‘तेस्रोलिंगीलाई हास्य पात्र बनाउनु घटिया मानसिकताको उपज’

‘तेस्रोलिंगीलाई हास्य पात्र बनाउनु घटिया मानसिकताको उपज’

947
SHARES

काठमाडौं (पहिचान) कार्तिक १८ – चलचित्र निर्देशक प्रदिप भट्टराईले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा बिस्तारै सकारात्मक परिवर्तन आउन थालेको बताएका छन् । प्रकृतिले दिएको सृष्टिलाई सबैले स्वीकार गर्नु पर्ने उनको भनाइ छ ।
“सबैलाई भगवानले आआफ्नै नेचर, प्रवृत्ति र वनावट दिएको हुन्छ,” निर्देशक भट्टराईले भने, “म त मह जोडीको महाविद्यालयमा हुर्किएको भएकाले पनि होला म कतै नराम्रो देख्दै देख्दिन । हरि दाई र मदन दाईले सबै समान हो । सबैको समान अस्तित्व छ भनेर सिकाउनु भयो । त्यसैले कसैलाई म विभेदको नजरले हेर्दिन । मेरो नजरमा सबै समान छन् ।”
आफ्नै सन्तानलाई समलिंगी तेस्रोलिंगी भएको थाहा पाउने वित्तिकै घरबाट निकालिदिने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै उनले भने, “अस्पतालमा जन्मिने बित्तिकै देहत्याग गरेको बच्चालाई लिएर आमा बुवा कसरी रुन्छन् । त्यो हो आमाबुवाको सन्तानप्रतिको मायाँ । त्यस्तै माया यौनिक तथा लैंगिक अल्पसंख्यकले पनि पाउनु पर्छ,” निर्देशक भट्टराईले भने, “बनावट जस्तो सुकै होस । रहरले कोही समलिंगी तेस्रोलिंगी हुँदैन । ऊ ठूलो भएर परिवार, समाज र राज्यलाई हानी हुने खालको व्यवहार गर्नु हुँदैन, कुलतमा लाग्नु हुँदैन । यस्तो अवस्थामा फरक दृष्टिकोणले हेर्नु पर्ने कारण छैन ।”
हरेक मान्छेलाई आफ्नो इच्छा अनुसार बाच्ने अधिकार हुन्छ भन्दै भट्टराईले भने, “अहिले पश्चिमा देशमा पनि समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्ने विषयलाई लिएर बहस तथा छलफल भइरहेको छ । नेपालमा पनि यस विषयमा कुरा उठ्न थालेको छ । मलाई त यस विषयमा त्यती धेरै जानकारी छैन तर राम्रो भएकाले नै समलिंगी सम्बन्धलाई मान्यता दिइएको होला । त्यसैले यहाँ पनि समलिंगी विवाहलाई मान्यता दिदा केही फरक पर्छ जस्तो लाग्दैन ।”
नेपाली सिनेमामा हसाउने दृश्य देखाउनु पर्यो भने तेस्रोलिंगीलाई उभ्याउनु सस्तो विषय भएको उनको भनाइ छ । “दिमाग नै नलगाई हसाउने काइदा हो यो । कसैको अस्तित्वमाथी प्रश्न चिन्ह उठाउँदै उनीहरुको आत्मसम्मानमा चोट पुर्याउने गरी यसो गरेको पाइन्छ” उनले भने, “यो घटिया मानसिकता हो । यसो गर्नु हुँदैन । कसैको चरित्र हत्या हुनेगरि यस्तो गर्ने कार्य बन्द गर्नुपर्छ ।”

समाचार शेयर गर्नुहोस्
947
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.