नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

215
SHARES

अमेरिका – कोलोराडोस्थित डेनभरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ। शनिवारदेखि सुरु भएको तीन दिने सम्मेलनमा नेपाल, अमेरिका, युरोपलगायत विभिन्न देशका साहित्यकार, लेखक, पत्रकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी छन्।

सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे। उद्घाटनसँगै नेपाली साहित्यको समकालीन अवस्था, डायस्पोरामा यसको विस्तार, भाषा संरक्षण र साहित्यिक सहकार्यका विषयमा गहिरो विमर्श सुरु भएको आयोजकले जनाएको छ।

अनेसास केन्द्रीय कार्यसमितिको मुख्य आयोजना, अनेसास कोलोराडो च्याप्टरको संयोजन र एनआरएनए एनसीसी अमेरिका लगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो। आयोजकका अनुसार सम्मेलनमा करिब दुई सयजनाको सहभागिता छ भने तीमध्ये १२५ जना विभिन्न मुलुकबाट आएका साहित्यकार छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डा. लम्सालसँगै एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, अनलाइन खबरका प्रधानसम्पादक वसन्त बस्नेत, सम्पादक बबिता बस्नेत, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेल, चर्चित पूर्व प्रस्तोता नारायण श्रेष्ठ र नेपाल अमेरिका पत्रकार समाज (नेजा)का अध्यक्ष सुरज भण्डारी, साहित्य परिषद् भूटानका अध्यक्ष खेम रिजाल, साहित्यकार गङ्गाराम लामिटारे , शिवलाल दाहाल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका छन्। उद्घाटनपछि ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ विषयसहित दर्जनभन्दा बढी महत्त्वपूर्ण सेसन र छलफल सुरु भएका छन्, जसमा नेपाली डायस्पोरामा फैलिँदो नेपाली साहित्यका विविध आयाममाथि बहस भइरहेको छ।

सम्मेलनले विदेशमा रहेका नेपालीभाषी साहित्यकारहरूबीच आपसी सहकार्य, विचार आदानप्रदान र सिर्जनात्मक सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ। सोमबारसम्म चल्ने सम्मेलनलाई नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचानको प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

समाचार शेयर गर्नुहोस्
215
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.