एयर होस्टेजका लागि एप्लाई गरेको अयोग्य भए ….

एयर होस्टेजका लागि एप्लाई गरेको अयोग्य भए ….

काठमाडौं (पहिचान) पुस १ – “म तेस्रोलिंगी भएकै कारण एयर होस्टेज बन्न सकिन, म अहिले आफ्नै रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेको छु ।” तेस्रोलिंगी मोडल मेघना लामाले आफ्नो जीवनमा आधारित रहेर बनाइएको बृत्तचित्र पिंक टिफानीमा एयर होस्टेज बन्ने सपना चकनाचुर भएको तितो अनुभव मात्रै सुनाइनन् उनले आफ्नो सपनाको राजकुमार हेलिकप्टर चडेर आफूलाई भेट्न आउने आशा रहेको वताइन ।

पार्वत लामा र लक्ष्मी लामाको कान्छो छोराका रुपमा जन्मेका मेघनालाई नील हिरा समाजले सन् २०१० मा गरेको मिस पिंक प्रतियोगिताको ताज पहिरिएसँगै स्वीकार्न थालेको हो । पार्वत र लक्ष्मीका दुई सन्तान मध्ये कान्छो छोराका रुपमा जन्मेका मेघना सानै देखि महिला बन्न रुचाउँथे । एसएलसीसम्मको अध्ययन पछि मेघना महिलाकै रुपमा प्रस्तुत हुन थालिन । वृत्तचित्रमा मेघनाको सिंगार पटारलाई धेरै देखाइएको छ । यसलाई उनले यो आफ्नो पहिलो बृत्तचित्र भएको भन्दै जीवन संघर्षका थुप्रै वृत्तचित्रको चाङ लाग्ने प्रतिक्रिया दिइन ।

वृत्तचित्रमा परिवारका रुपमा आमालाई धेरै देखाइएको छ । बुबाले पछि मात्रै स्वीकारेको वताएका छन् । जेठो छोरा १९ बर्षको अल्पायुमै निधन भएकाले पार्वत र लक्ष्मीको एउटै मात्रै सहारा मेघना नै हुन् । मेघनाकी आमा लक्ष्मीले आफ्नो भन्दा पनि बुढेशकालमा के हुन्छ भनेर मेघनाकै चिन्ता व्यक्त गरेकी छन् ।

नेपालकी पहिलो तेस्रोलिंगी रेष्टुरेन्ट व्यवसायी मेघनालाई परिवारले पुलिसमा भर्ना गरेर इन्सपेक्टर बनाउन चाहन्थ्यो, वृत्तचित्र प्रदर्शनपछि पहिचानसँग कुरागर्दै मेघनाका बुबा पार्वतले पुलिसमा भर्ना गरेर इन्सपेक्टर वनाउने चाहना रहेको सुनाए । उनले परिवारको चाहनामा भन्दा पनि व्यक्ति स्वयंको चाहनालाई सबैले वुझ्नु पर्ने वताए । “जेठो छोरोको निधन भयो, भएको यो एउटा हो पार्वतले भने, अहिले उसलाई छोरो र छोरी दुवै हो भनेर हामीले स्वीकार गरेका छौ ।”

 

१५ औ अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएको लामाको ४० मिनेट अवधीको वृत्तिचित्रमा तेस्रोलिंगी पनि महिला पुरुष सरह केही गर्न सक्छन भन्ने सन्देश दिन खोजिएको छ । नायिका निशा अधिकारले संसारलाई कसरी जीवन जीउनु पर्छ भनेर पिंक टिफानीले सन्देश दिएको प्रतिक्रिया दिइन । उनले मेघनाको खुशीमा कसैको नजर नलागोस भनेर शुभकामना पनि दिइन ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले मेघनालाई बधाई दिदै मेघनाको परिवार जस्तै सबै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका परिवारले आफ्ना सन्तानलाई स्वीकार गर्नु पर्ने वताइन । “परिवारले मात्रै स्वीकारे जीवन सार्थक हुन्छ ढकालले भनिन् सबैका परिवार मेघनाका जस्तै सकारात्मक सोच राख्ने हुन् ।” उनले समलिंगी तेस्रोलिंगीलाई हाँसोको पात्रका रुपमा मात्रै चलचित्रको पर्दामा नउतार्न सुझाव दिइन । मेघनालाई समाजकी अध्यक्ष पिंकी गुरुङले सफलताको शुभकामनासँगै बधाई दिइन ।

नेपालमा भएको पहिलो मिस्टर गे ह्याण्डसमका उपाधी विजेता विश्वराज अधिकारीले मेघनाको साथमा आफूहरु जस्ता धेरै समलिंगी तेस्रोलिंगी रहेको भन्दै बुढेशकालको चिन्ता नलिन मेघनाको परिवारलाई आग्रह गरे । अधिकारीले बृत्तचित्र राम्रो बनेको भन्दै सबैले सहयोगको भावना राख्न सक्नु पर्ने वताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि क्रियाशिल संजय शर्मा, जोस्मा केसी, चन्द्र गुरुङ, सहारा केसी, मुस्कान केसी, शिला सिंह ठकुरी, खुश्बु लगायतले जनचेतना मुलक बृत्तचित्र बनेको भन्दै मेघनालाई बधाई दिए । उनीहरुले समुदायका सदस्य पनि नेपालका लागि रोल मोडल बन्न सक्ने विश्वास व्यक्त गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.