काठमाडौं – गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्ने भएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरिएको हो।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गर्ने निर्णय गरेको सहसचिव काफ्लेले जानकारी दिए। टोलीलाई तत्काल घटनास्थलमा खटिन तथा यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
गृह मन्त्रालयका अनुसार हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका विशेष टोलीहरू घटनास्थलमा परिचालन गरिसकिएको छ। सीमा क्षेत्रमा देखिएको तनावलाई नियन्त्रणमा लिन तथा थप अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न निर्देशन दिइसकेको छ। यसका साथै, स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न मन्त्रालयले दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ।”
विवादको स्थायी समाधान, स्थानीय तहबीच समन्वय र तनाव न्यूनीकरणका लागि मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग पटक–पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल अगाडि बढाएको जनाएको छ।
नागरिकको जीउधनको सुरक्षा तथा सीमा क्षेत्रमा शान्ति कायम राख्न गृह मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा जिल्लाको सिमाना सम्बन्धी विषयलाई लिएर गत मङ्गलवार विवाद भएको थियो। विवाद उग्र बन्दै जाँदा दुवै पक्षबीच झडपसमेत भएको र उक्त घटनामा ६ जना घाइते भएको जनाइएको छ।
यसैबीच, सरकारले बाजुरा र हुम्ला जिल्लाबीचको सीमा विवादको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा प्राविधिक अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा सम्बन्धित मन्त्रालयहरू, नापी तथा प्रशासनिक निकायका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका सदस्यहरू रहनेछन्। समितिलाई सीमाको प्राविधिक तथा ऐतिहासिक पक्षको अध्ययन गरी विवाद समाधानका लागि ठोस सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
विवाद र तनाव पूर्ण रूपमा साम्य नभइरहेका बेला बाजुराको हिमाली गाउँपालिकाका युवाहरूले आइतबार पुनः कर्णाली करिडोर अवरुद्ध गरेका छन्। घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेपछि हुम्लातर्फ जाने तथा हुम्लाबाट आउने यातायातका साधनहरू धुलाचौर क्षेत्रमा अलपत्र परेका छन्।
सडक अवरोधका कारण यात्रुहरू समेत प्रभावित भएका छन् भने कर्णाली करिडोर क्षेत्रमा आवतजावतमा समस्या उत्पन्न भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.