आश्रय खोज्दै विदेशी समलिंगी तेस्रोलिंगी

आश्रय खोज्दै विदेशी समलिंगी तेस्रोलिंगी

काठमाडौं/पहिचान -‘म सधैं ठीकठाक देखिन त सक्छु तर यसको मतलब पीडा नहुनुचाहिँ होइन ।’ बंगलादेशी नागरिक राकिबुल हसन (राकिब)को केही साताअघिको यस फेसबुक ‘स्टाटस’ मा उनी कुनैखाले मानसिक पीडाबाट गुज्रँदै गरेको संकेत मिल्थ्र्यो । ‘फिलिङ स्याड’ को ‘ह्यासट्याग’ राखेर उक्त स्टाटस पोस्ट गरेकै बिहान काठमाडौंको चन्डोलमा भेटिंदा उनी भन्दै थिए, ‘पीडा नहुने को हुन्छ र ?’

नेपालमा शरणार्थी जीवन बितारहेका यी २३ वर्षेको पीडा अलि बेग्लै छ । तेस्रो लिंगी भएकै कारण उनी थातथलो छाडेर सुरक्षित आश्रयको खोजीमा भौंतारिइरहेका छन् । आठ महिनादेखि नेपालमा ‘शरणार्थी’ का रूपमा बसोवास गर्दै आएका उनी यहा“बाट कुनै विकसित देश जाने योजना बुनिरहेका छन् । अंग्रेजी भाषा कक्षामा उनको नियमित उपस्थितिको कारण पनि हो त्यो ।

‘नेपाल धेरै हिसाबले हाम्रा लागि सुरक्षित र सुन्दर मुलुक हो । बंगलादेशमा जस्तो खतरा छैन यहाँ,’ उनी भन्छन्, ‘एउटै अप्ठ्यारो सधैँ यहाँ बसिरहन सम्भव छैन । विकसित मुलुक जानैपर्छ ।’राकिब बंगलादेशको सानो गाउँ कुलाकाटामा जन्मे । १२ वर्षजतिको हुँदा उनको मनमा अलि बैग्लै लैंगिक अनुभूति आउन थाल्यो ।

उनी पुरुषप्रति पो आकर्षित हुन थाले । उमेर बढ्दै जाँदा त्यसखाले अनुभूति अझ बढ्न थालेपछि परिवारलाई नसुनाई सुख थिएन । कोही विश्वास गर्न तयार थिएन । जब उनी समलिंगी भएको खुल्यो, परिवारले मानसिक सन्तुलन गुमाएको शंका गर्न थाले । मुस्लिम समाजबाट कतिसम्म दबाब आयो भने उनलाई मस्जिद छिर्न रोक लगाउन थालियो ।

समुदायमा अवहेलना हुन थालेपछि परिवार चिन्तित भयो । पढाइ नरोकियोस् भनेर परिवारले उनलाई राजधानी ढाका पठायो । ढाका बस्दा परिवारले आर्थिक सहयोग नगरेको होइन । जेनतेन स्कुले पढाइ सकेर विश्वविद्यालय पढ्न खोज्दा उनले भर्ना पाएनन् । ‘केही विश्वबिद्यालय चहारें तर कसैले भर्ना लिएनन्,’ उनी भन्छन्, ‘पुरुष वा महिला विद्यार्थीलाई अप्ठेरो पर्न सक्छ भनेर मलाई पढ्नबाट वञ्चित गराइयो ।’

अवहेलना र तिरष्कारले निरास भएर एक रात ढाकास्थित पार्कमा एक्लै टहलिरहेका थिए । प्रहरीले ‘सेक्स वर्कर’ भएको शंकामा पक्राउ गर्‌यो । राकिबले आफू सेक्स वर्कर नभएको बारम्बार दोहोर्‌याए तर उनीहरूले सुनेनन् । ‘उल्टै ३/४ जनाको प्रहरी समूहले ममाथि जबर्जस्ती गर्‌यो,’ उनी भन्छन्, ‘प्रहरीले मलाई चुरोटले पोलिदिने र अरू यौनजन्य यातना दिए । बजारमा निस्किएर रिक्सा चढ्न खोजेँ । चढेपछि म तेस्रोलिंगी भएको चाल पाएर रिक्सावालाले पनि ओराल्यो ।’

