प्रधानमन्त्री वालेनलाई प्रश्न : भिडियो हटाउँदा असफल, राख्दा सफल हुने हो?

प्रधानमन्त्री वालेनलाई प्रश्न : भिडियो हटाउँदा असफल, राख्दा सफल हुने हो?

140
SHARES

काठमाडौं – पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले प्रधानमन्त्री वालेन्द्र शाहको १२ वर्ष पुरानो र्‍याप भिडियो हटाउन गरेको आग्रह सरकारलाई असफल बनाउन नगरिएको प्रस्टीकरण दिएका छन्।

पन्तले यो विरोधका लागि विरोध नभई सुधारको आग्रह भएको बताएका छन्। उनले प्रधानमन्त्रीको उक्त भिडियो हटाउन साइबर ब्युरोमा उजुरी परेपछि सामाजिक सञ्जालमा उल्टै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि नै आरोपित गर्ने क्रम बढेको बताएका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेनको प्रतिरक्षा गर्दै केही प्रयोगकर्ताहरूले यो विषय उठाउनु सरकारलाई असफल बनाउने प्रयास भएको दाबी गरेका छन्। यस क्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि नै दोष थोपर्ने, र सरकारविरुद्ध सुनियोजित अभियान चलाइएको आरोपसमेत लगाइएको पाइएको छ।

पन्तका अनुसार यस्तो प्रवृत्तिले विगतदेखि नै राज्य र समाजबाट भोग्दै आएको विभेदलाई थप बल पुर्‍याएको छ। समुदायले भोगेको अपमान र घृणास्पद भाषाको विरोध गर्दा उल्टै उनीहरूमाथि नै दोषारोपण गरिनु गम्भीर चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री वालेनलाई लखेटेको रूपमा टिप्पणी सामाजिक सञ्जालमा व्यक्त भएका छन्। साथै, विरोध गर्नेहरूलाई पुराना दलका नेताहरूको “झोले” भनेर संज्ञा दिइएको छ।

पन्तले भनेका छन्, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र महिलाविरुद्ध प्रयोग गरिएका घृणास्पद शब्दले चोट पुगेपछि मात्र उजुरी गरिएको हो। यसलाई राजनीतिक उद्देश्यसँग जोडेर हेर्नु गलत भएको उनको भनाइ छ।

“भिडियो हटाउँदैमा वालेन असफल हुने र राख्दैमा सफल हुने हो?” भन्ने प्रश्न गर्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो विगतप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

बालेन शाहको १२ वर्ष पुरानो र्‍याप भिडियो विरुद्ध उजुरीबारे स्पष्टीकरण दिँदै पन्तले धेरैले सोधिरहेको अहिले देशमा परिवर्तनको सङ्केत देखिँदै गर्दा किन पुरानो भिडियोको विषय उठाइयो भन्ने प्रश्नको उत्तर दिएका छन्।

उनका अनुसार उक्त भिडियो पहिले आफूले नदेखेको भए पनि, हालसालै प्रहरीले रमेश नामका व्यक्तिलाई सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध सामग्री बनाएको आरोपमा पक्राउ गरेपछि तुलना हुँदै भिडियो पुनः सार्वजनिक रूपमा फैलिएको हो। त्यसपछि “अरूलाई कारबाही गर्ने, तर आफ्नै सामग्रीबारे के हुन्छ?” भन्ने प्रश्न उठेको उनले बताएका छन्।

उक्त भिडियो १२ वर्ष पुरानो भए पनि अहिले पनि इन्टरनेटमा उपलब्ध रहेको र निरन्तर सेयर भइरहेकाले त्यसको प्रभाव वर्तमानमा पनि कायम रहेको पन्तले बताएका छन्।

भिडियोमा प्रयोग गरिएको भाषा महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति अपमानजनक रहेको उनले बताएका छन्। यस्तो भाषाले समाजमा नकारात्मक संस्कारलाई निरन्तरता दिने उनको तर्क छ।

उनले प्रधानमन्त्रीले विगतमा बनाएको त्यस्तो सामग्री हटाउनुपर्ने माग सामान्य र न्यायोचित भएको बताएका छन्। यसलाई सरकारको काममा अवरोधका रूपमा नलिन आग्रह गरेका छन्।

पन्तले प्रश्न उठाएका छन्,त्यो भिडियो राख्दैमा सरकार कसरी सफल हुन्छ? देशलाई के फाइदा हुन्छ? र हटाउँदैमा के नोक्सान हुन्छ? अथवा भिडियो हटाउँदैमा प्रधानमन्त्री कसरी असफल हुन्छन्?

उनले वर्तमान सरकारको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति नीतिगत धारणा सकारात्मक देखिए पनि व्यवहारमा पनि त्यही प्रतिबिम्बित हुनुपर्ने बताएका छन्।

यदि भिडियो हटाइन्छ भने, यसले सरकार समावेशी र जिम्मेवार रहेको सन्देश दिने उनको भनाइ छ। पन्तले आफूले केपी ओली नेतृत्वको सरकारका गलत कामको पनि निरन्तर खबरदारी गरेको स्मरण गराएका छन्।

सामाजिक सञ्जालमा आफूलाई “झोले” भनेर आरोप लगाउनेहरूलाई लक्षित गर्दै उनले जबाफदेहिता माग्नु र सम्मानजनक भाषाको वकालत गर्नु गलत नभएको बताएका छन्।

उनले दोहोर्‍याएका छन्,यो विरोधका लागि विरोध होइन, सुधारको आग्रह हो।

सम्बन्धित समाचार :

माफी मागे प्रधानमन्त्रीको उचाइ घट्दैन, झन् बढ्छ…

र्‍याप शब्द विवादमा वालेनलाई दुई विकल्प

वालेनका उग्रसमर्थक र रास्वपालाई तेस्रोलिंगीको चरित्रहत्या गर्ने अभिव्यक्ति नदिन सुनिल बाबुको अनुरोध

प्रधानमन्त्री वालेनलाई तेस्रोलिंगीको खुला पत्र : ‘अपमानजनक शब्द फिर्ता लिन’ आग्रह

प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

वालेनको र्‍याप विवाद: घृणायुक्त भिडियो हटाउन सुनिलबाबुको आह्वान

समाचार शेयर गर्नुहोस्
140
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.