ठमेलमा समलिंगीको ‘द ब्लाक चिम्नी’ सांगितिक रेष्टुरेन्ट एण्ड बार संचालन

ठमेलमा समलिंगीको ‘द ब्लाक चिम्नी’ सांगितिक रेष्टुरेन्ट एण्ड बार संचालन

काठमाडौं (पहिचान) फागुन ११ – मिष्टर गे हेण्डसम २०१७ मा सहभागी दुई युवा सहित तीन जनाले पर्यटकीय क्षेत्र ठमेलमा सांगितिक रेष्टुरेन्ट एण्ड बार संचालन गरेका छन् । मोरङका २६ बर्षिय रोशन चौधरीको नेतृत्वमा मोरङकै संजय दाहाल र कैलालीका राजेन्द्र न्यौपानेले रेष्टुरेन्ट संचालन गरेका हुन् ।

३० लाख भन्दा धेरै लगानी रहेको रेष्टुरेन्टको चलचित्र कान्छिकी नायिका एवं तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले रिवन काटेर उद्घाटन गरिन । तेस्रोलिंगी मेघना लामाले यसअघि नै काठमाडौंको बसन्तपुर र ठमेलमै पिंक टिफानी संचालन गर्दै आएकी छन भने स्मारिका राईले लाजिम्पाटमा सेपरेट च्वाइस नामक रेष्टुरेन्ट संचालन गरिसकेकी छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको रुपमा पहिचान पाएका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी व्यक्ति पछिल्लो समय व्यवसायिक बन्दै गएका छन् । रोशन सन् २००८ देखि नील हिरा समाजमा आवद्ध भएर काम गर्दै आएका छन् । “म सन् २००८ देखि नै आफूलाई समलिंगी पुरुषको पहिचान दिएर काम गर्दै आएको छु रोशनले भने, व्यवसायिक रुपमा यो मेरो पहिलो पाइला हो ।” उनको पहिलो व्यवसायिक रेष्टुरेन्ट उद्घाटनमा परिवारले समेत साथ दिएको छ । रोशनका बुबा, आमा र दिदि रेष्टुरेन्ट उद्घाटनमा सरिक भए ।

ठमेलको व्यस्त नर्सिङ चोकमा रहेको म्यूजिकल द ब्लाक चिम्नी रेष्टुरेन्ट उद्घाटनको पहिलो दिन नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालको नेतृत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले रोशनलाई व्यवसाय सफलताको शुभकामना दिए । कार्यकारी निर्देशक ढकालले समुदायका साथीहरु आफै आय आर्जनका काममा लाग्नु अरुका लागि उदाहरण भएको वताइन । आफ्नो खुट्टामा उभिनु समाज र समुदायका लागि गर्वको बिषय भएको वताइन ।

कान्छि चलचित्रकी नायिका एवं तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी सिमरन सेरचन, नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्मा, मिष्टर गे हेण्डसम २०१७ का सेकेन्ड रनर अप पिटर राई, अधिकारकर्मीहरु राजेश लामा, आदित्य, जोशना, सुनिता लगायतले रोशन सहितका संचालकलाई व्यवसाय सफलताको शुभकामना दिए । उनीहरुले समलिंगीले संचालन गरेको म्युजिकल रेष्टुरेन्ट गएर हौसला प्रदान गर्न सबैलाई आग्रह पनि गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.