राकिब फेसबुकमार्फत् एक पुरुष समलिंगीको सम्पर्कमा थिए । केहीपछि उनीहरू सँगै बस्न थाले । गोप्य बिहे गरे । करिब चार वर्षअघि ढाकामा केही समलिंगी तेस्रोलिंगीले लैंगिक पहिचानबारे जनचेतनामूलक अभियान थाल्दै थिए । विभिन्न सोसल साइटमार्फत गरिएका ती प्रयासमा उनी पनि जोडिए । ‘रुब्बान’ नामको एउटा म्यागेजिन प्रकाशित हुन्थ्यो, जसमा लैंगिक अल्पसंख्यकका समाचार सामग्री प्रकाशन हुन्थ्यो । फेसबुक र ट्विटरमा लेख्थे ।

m-rakhibत्यहाँका अतिवादी मुस्लिम समुदायका लागि यो कुरा पचेको थिएन । उनीहरूको अभियान जति सशक्त हुँदै आयो, त्यति नै अतिवादीहरूको दबाब र धम्की आउन थाल्यो । अभियन्ताहरू क्रमशः देश छाड्न थाले । ज्यान लुकाउनै मुस्किल थियो, क्यानाडा, अमेरिका, बेलायतलगायत मुलुक उड्न थाले । राकिबले पनि क्यानाडास्थित ‘रेन्बो रेलवे’ नामक संस्थालाई इमेलमार्फत् आफूले बंगलादेश छाड्न चाहेको बताउँदै उद्धार गर्न आग्रह गरे ।

तर, संस्थाले भन्यो, ‘रेफ्युजीको रूपमा आउनुपर्छ । त्यसका लागि अर्को देश जाऊ ।’ शरणार्थी बन्नकै लागि ११ मार्चमा उनी नेपाल ओर्लिए । नेपाल आउँदा सँगै थिए, अरू दुई समलिंगी बंगलादेशी आलम र दुर्जेय । त्यसको ठीक १४ दिनपछि अभियानका नेता जुलास मेनन र टोनी मजुमदारको हत्या भयो । हत्याको जिम्मेवारी ‘इस्लामिक स्टेट’ले लियो ।

तीनै जना बंगलादेशी समलिंगी युरोप वा अमेरिका पुनर्वासका लागि काठमाडौं बस्न थालेको आठ महिना भयो । शरणार्थीको रूपमा उनीहरू यतिबेला विकसित मुलुकका संस्थाहरूसँग सम्पर्कमा छन् । तर, नेपाललाई उनीहरू आफ्नो देशभन्दा सुरक्षित ठान्छन् ।राकिबका साथी आलम र दुर्जेय काठमाडौंमै अंग्रेजी भाषा सिक्दै छन् । उनीहरू सामाजिक सञ्जालहरूमा आफ्ना विचार व्यक्त गरिरहन्छन् ।

ट्विटरमार्फत् कहिले सहयोग माग्छन् त कहिले यौनिक अल्पसंख्यकबारे कार्यरत संस्थाहरूको खुलेर आलोचना गर्छन् ।राकिबचाहिँ नीलहिरा समाजका सदस्यहरूसँग नजिकिएका छन् । आम्दानीको नियमित र बलियो स्रोत नहुँदा उनीहरू नेपाली समलिंगी तेस्रोलिंगी साथीहरूका साथ सुरक्षित ठान्छन् । ‘बीडीएस (ब्लु डाइमन्ड सोसाइटी) का साथीहरूले खाना खान घरमा बोलाउँछन् । केही अप्ठेरो पर्दा सहयोग गर्छन्,’ राकिब भन्छन् ।

यी तीन बंगालीजस्तै अस्थायी आश्रयको लागि नेपाल आएका दुई पाकिस्तानी महिला समलिंगीको यात्रा पनि सहज छैन । तीन वर्षअघि पाकिस्तानी चार युवतीले यौनशोषण गरेको बताउँदै त्यहाँस्थित क्रिकेट संघका एक नेताविरुद्ध मुद्दा दायर गरे । अदालतमा मुद्दा दायर भएसँगै उनीहरू ती नेताको निशाना बन्न थाले । नेता राजनीतिक पहुँचवाला व्यक्ति थिए ।

