वैवाहिक अधिकार सबैले पाउनुपर्छ : लामा

वैवाहिक अधिकार सबैले पाउनुपर्छ : लामा

काठमाडौं (पहिचान) फागुन ८ -गायक हवल लामाले अमसलिंगी सम्बन्धलाई मान्यता दिनुपर्नेमा जोड दिएका छन् । सबै मानव समान भएको भन्दै महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीलाई पनि वैवाहिक अधिकार हुनुपर्ने उनको धारणा छ ।

“समलिंगी तेस्रोलिंगीका बारेमा संविधान र कानुनमा के छ मलाई थाहा छैन र कानुनी कुरा म जान्दिन पनि,” गायक लामा भन्छन्, “तर हामी पुरुष महिलाले वैवाहिक अधिकार उपभोग गर्न पाउंछौं भने उहाँहरुले पनि पाउनुपर्छ ।”

एकले अर्कोको अस्तित्व र पहिचान स्वीकार्न सक्नुपर्ने उनको धारणा छ । “हामी एकले अर्कोको बानी, ब्यबहार र अस्तित्व स्वीकार्न नसकेका कारण पनि धेरै समस्या आइरहेका छन्,” लामा भन्छन्, “आफ्नो जस्तै पहिचान र अधिकार अरुको पनि हो भन्ने बुझ्ने हो भने धेरै कुरा आँफै समाधान हुन्छ ।”

उनले समलिंगी तेस्रोलिंगीलाई आफूले सधै सम्मान गरेको बताए । सबै नागरिक समान रहेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक पनि महिला पुरुष सरह समान रहेको उनको भनाइ छ ।

“सबै नागरिक समान हुन् । महिला पुरुषभन्दा उहांहरु फरक हुनहुन्छ भन्ने मलाई लाग्दैन,” उनी भन्छन् “त्यसैले म त समान व्यबहार गर्छु । मेरो जस्तै अरुले पनि समान रुपले हेरिदिए धेरै विभेद अन्त्य हुन्छ ।”

कला क्षेत्रमा समलिंगी तेस्रोलिंगी धेरै रहेको भन्दै उनले आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यकले संधै सहयोग गर्ने गरेको बताए । “समलिंगी तेस्रोलिंगी मेरो साथी पनि हुनुहुन्छ । उहाँहरुले मलाई धेरै माया गर्नुहुन्छ,” उनले भने, “उहाँहरुलाई सम्मान र समानताको नजरले हेर्नुपर्छ ।”

राज्यले अरु नागरिक सरह समलिंगी तेस्रोलिंगीलाई पनि अधिकार दिनुपर्ने लामाको धारणा छ । “सबै नागरिक समान हुन् र राज्यका नजरमा समलिंगी तेस्रोलिंगी पनि समान हुन् भने उनीहरुले पनि महिला पुरुष सरह समान अधिकार दिनुपर्छ ।”

फरक पहिचान भएकै कारण समलिंगी तेस्रोलिंगीलाई फरक व्यबहार गरिनु नाजायज भएको गायक लामाको धारणा छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.