प्रहरी वृत्त दरवारमार्गमा तेस्रोलिंगीको प्रदर्शन, कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग

प्रहरी वृत्त दरवारमार्गमा तेस्रोलिंगीको प्रदर्शन, कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग

काठमाडौं (पहिचान) जेठ १६ – समलिंगी तेस्रोलिंगीले महानगरिय प्रहरी वृत्त दरवारमार्गमा प्रदर्शन गरेका छन् । कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै दिउँसो समलिंगी तेस्रोलिंगीले प्रहरी वृत्तमा प्रदर्शन गरेका हुन् ।

सडकमा हिडडुल गर्दा पक्राउ परेका आफ्ना साथी छुटाउन हारगुहार गर्न पुग्ने समलिंगी तेस्रोलिंगीले आज आफ्ना साथीलाई कुटपिट गर्ने प्रहरी माथि कारवाहीको माग गर्दै नारावाजी सहित प्रदर्शन गरे । घटना गएराती लाजिम्पाटमा दुई जना तेस्रोलिंगी अनिता साप्कोटा र डायना खड्काको हो । ‘हामी साथीको कोठामा खाना खाएर आफ्नो कोठामा फर्कर्दै थियौ पीडित तेस्रोलिंगीले भने, हामीलाई एक्कासी गाली गलौज गरेर कुटपिट भयो ।’

कुटपिट भएपछि रातीनै प्रहरी विट घेराउ गरेका उनीहरुलाई प्रहरी वृत्त दरवारमार्गले अनुशन्धान गरेर दोषीलाई कारवाही गर्ने आश्वासन दिदै आज दरवारमार्ग आउन भनेको पीडितले वताए । उनीहरु दरवारमार्ग वृत्तको आश्वासनका साथ दरवारमार्ग पुगे, तर प्रहरीले मिलापत्र गराउन लागेको भन्दै उनीहरुले नारावाजी सहित प्रहरी नायव उपरीक्षक डिएसपी कृष्णबहादुर पल्ली मगरको कार्यकक्षमै पुगेर कारवाही गर्न माग गरे । उनीहरुले आक्रोसित हुँदै भने, “के समलिंगी तेस्रोलिंगीले न्याय पाउँदैनौ ?” उनीहरुले पटक पटक मगरको कार्यकक्षमै पुगेर लगातार नारावाजी गरिरहे ।

कुटपिट गरेको आरोप लागेका प्रहरी विट लाजिम्पाटका प्रहरी सहायक निरीक्षक सागर थापाले आफूबाट गल्ती भएको भए माफी माग्ने वताए । “हामीलाई विनाकारण पक्राउ गरेर ल्याइन्छ, सार्वजनिक अपराधमा मुद्धा चलाइन्छ त्यो हामीले भोग्दै आएका छौ समलिंगी तेस्रोलिंगीले होहल्लाकाबीच डिएसपी मगरलाई भने, के प्रहरीले गल्ती गर्दा कारवाही हुँदैन ? ” झण्डै दुई घण्टा समलिंगी तेस्रोलिंगीले दरवारमार्ग प्रहरी वृत्तमा नारावाजी सहित प्रदर्शन गर्दा अवस्था तनावपूर्ण भएको थियो ।

दुईघण्टाको रस्साकस्सी पछि नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ सहितका समलिंगी तेस्रोलिंगीलाई डिएसपी मगरले कारवाहीको निवेदन दिन आग्रह गरे र दोषी देखिए कारवाहीको प्रक्रिया थाल्ने प्रतिवद्धता जनाए । समाजकी अध्यक्ष गुरुङले आफ्नो समुदायलाई विना कारण कुटपिट गर्नेलाई कारवाही गर्नु पर्ने माग गरिन् । ” गल्ती गर्नेलाई कारवाही होस, निर्दोषले अन्याय भोगिरहनु नपरोस अध्यक्ष गुरुङले भनिन्, पटक पटकको गुनासो आएपछि अति भएर कारवाहीको माग गर्दै यहाँ आउनु परेको हो ।”

उनले कानुन विपरितका काम गर्नेलाई उन्मुक्ती दिन नहुने वताइन । डिएसपी मगरले कानुन विपरित गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै तेस्रोलिंगी माथि कुटपिट गर्नेलाई कारवाहीको दायरमा ल्याउने प्रतिवद्धता जनाए । यो प्रतिवद्धता पछि नील हिरा समाजको पहलमा पीडित तेस्रोलिंगी अनिता साप्कोटा र डायना खड्काले राष्ट्रिय मानवअधिकार आयोग र प्रहरी आयुक्तको कार्यालयलाई बोधार्थ दिएर महानगरिय प्रहरी वृत्त दरवारमार्गमा उजुरी दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.