चार युवतीमध्ये सन्नी र अरिज राष्ट्रिय स्तरका क्रिकेटर थिए । मुद्दापछि मुख्य तारो बने उनीहरू । नेताले बारम्बार आक्रमण प्रयास गरे । घरमा ढुंगामुढासमेत भयो । तीन वर्षपछि जब अदालतमा मुद्दा फेरि बहस हुने तरखरमा थियो, पीडित युवतीहरू नै छिन्नभिन्न भए । त्यसपछि सन्नी र अरिज काठमाडौं ओर्लिए । अहिले दुवै आफ्नै समुदायको नजरमा फरार छन् ।

नेपाल आउनु अघिसम्म आफ्नो लैंगिक पहिचान लुकाउन बाध्य थिए । उनीहरूलाई अदालतभन्दा बढी भय थियो, आफ्नै समुदायको । मुद्दा व्युँतिएपछि जसरी पनि समलिंगी भएको थाहा हुँदै थियो । जसका कारण समुदायबाटै आक्रमण हुने जोखिम देखेपछि उनीहरू नेपाल आएका थिए । यतिसम्म कि, आफ्नै परिवारबाट पनि उनीहरूलाई संरक्षण भएन । परिवारबाटै बहिस्कृत भएपछि देश छाड्न बाध्य हुनु परेको उनीहरू बताउँछन् ।

पाँचै युवा, युवती विभिन्न संस्थाको सहायतामा नेपाल भित्रिएका थिए । त्यसपछि उनीहरू विभिन्न संस्थासँग अर्को मुलुक पुनःस्थापनाका लागि आग्रह गर्दै आएका थिए । ‘रेन्बो रेलवे’, ‘¥याप’, ‘गो फन्ड’लगायत यौनिक अल्पसंख्यक तथा शरणार्थी क्षेत्रमा काम गर्दै आएका संस्थालाई बारम्बार सहयोगको अपिल गर्दै आएका छन् ।

यसबाहेक यौन अल्पसंख्यकको अधिकारका क्षेत्रमा कार्यरत साइरा थापा र इन्दिरा रानाले पनि उनीहरूलाई सघाउँदै आएका थिए । उनीहरूकै सहायतामा काठमाडौंमा सन्नी र अरिजको बसोबासको बन्दोबस्त सम्भव भयो । लैंगिक अल्पसंख्यकका लागि दक्षिण एसियाली मुलुकमध्ये नेपाल तुलनात्मक रूपमा अनुकूल मान्ने गर्छन् त्यस्ता संघसंस्थाले ।

‘एलजीबीटीआई’ (लेस्बियन–महिला समलिंगी, गे–पुरुष समलिंगी, बाईसेक्सुअल–द्विलिंगी, ट्रान्सजेन्डर,इन्टरसेक्स) समुदायका लागि पाकिस्तान, बंगलादेश र भारतभन्दा पनि नेपाल अनुकूल भएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । भन्छिन्, ‘विवाहको सन्दर्भमा केही कानुनी जटिलता त छ तर हाम्रो समाज यौनिक अल्पसंख्यकलाई गर्ने व्यवहारमा अरूभन्दा उदार हो ।’

15239339_1348723825147328_8430409_n

बंगलादेशी समलिंगीहरु राकिब, आलम र दुर्जय ।

पाकिस्तानी र बंगलादेशी पाँचै जना समलिंगी नील हिरा समाजको सम्पर्कमा थिए । युएनएचसीआरमा शरणार्थीको परिचय र नील हिरा समाजको शरण सँगसँगै लिएका थिए । खाने, बस्नेलगायत आधारभुत आवश्यकता नीलहिरा समाजले नै जोहो गरिदिएको थियो । गुरुङ भन्छिन्, ‘उनीहरू सबैलाई सुरुमा हामीले नै आश्रय दियौँ । धेरै समयसम्म हाम्रै साथीसँग बसे ।’

