बैठकमै भिडे रास्वपाका नेता–कार्यकर्ता, दुई जना घाइते

बैठकमै भिडे रास्वपाका नेता–कार्यकर्ता, दुई जना घाइते

73
SHARES

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमै हात हालाहालको अवस्था सिर्जना भएको छ। पहिलो पटक सरकारको नेतृत्व गरिरहेको रास्वपामा प्रवेश गर्ने नेता, कार्यकर्ता र समर्थकको भिड व्यवस्थापनमै चुनौती देखिएको छ।

पार्टीभित्र लामो समयदेखि बढ्दै गएको असन्तुष्टि बैठकमै विस्फोट हुँदा कुटाकुटको अवस्था सिर्जना भएको हो। रास्वपाका नेता–कार्यकर्ताबीच हात हालाहाल हुँदा रास्वपाकै दुई जना पालिका सभापति घाइते भएका छन्।

रास्वपाका चार जना सांसद सहभागी विस्तारित बैठकमा गुण्डागर्दी शैलीमा आक्रमण भएको कारबाहीमा परेका रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारले बताए।

रास्वपाले तदर्थ समिति गठन गर्न शनिवार बाराको कलैयामा विस्तारित बैठक राखेको थियो। पार्टी विस्तारसँगै नयाँ प्रवेशीको चाप बढिरहेको, स्थानीय तह निर्वाचनको टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएको र पुरानो तथा नयाँ समूहबीच अविश्वास बढिरहेको अवस्थामा बसेको बैठक सुरुदेखिनै तनावमा थियो।

हल सानो रहेको, माइक नसुनिने समस्या भएकाले केहीबेर होहल्ला मात्र भएको बैठकमा सहभागी रास्वपा सांसद गणेश धिमालले दाबी गरे।

यद्यपि, बैठकमा देखिएको तनावले रास्वपाभित्रको आन्तरिक विवाद सतहमै आएको सङ्केत गरेको छ। कार्यकर्ताले सांसदहरूलाई स्टेजबाट लखेटेको र सांसदहरू कार्यक्रमस्थलबाट भागेको चर्चा छ। बैठकमा सहभागी कार्यकर्ताबीच नाराबाजी, धकेलाधकेल र आरोप–प्रत्यारोप चर्किएपछि कार्यक्रमस्थल केहीबेर अनियन्त्रित बनेको थियो।

तर सांसदहरूले भने दुई जना काम विशेषले बाहिर निस्केको र अरू स्टेजमै बसेको दाबी गरेका छन्। विस्तारित बैठकमा सहभागी रास्वपाका अर्का सांसद अरविन्द शाहले आफूहरू भागेको भन्ने कुरा गलत भएको बताए।

घटनापछि रास्वपाभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ। सरकारको नेतृत्वमा पुगेपछि पार्टीभित्र अवसर खोज्नेहरूको संख्या बढ्दै जाँदा सङ्गठन व्यवस्थापन कमजोर बनेको आरोपसमेत लागिरहेको छ। यद्यपि, पार्टी नेतृत्व र सांसदहरूले घटनालाई सामान्य विवादका रूपमा चित्रण गर्ने प्रयास गरिरहेका छन्।

बैठकमै हात हालाहालको अवस्था सिर्जना हुनु, कार्यकर्ताले आफ्नै सांसदहरूलाई लखेटेको आरोप लाग्नु र टिकट वितरणको विषयमा खुलेआम आरोप–प्रत्यारोप हुनु पार्टीभित्रको असन्तुष्टि गहिरिँदै गएको सङ्केतका रूपमा हेरिएको छ।

रास्वपाको कारबाहीमा परेका बारा जिल्ला सभापति चन्दन स्वर्णकार भने सांसदहरू नै गुन्डा लिएर उपस्थित भएको आरोप लगाउँछन्।

विवादको चुरो कुरा स्थानीय तह निर्वाचनमा पार्टीको टिकट वितरणलाई लिएर भएको दुवै पक्षको दाबी छ। पार्टीभित्र टिकट वितरणमा आर्थिक चलखेल भएको आशङ्का र अवसरको राजनीति मौलाएको भन्दै कार्यकर्ताहरू खुलेरै असन्तुष्टि पोख्न थालेका छन्। सांसदहरूले पैसामा टिकट बिक्री गरेको आरोप रास्वपा कार्यकर्ताले लगाएका छन्। जुन कुरा सत्य नभएको रास्वपा सांसद गणेश धिमालले बताए।

