९५ प्रतिशत भन्दा बढी समलिंगी विपरितलिंगीसँग विवाह गर्न बाध्य : अध्यक्ष गुरुङ

९५ प्रतिशत भन्दा बढी समलिंगी विपरितलिंगीसँग विवाह गर्न बाध्य : अध्यक्ष गुरुङ

edf

काठमाडौं (पहिचान) पुस ११ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सामाजिक रुपमा स्थापित गराउन नसक्दा थुप्रै समलिंगीहरु लुकेर बस्न बाध्य भएको वताएकी छन् । महिला र पुरुषको परिधी भित्र मात्र रमाउने समाजले समलिंगी समुदायलाई सामाजिक रुपमा स्थापित गर्न नसक्दा थुप्रै समलिंगीहरु लुकेर बस्न बाध्य भएका गुरुङको भनाई छ ।

मिष्टर गे हेन्डसम प्रतियोगितामा सम्बोधन गर्दै अध्यक्ष गुरुङले ९५ प्रतिशत भन्दा बढी समलिंगी विपरितलिंगीसँग विवाह गरि बस्दै आएको दावी समेत गरिन । उनले समलिंगी र तेस्रोलिंगी समुदायहरु पारिवारिक दबाब र कानुनी अभावका कारण जबरजस्ती विपरितलिंगीसँग विवाह गरेर बस्न बाध्य भएको वताइन ।

“हाम्रा स्वतन्त्रताका अधिकारहरु कहाँ गए ? किन हामीले सामाजिक मान्यता र अभावका कारण जीवनभर मरेर बाँच्नुपर्ने ? अध्यक्ष गुरुङले प्रश्न गरिन, के हाम्रा इच्छा, चाहना, आकार्षण र प्रकृतिको कुनै मुल्य छैन ? किन नेपालको कानुन अष्ट्रेलिया, नर्वे, साउथ अफ्रिका र नेदरल्याण्ड जस्तो बन्न सक्दैन ?” उनले अधिकार पाउन अर्कौ जन्मको प्रतिक्षा गर्नु पर्ने हो भनेर समेत प्रश्न गरिन ।

“म हरेक रात आफ्नो समुदायको अधिकार प्राप्तिको सपना देखिरहेको हुन्छु उनले भनिन्, किनभने मेरा समुदायहरु अन्यायमा रोइरहेको देखेकी छुँ ।” उनले पारिवारिक विवाह दवावका कारण थुप्रै समलिंगीहरु विदेशिएको वताइन ।

“जवरजस्ती विपरितलिंगीसँगको विवाहपछि थुप्रै शारीरिक र मानसिक यातना भोगिरहनु परेको छ, सम्बन्ध र पैतृक सम्पत्तीको अधिकारबाट बेदखल हुनुहुपर्दा थुप्रै समुदायका साथीहरुले गरेका आत्महत्याका दृष्यहरु अझै पनि मेरा आँखावरिपरि घुमिरहन्छन् अध्यक्ष गुरुङले भनिन्, आफ्ना सुन्दर जीवन र अमुल्य इच्छाचाहना र प्राकृतिक आकर्षणलाई सामाजिक र कानुनी मान्यताको अभावसँगै दागवत्ती दिनुपर्ने बाध्यता छ । फलस्वरुप हाम्रो सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक जीवनमा प्रगति हुन सकेको छैन । समुदायको अवस्था फेरिन थुप्रै बाँकी छ । सदयौदेखि बहिष्कृत समाजले गरेको नकारात्मक असरले अझै हामीलाई माथि उठ्न दिएको छैन ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.