गुरुङका अनुसार केही स्वभावगत समस्याबाहेक नेपाली समलिंगी समुदायसँग उनीहरू नजिक भएर बसेका थिए । तर, विदेशी दातृ निकायमार्फत् सहयोग पाउने भएपछि काठमाडौंमै भाडामा बस्न थालेका छन् । यद्यपि, नेपाली समलिंगीहरूसँग नियमित भेटघाट गरिरहन्छन् । राकिबचाहिँ अझै नील हिरा समाजकै संरक्षणमा रहँदै आएका छन् । समाजकै केही सदस्यसँग उनी निकट छन् । भन्छन्, ‘उनीहरूसँगै आफ्नो दुःख सुख व्यक्त गर्छु । उनीहरू पनि आफ्नै परिवारजस्तो व्यवहार गर्छन् ।’

पाकिस्तान, बंगलादेशलगायत मुस्लिम प्रभावित मुलुक समलिंगी तेस्रोलिंगीका लागि प्रतिकूल मानिन्छन् । ती देशमा कानुनतः समलिंगी तेस्रोलिंगी समुदायलाई बिहे गर्ने वैधानिकता छैन । यद्यपि, समलिंगी तेस्रोलिंगी भित्रका केही चरित्रलाई विवाहको छुट छ । साथै, मुस्लिम धर्ममा अडिएका सामाजिक संरचना पनि उनीहरू प्रतिकूल छन् । सामान्यतः ‘हिज्रा’ समुदायलाई पाकिस्तान र बंगलादेशमा विवाहको मान्यता दिइएको छ ।

तर, महिला समलिंगी वा ‘सेम सेक्स’बीचको विवाहलाई मान्यता दिइँदैन । त्यसो त, यौनिक पहिचानबारे अधिकारकर्मीहरूलाई पनि खुल्लमखुल्ला आवाज उठाउन असहज छ । केही वर्षयता बंगलादेशमा यौनिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा जुलास र अन्य अभियन्ता सक्रिय थिए । यस्तो कुरा त्यहीँको मुस्लिम अतिवादीका लागि पाच्य थिएन । बंगलादेशको ‘बोन्धु’ र पाकिस्तानमा अरू केही यस्ता संस्था छन् । तर, तिनीहरू त्यहाँको सामाजिक कुरीति हटाउन सक्षम देखिँदैनन् ।

अति न्यून संख्यामा रहेका ती संस्थाले स्वतन्त्र रूपमा रहेका हिज्रा समुदायमा यौन स्वास्थ्यका क्षेत्रमा मात्रै काम गर्दै आएका छन् । नेपालको सन्दर्भमा करिब १० लाख समलिंगी रहेको विभिन्न संस्थाका अध्ययनले देखाएका छन् । त्यसमध्ये सबैले आफ्नो लैंगिक पहिचान सार्वजनिक गर्न सकेका छैनन् ।
यही क्षेत्रमा अधिकारको वकालत गर्दै सञ्चालित विभिन्न संस्थाले समय–समयमा जनचेतनामूलक काम गर्छन् ।

उनीहरूको लामो प्रयाससँगै नागरिकतामा लैंगिक पहिचान खुलाउन थालिएको छ । यसबाहेक नेपाली समाज यौनिक अल्पसंख्यकप्रति विस्तारै सकारात्मक देखिन थालेको यसका अभियन्ता स्वीकार्छन् । अभियन्ताहरूको भनाइमा नागरिकतामा पहिचान उल्लेख गर्ने सुविधापछि नै हो, लैंगिक परिचय खुलाउने क्रम बढेको ।

केही महिनाअघि एलजीबीटीप्रति सद्भावका लागि काठमाडौंमा र्‌याली भएको थियो । नयाँशक्ति नेपालकी नेतृ हिसिला यमी, अमेरिकी राजदूत एलाइना बी टेप्लिजलगायत सहभागी भएका थिए । अभियन्ता भूमिका श्रेष्ठ भन्छिन्, ‘यस्ता कार्यक्रमले पनि हाम्रो समाज केही उदार बन्दैछ भन्ने पुष्टि गर्छन् ।’

साभार : अन्नपूर्णपोष्ट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading