फरक लिंगीका फरक कहानी

फरक लिंगीका फरक कहानी

 

फरक लिंगीका फरक कहानी

नितु घले/पहिचान – तेस्रोलिंगीको नाममा नागरिकता दिन थालिएको छ। तर अनेक लाञ्छनाको कारण तेस्रोलिंगीहरू समाजमा अझै पनि खुल्न चाहँदैनन्। त्यसैले, तिनका प्रेमकथाहरू गुपचुप हुन्छ। मिस पिंक २०१६ एनी लामा र दिपेशसिंह भण्डारीले भने आफ्नो पे्रम सार्वजनिक गर्दै आएका छन्। तीन वर्ष पहिला अंकुरण भएको थियो, तिनको प्रेम।

विभिन्न कार्यक्रममा देखभेट भए पनि खासै वास्ता गर्दैनथे। उनीहरूको भावनालाई मजबुत बनाउने काम फेसबुकले ग¥यो। एनी भन्छिन्, ‘बोल्दै गएपछि भावनात्मक रूपमा नजिकियौं।’ उनका विचारमा थाहै नपाई हुँदोरहेछ प्रेम। त्यसो त एनी प्रायः व्यस्त रहन्छिन्, प्रणय दिवसको खासै मतलव गर्दिनन्। उता प्रणय दिवसलाई विशेष बनाउने दिपेशको चिन्ता हुन्छ। त्यसैले केही न केही सरप्राइज गिफ्ट दिने गर्छन्, यही बहानामा। यही कुराले एनीलाई दिपेशप्रति थप लालायित बनाउँछ रे। दिपेशले केही समय पहिला उपहार दिएको ब्याग आफ्नो व्यक्तित्वसँग निकै म्याचिङ भएको बताउने एनी भन्छिन्, ‘मलाई यो ब्याग सधैं बोकी रहुँ जस्तो लाग्छ तर दिपेशको माया मिसिएको त्यो ब्याग च्यातिएला कि भन्ने चिन्ता पनि लाग्छ। त्यसैले कहिलेकाहीँ मात्र बोक्छु।’

एकअर्कालाई प्रेम गर्न थालेपछि सँगै बस्दै आएका उनीहरू मायामा सबैभन्दा ठूलो कुरा विश्वास मान्छन्। सँगै बस्दा कहिलेकाहीँ ठाकठुक परे पनि दिपेश प्रायः आफूलाई ‘कुल’ राख्छन्। तेस्रोलिंगी समुदायलाई हेर्ने दृष्टिकोण नराम्रो भए पनि आफूलाई स्वीकार्ने खुबीको प्रशंसा गर्छिन् एनी। त्यसैले त दिपेश नभएको कुनै पल अपूर्ण रहेको महसुस गर्छिन् उनी। भन्छिन्, ‘उहाँबिना कुनै पल बाँच्न सक्तिन जस्तो लाग्छ। कामको सिलसिलामा कतै गएको बेला साह्रै गाह्रो महसुस गर्छु।’

‘धेरै पुरुषहरू तेस्रोलिंगी महिलाको शारीरिक आकर्षणमा परेका हुन्छन् किनकि उनीहरू हेर्दा सुन्दर देखिन्छन्। आकर्षणबाट लालायित प्रेम क्षणिक हुन्छ। त्यो टिक्दैन।’

महिला आफ्नो प्रेमी वा श्रीमान् आफूप्रति सधैं इमानदार भइदिऊन् भन्ने चाहना राख्छन्। एनीको अनाहकको शंकाले दिपेश कहिलेकाही झनक्क रिसाउँछन्। उनले आफ्नो घरमा दिपेशलाई ज्वाईंको रूपमा चिनाइसकेकी छिन्। दिपेशलाई परिवारले खुसीसाथ स्वीकार गरिसकेको छ। तर, समस्या दिपेशको परिवारमा गएर अड्किएको छ। हुन त एनीले दिपेशको आमालाई भेटिसकेकी छिन् तर महिलाको रूपमा। तेस्रोलिंगीको रूमिा थाहा पाए भने उनको परिवारले के भन्छन्, त्यसमा कताकता त्रसित भएको एनीले बताइन्। आफ्नो स्वर ठूलो भएकोले दिपेशको आमालाई भेट्दा उनी खासै कुरा गर्न सकिनन्।

थापाथलीका स्थायी बासिन्दा दिपेशलाई आमाबाट कुनै अवरोध नभए पनि दिदीहरूबाट अवरोध होला कि भन्ने पीर छ। हेर्दा उनलाई कसैले तेस्रोलिंगी महिला भन्ने नचिने पनि उनको वास्तविकता बताएका छैनन्। दिपेशको विचार अन्य पुरुषहरूभन्दा फरक छ। त्यसैले त उनले एउटी तेस्रोलिंगी महिलालाई स्वीकारे। दिपेशलाई तेस्रोलिंगी महिला अँगालेकोमा कुनै पश्चाताप छैन। उनको विचारमा एउटा तेस्रोलिंगीसँग कसरी सेक्सुवल एक्टीभिटी गर्छन्, कसरी सन्तुष्ट हुन्छन् भन्ने आममान्छेले सोच्छन्। तर जीवन त्यो होइन। दिनभरिको धपेडीले जो कोहीलाई घरमा आफ्ना कुराहरू सुनिदिने मान्छे चाहिन्छ। जसका लागि उनलाई जेन्डरले फरक पार्छ जस्तो लाग्दैन।

फेसन डिजाइन, मोडल तथा मेकअप आर्टमा राम्रो गरिरहेकी आफ्नी प्रेमिका एनीलाई उसले रुचाएको क्षेत्रमा स्थापित भएको हेर्ने रहर छ दिपेशलाई। त्यसैले उनी एनीलाई उत्प्रेरित गरिरहन्छन्। एनी खुसी हुँदै भन्छिन्, ‘म धैर्य गर्न सक्तिनथे तर जब दिपेश मेरो जीवनमा आए, त्यसपछि धैर्यपूर्वक काम गर्न सिके।’

तेस्रोलिंगी समुदायमा यो जोडीलाई एउटा आइडलको रूपमा लिइन्छ। तर कतिपय तेस्रोलिंगीहरूलाई पुरुषहरूले साँचो माया नगरी फसाएको घटना सुनाउँदै एनी भन्छिन्, ‘धेरै पुरुषहरू तेस्रोलिंगी महिलाको शारीरिक आकर्षणमा परेका हुन्छन् किनकि उनीहरू हेर्दा सुन्दर देखिन्छन्। आकर्षणबाट लालायित प्रेम क्षणिक हुन्छ। त्यो टिक्दैन।’ उनको विचारमा प्रेम गर्न आफ्नो प्रेमीको आत्मा, प्यवहार बुझ्नुपर्छ।

दिपेशजस्तो केटा पाएकोमा भाग्यमानी मान्छिन् आफूलाई एनी। ‘उनले धैर्य गर्न मात्र सिकाएनन्, काममा लगनशील हुन, सानातिना कुरालाई ध्यान दिन पनि सिकाए।’ दिपेशलाई आफनो स्टाइलिस्ट आइकन पनि मान्छिन् उनी। किनकि उनलाई के सुहाउँछ उनैले भन्ने गर्छन्। यस पटकको प्रणय दिवसमा एनीले केही सरप्राइज गिफ्ट दिने योजनामा छिन् उनी। तर यही दिन उनको फेसन सो परेको छ। व्यस्तताको बाबजुद आफ्नो माया गर्ने मान्छेको लागि समय निकाल्ने बताउँछिन्।

साभार : अन्नपूर्ण पोष्ट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.