पुरुष नै यौन हिंसामा परेको भनेपछि …..(भिडियो सहित)

पुरुष नै यौन हिंसामा परेको भनेपछि …..(भिडियो सहित)

काठमाडौं /पहिचान – पुरुषबाट महिलामाथि यौन हिंसा हुने गरेको त सुनैको हो । पुरुषबाट पुरुष नै यौन हिंसामा पर्ने गरेको पनि नसुनेको भने होइन । पुरुषबाट महिलामाथि हिंसा हुने गरेको नेपालमै सुने पनि पुरुषबाट पुरुषलाई नै यौन हिंसा हुने गरेको चाहि नेपालमा त्यती साह्रो सुनिदैन, त्यसमा पनि उजुरी नै परेको घटना भने सायदै होला सुनिएको ।

तर ललितपुरमा यस्तै घटना भएको छ । ललितपुर लेलेका एक पुरुषले आफू माथि आफू जस्तै अर्का पुरुषले बलात्कारको प्रयास गरेको भन्दै कारवाही गर्न उजुरी दर्ता गराएका छन् ।

लेले स्वास्थ्य चौकीका एचए दीपेन्द्र साहले आफू माथि यौन हिंसा गरेको उजुरी गरेपछि स्वास्थ्य मन्त्रालयले साहलाई कारवाही स्वरुप सरुवा नै गरेको छ । साहलाई कारवाही गरेपछि उनको निर्देशनमा अरु पुरुषलेसमेत आफू माथि यौन हिंसा गरेको भन्दै लेलेका जीवन सिलवाल यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजदेखि राष्ट्रिय मानवअधिकार आयोगसम्म पुगेका छन् ।

सर्वोच्च अदालत पुगेपछि उनले समलिंगी तेस्रोलिंगी अन्तरलिंगीको अधिकारबारे काम गर्ने नील हिरा समाज छ भन्ने सुनेर उजुरी गर्न आएको वताएको समाजका अधिकारकर्मी भक्ति शाहले जानकारी दिए । पुरुषले महिलामाथि गर्ने हिंसाको मात्रै उजुरी पर्ने गरेकोमा एक पुरुषले अर्को पुरुषमाथि यौन हिंसा भयो भनेर उजुरी पर्नुलाई अचम्मका रुपमा हेरिएको छ ।

के यो अचम्म नै हो त ?

नेपालमा पनि समलिंगी महिला र समलिंगी पुरुष छन् । महिलाले महिलासँगै र पुरुषले पुरुषसँगै यौन सम्पर्क गर्छन् । उनीहरु यौन सम्पर्क मात्रै होइन लिभिङ टुगेदरमा जीवन साथी नै बनेर बसेका छन् । नेपालमा समलिंगी विवाहले बैधानिकता नपाउँदा उनीहरु लिभिङ टुगेदरको रुपमा बसेका हुन् । उनीहरु भन्ने गर्छन्, “हामी पनि महिला पुरुष सरह विवाह गरेर बैधानिक रुपमा बस्न चाहन्छौं, हाम्रो विवाहलाई बैधानिकता दिन कानुन बनाइदेउ ।”

उनीहरु बीचमा पनि यौन हिंसा भयो भन्ने नसुनिएका होइनन् तर उनीहरुले उजुरी नै भने गरेका छैनन् । पुरुषले पुरुषलाई र महिलाले महिलालाई उसको इच्छा विपरित (महिलासँग पुरुषले जस्तै) शारीरिक सम्पर्क राख्नु यौन हिंसा हो । त्यसैले ललितपुरका जीवन सिलवालको उजुरीलाई अचम्म मान्नु पर्दैन ।

के भयो सिलवाललाई ?

ललितपुर लेलेका स्थायी बासिन्दा सिलवाल उपचारका लागि जनस्वास्थ्य कार्यालय लेले पुगे । एचए दीपेन्द्र साहलाई देखाउन टिकट काटे र साहलाई आफ्नो समस्या वताए । साहले सिलवाललाई ‘तपाईमा त्यस्तो समस्या छैन, के तपाई धेरै चिन्ता लिनुहुन्छ हो’ भनेर सोधे ।

सिलवालले भने, “मैले त्यस्तो त लिदिन भनें । साहले धेरै कुरा सोधे मैले जवाफ दिदै गएँ । साहले फेरी सोधे, के तपाई तेस्रोलिंगी हो ? मैले होइन भने । साहले मलाई त हो जस्तो लाग्छ भने । मैले तपाईलाई लागेर हुन्छ म होइन भनेँ । त्यसपछि उसले मलाई एकछिन बेडमा सुत्नु भन्यो । म बेडमा सुतेपछि साहले मलाई जवरजस्ती गर्न थालेपछि मैले उसलाई पछारेर भागेर आएँ । त्यसपछि मैले साह विरुद्ध प्रहरी चौकीमा उजुरी दिएँ । उसले मलाई मात्रै होइन बच्चाहरुलाई जवरजस्ती गर्ने गरेको प्रहरीमा उजुरी दिए पछि खुलासा भयो । त्यसपछि हामीले साहलाई कारवाही गरियोस भनेर स्वास्थ्य मन्त्रालय गयौं र कारवाहीको माग गर्यौं । हाम्रो मागअनुसार साहलाई सरुवा गरेर कारवाही पनि भयो ।”

आफूलाई कसरी चिनाउछन् सिलवाल ?

म पेशाले भेटनरी भए पनि आफूलाई सामाजिक सेवक पनि भन्छु । किनकी म कसैले कसै माथि केही दुरव्यवहार गरेको देख्न सक्दिन र त्यसलाई निर्मुल पार्नु नै आफ्नो कर्तव्य ठान्छु । जनवरी २८ का दिन म त्यही लेले स्वास्थ्यचौकी गएको थिएँ । आफ्नो उपचार गर्नका लागि तर त्यहाँ उपचार गर्ने कोही पनि थिएनन र म फर्किएँ । मैले केही बच्चाहरुलाई आफ्नो खर्चमा पढाउँदै आएको छु । म यौनिक अल्पसंख्यक भित्र पर्दिन । मेरो परिवारमा कोही छैन । म एक्लो छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.