज दबाइएको आरोप सोसाइटीमाथि लागेको छ, जसले समुदायभित्रै पनि आवाज उठाउने र मौन बस्नेबीचको द्वन्द्वलाई उजागर गरेको छ।

पहिलो संविधान सभा सदस्य पन्तले घृणायुक्त अभिव्यक्ति हटाउन सार्वजनिक आव्हान गरेपछि भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय समूह वा व्यक्तिगत रूपमा बोल्न थालेका छन्। प्रधानमन्त्री वालेनलाई घृणायुक्त शब्द या भिडियो नै हटाउन अनुरोध गरिरहेका छन्, र यसलाई केवल एक व्यक्तिको अभिव्यक्ति होइन, राज्यको शीर्ष नेतृत्वबाट आएको संवेदनशील सन्देशको रूपमा हेरिनुपर्ने बताइरहेका छन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। ब्यूरोले भिडियो हटाउने प्रक्रिया सुरु गरेको बताएको छ।

समलिङ्गी दृष्टिविहीन महिला एवं लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकारमा वकालत गर्दै आएकी प्रतीक्षा चापागाईँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति संवेदनशील भई, रियलाइज गरेर, सरी फिल गरी, माफी मागी हाल्नु भयो भने प्रधानमन्त्री वालेनको बडप्पन संसारमा झनझन माथि रहने बताएकी छन्।

देशमा नयाँ सरकार आएको छ, र अभिभावक प्रधानमन्त्री वालेन शाह छन्। वालेनबाट देश र जनताले धेरै आशा गरेको छ, र मेयर हुँदा धेरै आशा पूरा पनि गरे। प्रतीक्षा विश्वस्त छिन्, वालेन शाहले आशाहरू जरुर पूरा गर्नेछन्।

लगभग १२ वर्ष पहिले एउटा र्‍याप प्रधानमन्त्री वालेनले गाएका थिए। त्यो भिडियोमा जानी नजानी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय एवं महिलाविरुद्ध केही मुटु छेड्ने जस्ता शब्दहरू प्रयोग भएका छन्, जसले चित्त दुखाउने मात्र होइन, पहिले नै सीमान्तकृत बनाइएका समुदायलाई अझ पछाडि धकेल्ने, अपहेलित धारणाबाट हेरिने अवस्था सिर्जना गर्ने प्रतीक्षा बताउँछिन्। यस्ता शब्दहरूले दैनिक जीवनमा भोग्ने अपमान, डर, असुरक्षा र अस्वीकारको अनुभवलाई पुनः जिउँदो बनाउने उनी बताउँछिन्।

त्यतिखेर पनि यो विषय बाहिर नआएको होइन। त्यतिखेर पनि आएको थियो, र अहिले पनि फेरि यो विषय बाहिर आएको छ। जसका लागि प्रधानमन्त्री वालेनलाई औपचारिक रूपमा भिडियो हटाउन प्रतीक्षाले अनुरोध गरिन्।

‘अहिले त हामी यति अपहेलित छौँ भने यसले अझ पछि धकेल्दै धकेल्दै लिएर जान्छ। हामीलाई सीमान्तकृतमा पार्छ। त्यति चिज जनताले सिक्छन्, हामी भन्दा पछि आउने पीढीले पनि सिक्छन्,’प्रतीक्षा भनिन्,’यस्ता खालका सामग्रीहरूलाई निष्क्रिय पार्नुपर्छ। कहिले पनि यस्ता हेट स्पिचलाई मोटिभेट गरेर अगाडि ल्याउनु हुँदैन, भन्ने समुदायको स्पष्ट सन्देश छ।

प्रधानमन्त्री वालेन्द्र शाहले रियलाइज गरेर भिडियो हटाउनेमा प्रतीक्षाले विश्वास व्यक्त गरिन्। भिडियो हटाउँदैमा वालेनको हाइट घट्ने नभई, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अभिभावकत्व पाएको, राज्यले आफूलाई देखेको र सुनेको महसुस गर्ने उनले बताइन।

सम्बन्धित समाचार :

र्‍याप शब्द विवादमा वालेनलाई दुई विकल्प

वालेनका उग्रसमर्थक र रास्वपालाई तेस्रोलिंगीको चरित्रहत्या गर्ने अभिव्यक्ति नदिन सुनिल बाबुको अनुरोध

प्रधानमन्त्री वालेनलाई तेस्रोलिंगीको खुला पत्र : ‘अपमानजनक शब्द फिर्ता लिन’ आग्रह

प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

वालेनको र्‍याप विवाद: घृणायुक्त भिडियो हटाउन सुनिलबाबुको आह्वान

समाचार शेयर गर्नुहोस्
99
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.