“असत्य माथि सत्यको जित भएको संकेत गर्दैछौ”

“असत्य माथि सत्यको जित भएको संकेत गर्दैछौ”

पिंकी गुरुङ/पहिचान – आज मलाई विश्वभरबाट पाल्नु भएका महामहिम राजदुतज्युहरु,माननीय महिला वालवालिका तथा समाज कल्याणमन्त्रीज्यू,राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य मोना अन्सारी ज्यू (जो आजका आयोजक पनि हुनुहुन्छ), नेपाल स्थित संयुक्त रास्ट्रसंघ र रास्ट्र संघीय संयन्त्रका आवासीय संयोजकज्यू , बिभिन्न संचार माध्यायमका प्रतिनिधिज्यू, बिभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरू, बिभिन्न सरकारी तथा गैर सरकारी अन्तराष्ट्रिय राष्ट्रिय संस्थावाट पाल्नु भएका बिशिस्ट महानुभाव तथा प्रतिनिधिज्यूहरु तथा मेरा प्यारा यौनिक तथा लैंगिक अल्पसंख्यक साथीहरु तथा उहाँहरुको परिवार सदस्यका अगाडी उभिएर बोल्न पाउदा निकै गौरब अनुभूति भैरहेको छ। र यहाँ उपस्थित सम्पूर्णलाई अभिवादन व्यक्त गर्न चाहन्छु।हो आज अन्तर्रा्ष्ट्रिय परिवारिक समानता दिवश समेतका अवसरमा हामि इन्द्रेणी परिवारसंग आजको विशेष पर्व मनाइरहेका छौ। यस दिन समलिंगी, तेस्रोलिंगी तथा द्दीलिंगी माथि हुने घृणा बिरुद्दको दिवश मनाउने दिन मात्र हैन यस दिनका अवसर पारेर हामि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुने घृणा र पूर्वाग्रहलाइ शुन्यको स्तरमा पुराउने एउटा संघर्सको दिनपनि हो । तसर्थ यस संघर्षमा साथ तथा सहयोग दिन आउनु भएका सम्पूर्ण महानुभावहरुलाई म पुनः धन्यवाद दिन चाहन्छु।
हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संघर्षको सुरुवात सब भन्दा पहिले आफु र आफ्नो घरपरिवारबाट हुन्छ ।

परिवारको माया अनि नैतिक, भावनात्मक, आर्थिक र भौतिक सहयोगको अभावमा लाखौ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जिन्दगि असहज र असामान्य बनेको छ । घरवार बिहिन भएका छन । शिक्षा,स्वास्थ्य र रोजगारको अभावले आफ्नो जीवनलाई नै बोझ सम्झी आत्महत्या गर्न बाध्य छन।यो काल्पनिक हैन यथार्थ हो।घर परिवारको सदस्यको माया,सहयोग र समर्थन अनि स्विकार्यताले हामि भित्र आत्मबल पैदा गर्दछ। सामाजिक पूर्वाग्रह बिरुद्द लड़नाका लागि आत्म बिश्वासी बनाउदछ। त्यसैले यस्तो अवस्था र वातावरणको सृजना गरि आफ्नो सन्तानलाई सहयोग र समर्थन गर्न र अन्य परिवारका सदस्यलाई चेतना जगाउन आउनु भएका सम्पूर्ण उपस्थित परिवार सदस्यलाई म पिंकी गुरुङ कोटीकोटी प्रणाम गर्दछु।
आदरणीय माहानुभावहरु
म स्मरण गर्न चाहन्छु र यहाहरुलाई भन्न चाहन्छु १७ बर्ष अघि निल हिरा समाज स्थापना हुनु अगाडिका दिनहरु जतिखेर हाम्रो अस्तित्व र पहिचान गुमनाम थिए। पारिवारिक, सामाजिक, सांस्कृतिक, पूर्वाग्रह, बहिस्कार र सकारात्मक कानुन र सहयोगका अभावका कारण हामी लुकेर बस्न बाध्य थियौ।हाम्रा मस्तिस्क र मनबाट उब्जिएका अमुल्य इच्छा र स्वतन्त्र चहनाहरुल्लाई आत्मा भित्रै दबाएर राख्नु पर्ने बाध्यता थियो। तर निल हिरा समाजको स्थापना संगै हामीले चालेका सामुदायिक संघर्ष,वकालत अनि तपाईहरुको साथ सहितको कानुनि लडाई पछी देशमा केहि सामाजिक र पहिचान सहितको संबैधानिक कानुनि परिवर्तन भएका छन। जुन एसिया तथा एसियाली महादिप मात्रामा नभई विश्वभरी चर्चा परिचर्चा हुने गरेका छन।यद्दपी समाजभित्र अझै पनि हामीमाथि हुने विभेदकारी ब्यबहार र पूर्वाग्रह कम गर्न गर्नु पर्ने कामहरु थुप्रै वांकी छन्।
यहाँहरु सबैको गरिमामय उपस्थिति संगै आज हामि सयुक्त राष्ट्रसंघको झण्डा र सुन्दर इन्द्रेणी झण्डा झन्ड़ोत्लन गर्दै असत्य माथि सत्यको जित भएको संकेत गर्दैछौ।
आदरणिय साथीहरु
आजको यस समलिंगी र तेश्रोलिंगी घृणा बिरुद्दको अन्तर्रा्ष्ट्रिय दिवशको दिनमा हजुरहरुको गरिमामय उपस्थिति एउटा उदाहण हो।अबका दिनहरुमा हाम्रा संघर्षको अभियानमा हामि एक्लो छैनौ।हामीले आफुलाई भाग्यमानी ठानेका छौ कि यहाहरु जस्तो बिज्ञ,विद्वान र प्रबुद्द व्यक्तिहरु हाम्रो साथ हुनुहुन्छ।त्यसैले यी सम्पूर्ण सहयोगी हातहरूलाई पनि म नमन गर्न चाहन्छु।यस्तै सकारात्मक प्रयास र सहयोगी हातहरुको आधारमा नेपाल यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री देश बन्ने छ। र नेपाल विश्वभरिका देश मध्ये यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको स्वर्गको देश बन्ने छ भन्ने अपेक्षा र विश्वासका साथ् यस मंचबाट बिदा हुन चाहन्छु।
उपस्थित सबै समुदायको साथीहरुलाई गर्वका साथ झन्ड़ोत्लनका लागि सहभागी हुन् आग्रह गर्न चाहन्छु।
धन्यवाद ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.