इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) माघ १९ – नेपाल व्यूटिसियन संघ मकवानपुरकी अध्यक्ष अरुणा सिहंले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई रोजगारी दिन आफू तयार रहेको बताएकी छन् । तर यसका लागि उनीहरु स्वयम आफ्नो पहिचान खुलाएर आउनुपर्ने उनको भनाइ छ ।
“जव उनीहरु छाती ठोकेर म यो हो भनेर आफ्नो पहिचान सहित खुलेर आइसकेपछि हामी उनीहरुलाई स्वीकार्न बाध्य हुन्छौं,” उनले भनिन्, “हामी को हौं उनीहरुको विरोधमा उत्रने ? उनीहरुले आफूलाइ स्विकारेका छन् भने हामीले मात्र उनीहरुलाई सहयोग गर्ने र त्यही हिसाबले सकिन्छ भने उनीहरुको योग्यताको आधारमा अवसर दिनुपर्छ ।”
उनले आफ्नो महिन्द्रा एण्ड महिन्द्रा हिडम्बा अटो पाट्र्सको व्यवसाय रहेको भन्दै त्यसमा २/३ जना इच्छुक समलिंगी तेस्रोलिंगीलाई कामका आधारमा रोजगार दिने प्रतिवद्दता जनाइन् ।
अध्यक्ष अरुणा सिहंले तेस्रोलिंगीहरुलाइ पार्लर खोलेर बस्न पनि आग्रह गरेकी छन् । “तेस्रोलिंगिहरुसँग महिला र पुरुष दुबैको गुण हुने भएकोले महिलाले खोलेको पार्लरभन्दा उनीहरुले खोलेको पार्लर बढी चल्छ,” उनले भनिन् ।
राज्यको सबै निकायमा महिला पुरुषलाइ झै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुलाइ बराबरी अधिकार दिनु पर्ने सिहंको भनाइ छ ।
“आफ्नो पहिचान सहित स्वयम खुलेर आइसकेका यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका सदस्यहरुलाइ अन्य महिला पुरुप सरह काम गरेर खाने वातावरण सृजना गरिदिनु पर्छ,” उनले भनिन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.