समलिंगी र तेस्रोलिंगीहरू सांस्कृतिक क्षेत्रमा अब्बल

समलिंगी र तेस्रोलिंगीहरू सांस्कृतिक क्षेत्रमा अब्बल

पिंकी गुरुङ/पहिचान – नील हिरा समाजले सन् २००१ देखि नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको यौन स्वास्थ्य प्रवर्दन र मानव अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ । यसै अनुसार ग्लोबल फन्ड अन्तर्गत सेभ द चिल्ड्रेन र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको आर्थिक सहयोगमा नील हिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रथम सांस्कृतिक नृत्य प्रतियोगिता गरिरहेका छौ ।

आदरणीय महानुभावहरु तपाईको सहयोग र साथका आधारमा नील हिरा समाजले गरेको अथक संघर्स पश्चात नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संबैधानिक अधिकार प्राप्त गर्यो । अन्य कानुनहरु बन्ने प्रक्रियामा छन् । पारिवारिक र सामाजिक स्वीकार्यता बढ्दो छ । तर पनि यो पर्याप्त भने छैन ।
हामी समलिंगी र तेस्रोलिंगीहरू सांस्कृतिक क्षेत्रमा अब्बल छौ । सदियौं देखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरिक र संग्लग्न हुँदै सांस्कृतिक रुपमा टेवा पुराउदै आएका छौ । नेपालको चर्चित मारुनी, सिन्गारु, रत्यौली नाच मात्र हैन । बर्दियाको हुर्दुन्वा र कपिलबस्तुको पचगुइयिया नाच किन नहोस नेपालको हरेक संस्कृतिसंग हामी समलिंगी र तेस्रोलिंगी जोडिएका छौ । नेपालको संस्कृति मात्र होइन हामि नेपालको धर्मसंग पनि जोडिएका छौ । महाभारतको श्रीखंडी र ब्रिहनल्ला, महादेवको अर्ध नारेश्वर र नाटेश्वरी र विष्णु भगवानको मोहिनी रुप र रामायणमा उल्लेखित किन्नर र तृतीय प्रकृतिका स्वरुप पनि हाम्रै प्रतिक हुन् । हरिहर भन्ने शब्द आफैमा बिष्णु हरि र महादेव हरको संयोजित शब्द हो।भगवान बिष्णु र महादेवको सम्भोगबाट हरिहर पुत्रको जन्म भएको भन्ने कथा हिन्दु ग्रन्थमा पाईन्छ ।

त्यस्तै सुर्य र सुर्यको सारथिको बिचको सम्बन्धबाट बलि र सुग्रिवको जन्म भएको भन्ने कथा सुन्न पाइन्छ । नेपालको महत्वपूर्ण चाड गाईजात्रामा पुरषलाई पनि गाइ बनाइन्छ । अनि मित र मितिनी लाउने चलन पनि नेपालकै हो । नेपालको यी सम्पूर्ण धर्म, संस्कृति र परम्परामा तेस्रोलिंगी र समलिंगीलाई उल्लेख गरेता पनि नेपालको सामजिक र सांस्कृतिक क्षेत्रमा हामीलाई बहिस्कार गरेको पाइन्छ । कला,चलचित्र,सामाजिक र सांस्कृतिक क्षेत्रमा उपहास र हासोको पात्र बनाइन्छ । यसैका कारण आज हामी अरुबाट उपेक्षित र बहिस्कृत भएका छौ ।
नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संबैधानिक र कानुनी व्यवस्था परिवर्तन संगै सामाजिक र सांस्कृतिक अवस्था परिवर्तनका लागि हामीले यस कार्यक्रमको आयोजना गरेका हौ।सांस्कृतिक संलग्नता र मान्यता संगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृदी गरि सामाजिक अन्तरघुलन कायम गरि सामाजिक र सांस्कृतिक अधिकार दिलाउने हाम्रो अभियान हो।

यस महान अभियानका प्रतियोगी साथीहरुलाई उच्च सम्मानका साथ् हार्दिक बधाई तथा बिजयको शुभकामना र उपस्थित सबैमा आभार व्यक्त गर्दै सृष्टिका हरेक सृजनाले आफ्नै महत्व बोकेको हुन्छ । संसारलाई आफ्नै किशिमको योगदान दिएको हुन्छ । हामी समलिंगी र तेस्रोलिंगी पनि यहि सृष्टिका सृजना हौ । हाम्रो पनि आफ्नै महत्व छ । संसारलाई आफनै किसिमको योगदान दिईरहेका छौ । त्यसैले आउनुहोस हामीलाई माया गर्नुहोस, स्वीकार्नुहोस र संसारलाई थप योगदान दिन प्रेरित गरिरह्नुस भन्ने अनुरोधका साथ यस मंचबाट बिदा हुन चाहन्छु । धन्यवाद ।
( गुरुङले यो धारणा पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य कार्यक्रममा व्यक्त गरेकी हुन् )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.