गत फागुन २१ को चुनावमा अप्रत्याशित नतिजा हात पारेको रास्वपामा नेता–कार्यकर्ताको बाढी लागेको छ। पहिलो पटक सरकारको नेतृत्वमा पुगेपछि रास्वपामा प्रवेश गर्नेहरूको संख्या ह्वात्तै बढेको छ।

तर ती नयाँ प्रवेशी र पुराना कार्यकर्ताबीच जिम्मेवारी बाँडफाँट, टिकट आकाङ्क्षा र सङ्गठनको प्रभाव क्षेत्रलाई लिएर बढ्दो असन्तुष्टि व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिएको छ। यही असन्तुष्टिले पार्टीभित्रको अन्तर्विरोधलाई सार्वजनिक रूपमा उजागर गरेको छ।

पुरानालाई कारबाही गर्ने र नयाँलाई स्वागत गर्ने तयारीले पार्टीको विस्तारित बैठकमा भाँडभैलो मच्चिएको छ। बारा जिल्लामा खराब गतिविधि भएको भन्दै रास्वपाले पुरानो समिति खारेज गरेको छ। त्यसकै विवाद विस्तारित बैठकमा पोखिएको रास्वपा सांसद अरबिन्द शाहले बताए।

विवादपछि भएको हात हालाहालको अवस्थाले दुई जना घाइते नै भएका छन्। बैठकमा असन्तुष्ट पक्ष र नेतृत्व पक्षबीच चर्किएको तनावले कुनै बेला ठूलो दुर्घटना निम्तिने अवस्था देखिएको सहभागीहरूको भनाइ छ। घटनाले पार्टीभित्रको गुटगत अविश्वास र सङ्गठनात्मक असन्तुष्टि अपेक्षाभन्दा गम्भीर रहेको देखाएको छ।

तर रास्वपाका सांसदहरू भने यसलाई सामान्य विवाद मात्रै भएको बताइरहेका छन्। असन्तुष्ट पक्षलाई पनि बोलाइएको बैठकले तदर्थ समिति गठन गर्ने निर्णय गरेको सांसद शाहले बताए।

कलैयास्थित करण पार्टी प्यालेसमा आयोजित बैठकमा टिकट बिक्रीको विषयलाई लिएर असन्तुष्ट पक्ष उग्र बनेपछि तनाव सिर्जना भएको हो। रास्वपाको विस्तारित बैठकमा सांसदहरू गणेश धिमाल, चन्दन सिंह, अरविन्द साह र रहबर अन्सारीसहित केन्द्रीय प्रतिनिधि कामनी चौधरी सहभागी थिए।

दुई जना घाइते हुने गरी भएको घटनालाई प्रहरीले पनि होहल्ला मात्रै भएको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले दुई जना घाइते भएको जानकारी आएको बताए। हात हालाहाल र कुटाकुट भने नभएको उनले सुनाए।

रास्वपाको आन्तरिक झगडा विस्तारित हुँदै सार्वजनिक रूपमा छताछुल्ल भएको देखिएको छ। सरकारको नेतृत्व गरेको रास्वपाले प्रवेश गर्नेहरूलाई व्यवस्थापन गर्न नसक्दाको पहिलो खुला दृश्य बाराको विस्तारित बैठकमा देखिएको छ।

पार्टीभित्रको विवादलाई नेतृत्वले सामान्यीकरण गर्ने प्रयास गरे पनि बैठकमै नाराबाजी, धकेलाधकेल, घाइते हुने अवस्था र टिकट वितरणमाथि खुलेआम प्रश्न उठाइनुले सङ्गठनभित्रको असन्तुष्टि रहेको सङ्केत गरेको छ।

हरेक वडा–वडामा अधिवेशन गर्दै आएको रास्वपाभित्र स्थानीय तहको टिकटलाई लिएर पाखुरा सुर्कने, नपाए हातपातमै उत्रने अवस्थाले नेतृत्वमाथि थप चुनौती खडा गरेको छ। आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा टिकट आकाङ्क्षा, सङ्गठन विस्तार र पुराना–नयाँ समूहबीचको शक्ति सङ्घर्षलाई व्यवस्थापन गर्न नसके यस्ता विवाद थप चर्किने चिन्ता स्वयं पार्टीभित्र बढ्न थालेको छ।

समाचार शेयर गर्नुहोस्
73
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.