वालेनका उग्रसमर्थक र रास्वपालाई तेस्रोलिंगीको चरित्रहत्या गर्ने अभिव्यक्ति नदिन सुनिल बाबुको अनुरोध

वालेनका उग्रसमर्थक र रास्वपालाई तेस्रोलिंगीको चरित्रहत्या गर्ने अभिव्यक्ति नदिन सुनिल बाबुको अनुरोध

79
SHARES

काठमाडौं – पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले प्रधानमन्त्री वालेन शाहलाई भिडियो हटाउने पहल गर्न र उठाइएका चिन्ताहरूलाई संवेदनशील रूपमा सम्बोधन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले १२ वर्षअघि र्‍याप भिडियोमा प्रयोग गरेका शब्दहरूका कारण लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूमाथि मनोवैज्ञानिक असर, सामाजिक अपमान र घृणाको वातावरण बनेको बताएका छन्।

उनले यो कुनै राजनीतिक विषय नभई सीमान्तकृत समुदायमाथि भएको घृणाको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

उनका अनुसार शुक्रवार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूले प्रधानमन्त्री वालेन शाहको १२ वर्ष पुरानो र्‍याप भिडियोविरुद्ध उजुरी दर्ता गरेपछि, उजुरीकर्तामाथि उनका उग्र समर्थकहरूबाट अनलाइन माध्यममा अपमानजनक टिप्पणी, घृणा, गालीगलौज र चरित्रहत्या गर्ने अभिव्यक्तिहरू अत्यधिक रूपमा बढेको पाइएको छ।

यसले समुदायमा भय, असुरक्षा र मानसिक पीडा थप बढाएको पन्तको भनाइ छ। उनले यस्तो व्यवहार पूर्ण रूपमा अस्वीकार्य भएको स्पष्ट पारेका छन्।

उनका अनुसार न्यायको माग गर्ने नागरिकहरूलाई डर, धम्की र अपमान सहन बाध्य बनाइनु लोकतान्त्रिक मूल्य र मानवअधिकारको मूल मर्मविपरीत हो।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले उठाएको विषय कुनै राजनीतिक षड्यन्त्र नभई विगतमा प्रयोग गरिएका शब्दहरूले पारेको नकारात्मक असरप्रति जबाफदेहिता र सुधारको माग मात्र भएको उनले उल्लेख गरेका छन्।

साथै, त्यतिबेला प्रयोग गरिएको भाषाको गम्भीरता स्वयं प्रधानमन्त्रीले पनि पूर्ण रूपमा नबुझेका हुन सक्ने सम्भावनालाई उनले औँल्याएका छन्, तर त्यसले अहिले उत्पन्न भएको घृणा र विभेदको प्रभावलाई कम नगर्ने उनले स्पष्ट पारे।

पन्तका अनुसार साँचो नेतृत्व केवल गल्ती नगर्नुमा सीमित हुँदैन, बरु गल्ती देखिँदा त्यसलाई स्वीकार गरी सच्याउने साहसमा पनि देखिन्छ।

त्यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्ना समर्थकहरूलाई संयमित र जिम्मेवार बन्न अपिल गर्न आग्रह गरेका छन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पूर्वप्रधानमन्त्री केपी ओलीका झोलेका रूपमा चित्रित गर्दै झुटा, भ्रामक र द्वेषपूर्ण आरोप लगाउनु अत्यन्त गैरजिम्मेवार र समाजलाई विभाजित गर्ने कार्य भएको उनले बताएका छन्।

यो विषयलाई राजनीतिक कोणबाट नभई मानवअधिकार र सम्मानको दृष्टिले हेर्नुपर्नेमा पन्तले जोड दिएका छन्। उनका अनुसार यो सीमान्तकृत समुदायको आवाज हो, जसले समानता, सम्मान र न्यायको अपेक्षा गरेको छ।

उनले सबैलाई भीडको मानसिकताबाट बाहिर निस्केर जिम्मेवार नागरिकका रूपमा प्रतिक्रिया जनाउन आग्रह गर्दै सामाजिक सहिष्णुता, पारस्परिक सम्मान र संवेदनशीलताको आवश्यकता औँल्याएका छन्।

सम्बन्धित समाचार:

प्रधानमन्त्री वालेनलाई तेस्रोलिंगीको खुला पत्र : ‘अपमानजनक शब्द फिर्ता लिन’ आग्रह

प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

वालेनको र्‍याप विवाद: घृणायुक्त भिडियो हटाउन सुनिलबाबुको आह्वान

समाचार शेयर गर्नुहोस्
79
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.