“कान्छि” चलचित्रमा तेस्रोलिंगीको भूमिका मुख्य

“कान्छि” चलचित्रमा तेस्रोलिंगीको भूमिका मुख्य

काठमाडौं (पहिचान) फागुन ४ – “कान्छि” ले बच्चा जन्माउछिन र कान्छिको देहान्त हुन्छ । श्वेता खड्काले निर्माण गरेको चलचित्र कान्छि यतिमै सकिदैन । कान्छिले जन्माएको बच्चा छायाँलाई दिइन्छ । छायाँ बनेर अभिनय तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले गरेकी हुन्छिन् । कान्छिलाई अस्पतालसम्म पुर्याउने मूख्य भूमिका समेत छायाँले नै गरेकी हुन्छिन ।

चलचित्रमा तेस्रोलिंगी भनेर एक ठाउँमा मात्रै उच्चारण गरिएपनि भूमिकासँग उनलाई मन पराएका एक पात्रले गरेको संवादमा उनी तेस्रोलिंगी हुन भन्ने प्रष्ट सन्देश दिइरहेको हुन्थ्यो । मलाई आइ लभ यु भन्देउ न, को मधेशी को पहाडि, के जात के लिंग भन्ने भनाई भूमिकालाई माया गर्ने एक पात्रले भनिरहेका हुन्छन् । भूमिका जस्तै बनेर आइ लभ यु समेत भनेका ति पात्रकै अगाडि भूमिकाको काखमा दयाहाङ राईले बच्चा राखिदिन्छन् ।

सायद प्रहरीले दयाहाङलाई नपक्रेको भए बच्चासँगै भूमिकालाई मन पराउने ति पात्रको मिलन पनि दयाहाङले नै गराइदिन्थे कि ? चलचित्रमा छायाँको अभिनय गरेकी भूमिका श्रेष्ठलाई तेस्रोलिंगी नभएको भए कसम पर्पोज हान्थे भन्ने कुराले मात्रै भूमिका तेस्रोलिंगी हुन भन्ने लाग्थ्यो । चलचित्रमा भूमिकाको आफ्नै आवाज भने छैन । उनको अभिनयमा अर्कैको आवाज दिइएको छ ।

तेस्रोलिंगी अधिकारकर्मी भूमिकाको अभिनय रहेको चलचित्र कान्छि हेर्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य पुगेका थिए । चलचित्र कान्छि हेरेर हलबाट बाहिरिएका यौनिक तथा लैंगिक अल्पसंख्यक भावुक देखिन्थे । उनीहरुले  बर्षौदेखिको धर्म सन्तान राख्न पाउने माग चलचित्रले पुरा गरिदिएको वताए ।

अब चलचित्रमा मात्रै होइन, साच्चिकै कानुन बनाएर आफूहरुले पनि बच्चा एडप्ट गर्न पाउनु पर्ने उनीहरुको माग छ । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले नेपालको चलचित्र क्षेत्रले तेस्रोलिंगीलाई पहिलो पटक मुख्य भूमिका दिएर चलचित्र निर्माण गरेकोमा बधाई दिइन । “यो चलचित्र सकारात्मक छ, पिंकीले भनिन, चलचित्रले बच्चालाई एडप्ट गर्ने कुरा इमोस्नल लाग्यो ।”

“अहिलेसम्म चलचित्र क्षेत्रले तेस्रोलिंगीलाई हाँसोको पात्रका रुपमा मात्रै उभ्याइन्थ्यो तर यो चलचित्रमा बिषेश भूमिका, जिम्मेवारी दिएको छ उनले भनिन्, यसमा हामीले गर्व गर्नु पर्छ ।” उनले समाज यसरी नै परिवर्तन हुँदै जाने प्रतिक्रिया दिइन ।

समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले चलचित्र राम्रो भएको वताइन । तेस्रोलिंगीको हातमा बच्चा दिएर चलचित्रले समाजलाई प्रश्न छोडेको वताइन । “हामीले बच्चा एडप्ट गर्न पाउनु पर्छ भनेर भन्दै आएका छौ, ढकालले भनिन्, तेस्रोलिंगीको हातमा बच्चा दिनु भनेको हामी जस्ता समूदायका व्यत्तिले बच्चा एडप्ट गर्न पाउनु पर्ने कानुन निर्माण गरिदिन सरोकोरवाला निकायका लागि दवाव हो ।”

नील हिरा समाजको दीवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले तेस्रोलिंगी समुदायमा यो चलचित्रले सकारात्मक सन्देश प्रवाह गर्ने वताए । बच्चा एडप्ट गर्नु एक दम राम्रो पक्ष भएको शर्माको प्रतिक्रिया छ ।

अधिकारकर्मी मनोरञ्जन कुमार बैद्यले तेस्रोलिंगीलाई मूख्य भूमिका दिएको भन्दै चलचित्र कान्छि राम्रो लागेको वताए ।अधिकारकर्मी दुर्गा थापाले कान्छि चलचित्रको कथावस्तु राम्रो लागेको वताइन । उनले तेस्रोलिंगी पनि यसै समुदायका मान्छे हुन उनीहरुले पनि समाजमा अरु सरह बाच्न पाउनु पर्ने सन्देश समेत चलचित्रले दिएको वताइन ।

अधिकारकर्मी सुदीप गौतमले भूमिकालाई मूख्य भूमिका दिएर बनेको चलचित्र कान्छिको सम्पूर्ण टिमलाई धन्यवाद दिए । अर्का अधिकारकर्मी उमेश श्रेष्ठले मध्यान्तर पछि चलचित्र राम्रो लागेको वताए । तेस्रोलिंगीले बच्चा एडप्ट गर्ने कन्सेप्ट एक दम राम्रो लागेको श्रेष्ठले बताए ।

अधिकारकर्मी संजय तामाङले अरु चलचित्रमा हाँसोको पात्रको रुपमा मात्रै देखाइने गरेकोमा कान्छि चलचित्रमा मुख्य भूमिका दिएर अभिनय गराएकोमा राम्रो लागेको वताए । उनले भूमिका श्रेष्ठलाई अझै राम्रो खेल्ने अवसर प्राप्त होस भनेर शुभकामना दिदै तेस्रोलिंगीलाई माया गरेर चलचित्र निर्माण भएको वताए ।

अधिकारकर्मी आदित्य राइले कान्छि चलचित्र राम्रो भएको भन्दै हलमा गएर हेरिदिन सबैलाई अनुरोध गरे । अधिकारकर्मी भक्ती शाहले चलचित्र राम्रो भएको भन्दै भूमिकाकै आवाजमा बोल्न दिएको भए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिए ।

अधिकारकर्मी सिर्जु थापाले समग्रमा चलचित्र राम्रो भएको वताइन भने धुब्र ढुङ्गानाले समलिंगी तेस्रोलिंगीलाई साकारात्मक भूमिका दिएर चलचित्र निर्माण भएको यो कान्छि नै पहिलो भएको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.