राप्रपा केन्द्रीय सदस्य हुँदै नेपालकै राजनीतिक नेतृत्व लिने मोनिकाको घोषणा

राप्रपा केन्द्रीय सदस्य हुँदै नेपालकै राजनीतिक नेतृत्व लिने मोनिकाको घोषणा

काठमाडौं (पहिचान) फागनु ६ – तेस्रोलिंगी मोनिका शाहीले राप्रपाको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेकी छन् । कैलालीको लम्कीचुवा नगरपालिकाको दुइ नंम्बर वडाबाट प्रतिस्पर्धा सुरु गरेर कैलाली क्षेत्र नम्बर दुइबाट महाधिवेसन प्रतिनिधि निर्विरोध निर्वाचित भएकी मोनिकाले आफू खुल्ला प्रतिस्पर्धाबाट राजनीतिमा स्थापित हुने लक्ष्यमा रहेको बताइन् । ‘गाउँ देखि लड्दै केन्द्रीय महाधिवेशनमा पुगियो, अब केन्द्रीय सदस्यमा यहाँ पनि निर्विरोध नै हुने अपेक्षा राखेकी छु,’ मोनिकाले भनिन्, ‘किन भने समलिंगी तेस्रोलिंगी समुदायबाट म एक्लै छु, त्यसैले म निर्वाचित हुन्छु त्यो पनि निर्विरोध भन्ने अपेक्षा हो ।’ उनले राजनीति आफ्नो लागि मात्र नभएको भन्दै समुदाय र देशको हितमा केही गर्न सकिन्छ भनेर राजनीतिमा लागेको बताइन् ।
‘म आफ्नो लागि मात्र राजनीति गर्न खोजेको हैन । समलिंगी तेसोलिंगीको आवाजलाई नीति निर्माण तहमा पुर्याउने मेरो लक्ष्य हो,’ शाहीले भनिन्, ‘केन्द्रीय सदस्य नभइ मन्त्री र सांसद् पनि हुन सकिदैन । मेरो लक्ष्य सांसद, मन्त्री नै बन्ने हो, त्यो भइसकेपछि सबैका हक स्थापित गर्दै समलिंगी तेस्रोलिंगीलाई मुलधारमा स्थापित गर्न सकिन्छ भन्ने नै हो ।’ उनले आफू समानुपातिकबाट भन्दा पनि खुल्ला प्रतिस्पर्धाबाट स्थापित हुन चाहेको बताइन ।
‘हाम्रो संस्थापक अध्यक्ष सुनिलबाबु पन्त समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो, उहाँकै मेहनतका कारण संविधानमा हाम्रो समुदायको अधिकार लेखियो,’ शाहीले भनिन्, ‘ म पुरुष र महिलासँग लडेर नै गाउँ देखि क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आइपुगेकी छु, म पनि समुदायको अधिकारका लागि लडिरहेको छु । त्यसैले कमल थापाले मनोनित गर्ने सांसद् नभएर म लडेर नै केन्द्रीय सदस्य र सांसद तथा मन्त्री हुन चाहन्छु ।’ उनले पन्तले त्यसवेला प्रप्त गरेको अवसर उपलब्धिपूर्ण भएको वताइन । मोनिकाले सबैलाई अब मुलधारमा हिडाउन र केही गर्न सक्छन् भनेर देखाउन खुल्ला प्रतिस्पर्धाबाट स्थापित हुनुपर्ने बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.