“हामी न आकाशबाट झरेका हौं, न धर्तीबाट पलाएका हौं, हामी पनि यही सृष्टिको संरचना हौं “

“हामी न आकाशबाट झरेका हौं, न धर्तीबाट पलाएका हौं, हामी पनि यही सृष्टिको संरचना हौं “

पुष्पा लामा/पहिचान – नवलपरासी जिल्लामा संकलन गरिएको तथ्याङ्क एवं सूचनाको आधारमा समलिंगी तेस्रोलिंगी ज्यादै नाजुक अवस्थामा छन । शिक्षाबाट वञ्चित, सामाजिक यातना, भेदभाव तथा लाञ्छनाको शिकारबाट अझै पनि हाम्रो समुदाय ग्रसित छ । हामी समलिंगी तेस्रोलिंगी साथीहरूलाई केवल मनोरञ्जनको पात्रको रुपमा मात्रै लिएको पाउँछौ ।

जवरजस्ती विवाह एवं आफ्नो स्वतन्त्र पूर्वका जीवन जिउन रोक लगाइन्छ । अभिभावकहरूले हाम्रो भावना बुझ्दैनन् । यो त केवल बानी व्यवहार वा रोगको संज्ञा दिइन्छ । सामाजिक क्रियाकलापमा बहिस्कार एवं सामाजिक क्षेत्रमा बन्देज लगाइन्छ । रोजगारीको अवसरबाट वञ्तिच छौ । आफ्नो जिविकोपार्जनको लागि नाँचगान तथा बधाई (विवाह एवं बालक जन्मेको स्थान) को लागि प्रयोग गरिन्छ ।

हामी पटक पटक मानसिक पीडा तथा यातनाको शिकार भएका छौं । आफ्नो लैंगिक पहिचानको आधारमा बाँच्नलाई घर, परिवार, समाज, इष्टमित्र, साथीभाई आदिले रोकेको छ । आफ्नो भावनालाई कुण्ठित पार्दै कतिपय साथीहरूले आत्महत्याको समेत प्रयास गर्ने गरेका छन् । पहिचानको आधारमा नागरिकता लिन जाँदा डाक्टरी सर्टिफिकेटको माग राखिन्छ । सर्वोच्च अदालतले इच्छाइएको नाममा नागरिकता लिन पाउने परमादेश जारी गरिसकेको अवस्थामा नागरिकताबाट वञ्चित छौं ।

विभिन्न अवसरहरू जो राज्यले प्रदान गरेको छ त्यसको उपभोग गर्न पाइरहेका छैनौ । रोजगारीको लागि आवेदन केवल महिला एवं पुरुषको लागि छुटइएको हुन्छ । हामी यौनिक तथा लैंगिक अल्पसख्यकलाई अप्राकृतिकको संज्ञा दिइन्छ । हाम्रो मन भावना इच्छा आकाक्षा एवं जीवनयापन प्रकृयामा पटक–पटक बलात्कार भएको छ । विशेषत शिक्षाको पहुच एवं चेतना स्तरको कमीका कारण विभिन्न समस्याहरू भोग्दै आइरहेका छौं ।
सामाजिक परिचालक एवं सामुदायिक कार्यकर्ताद्वारा संकलित तथ्याङ्कको आधारमा यस नवलपरासी जिल्लामा २५ सय भन्दा बढी हाम्रो सम्पर्कमा रहँदै आएको छ । तथ्याङ्क जती नै भएतापनि यसलाई राष्ट्रिय करण गर्न नसकेको अवस्था छ । समलिंगी तेस्रोलिंगीको आवाज सम्बन्धित निकायमा राख्न कुनै पनि क्षेत्रबाट चासो दिएको पाइदैन । त्यसलाई मध्यनजर गर्दै नवलपरासी जिल्लाका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूको संवैधानिक तथा कानुनी अधिकार, मानव अधिकार, हेरचाह तथा स्याहार एवं एचआइभी संक्रमणलाई न्युनिकरण गर्नको लागि नील हिरा समाजको स्थापना गरेर काम सुरु गरेका छौं ।

सन २००९ देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर समलिंगी तेस्रोलिंगी प्रति हुने घृणा, लाञ्छना तथा भेदभाव जस्ता सामाजिक विभेदका लागि वकालत समेत गर्दै आइरहेको छ ।
जिल्लाको नवलपुर क्षेत्रसहित परासीको अमरौट, बंझरिया, पण्डितपुर, सुनवल र महेशपुर सिमानासम्म कार्यक्षेत्र बनाएर संस्थाले काम गर्दै आएपछि केही चेतनामा वृद्धि भएको पाइएको छ । विशेषगरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरू पहिचान एवं आत्म सम्मान सहित जीवनयापन गर्दै समान सहभागिता एवं अवसर प्राप्त गर्न सकुन भनेर कार्यक्रमहरु सञ्चालन गरिएको छ । यसले सामाजिक न्याय तथा अधिकारमा पहुँच, सुरक्षित यौन व्यवहार तथा समुदायमा आधारित प्रशिक्षण कार्यक्रममा पहुँच, क्षमता अभिवृद्धि एवं नेतृत्व विकासमा टेवा मिलेको छ । संस्थाले सञ्चालन गरेका कार्यक्रम मात्र प्रयाप्त छैनन् ।

समग्रमा नवलपरासीमा रहेका सम्पूर्ण व्यक्तित्वहरूले एकपटक हामी समलिंगी तेस्रोलिंगीको बारेमा बुझनै पर्ने हुन्छ र सहयोग गर्नुपर्ने आवश्यक छ । प्रत्येक अभिभावकले आफ्नो सन्तान समलिंगी तेस्रोलिंगी वा अन्तरलिंगी भएतापनि हाम्रो भावना एवं मर्मलाई बुझेर स्वीकार गर्नुपर्छ । हामी पनि यही सृष्टिको संरचना हौ ।

हामी न आकाशबाट झरेका हौं, न जीवन (धर्ती) बाट पलाएका हौं । हामीलाई जन्म दिने बाबु–आमा पनि विपरितलिंगी नै हुन । संसारमा सृष्टि अनि प्रकृतिभन्दा कोही ठूलो छैन । हाम्रो अस्तित्व पनि यही सृष्टिले सृजना गरेको हो । प्रकृतिले हामीलाई अलग बनाए तापनि हामी कसैबाट अलग छैनौ । अलग छ त केवल सोंच, दृष्टिकोण अनि व्यवहारबाट ।

यी सब कुरालाई बुझेर हामीलाई पनि यस समाजमा स्थापित हुने मौका दिनुहोस् । हामी पनि सामाजिक प्राणी हौ । समाजभन्दा हामी बाहिरको कुरा कल्पना पनि गर्न सक्दैनौ । एउटा सभ्य समाज अनि समृद्ध राष्ट्र निर्माणमा पनि हाम्रो योगदान रहँदै आएको छ । यसलाई सबैले मनन् गर्न जरुरी छ ।

(पुष्पा लामा नील हिरा समाज नवलपरासीको जिल्ला परियोजना संयोजक हुन भने लामाको यो लेख २०७४ जेठ ९ गतेको अंकमा प्रकाशित परासी पत्र साप्ताहिकबाट साभार गरिएको हो । )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.