हाम्रो माग प्रति सरकार किन गम्भिर हुँदैन ?

हाम्रो माग प्रति सरकार किन गम्भिर हुँदैन ?

कास्की (पहिचान) चैत्र २२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले समलिंगी विवाहलाई कानुनले सम्बोधन गरे समाजमा सहज अस्थित्व स्थापित गर्न सकिने बताए । प्रदेश तहमा बन्ने कानुनमै यौनिक अल्पसंख्यकको मागलाई सम्बोधन गराउन पत्रकारले सहयोग गर्नुपर्ने उनीहरुको आग्रह छ ।

सर्बोच्च अदालतबाट समलिंगी विवाहलाई मान्यता दिन आदेश आएपनि हालसम्म त्यसको कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । ‘सर्बोच्चले फुकुवा गरिसक्यो । तर अझै पनि सरकारी निकायबाट समलिंगी विवाहले मान्यता पाउँदैन, नील हिरा समाजका सहजकर्ता अनुज पिटरले भने–हामी पनि नेपाली हौं । हाम्रो माग प्रति सरकार किन गम्भिर हुँदैन ?’

विवाहले कानुनी मान्यता नपाउँदा समाजमा घुलमिल हुन र दैनिकी चलाउन पनि कठीन भएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचनले वताइन । ‘यौनिक अल्पसंख्यक भएपछि यसैपनि समाजमा मुख देखाएर हिड्न गाह्रो छ । त्यसमाथी विवाहले कानुनी मान्यता नपाउँदा धेरै जटिलता भोग्नुपरेको छ, उनले भनिन–तत्कालै कानुनमा ब्यवस्था गरेर समलिंगी विवाहलाई फुकुवा गरिदिनुपरयो । हामीमा जीवन विताउन र केही गर्ने शाहस आउँछ ।’

विवाहलाई मान्यता नदिएर यौन क्रियाकलापलाई बढवा दिईएको र यसले एचआईभी एड्स जस्ता रोगको चुनौति बढ्ने उनीहरुको अनुभव छ । ‘समाजले हामीलाई यौनकर्मी भनेरै पहिचान दिन्छ । केही ब्यक्तिहरुका कारण सबैले एउटै दर्जामा बस्नुपरेको छ, उनीहरु भन्छन–विवाहको बाटो खोलिदिए यस्ता आरोप आँफै हराउँछन् । जथाभावी सेक्समा सामेल हुँदा डरलाग्दा रोगको सिकार हुनुपर्ने बाध्यता आउन सक्छ ।’

नील हिरा समाजले पोखरामा यौनिक अल्पसंख्यकका प्रकार र उनीहरुको चुनौति तथा समाधानका उपाय बिषयमा पत्रकारलाई सचेतीकरण गरेका समाजको शाखा कार्यालय पोखराकी विन्दिया गौतमले बताईन् । ‘पत्रकारलाई भन्दा सजिलोसँग समाजले पचाउला भनेर तपाईंहरुलाई आग्रह गरेका हौं । अहिले प्रदेशमा बन्ने कानुन हामीले पनि स्वागत गर्ने खालको होस् भन्ने चाहना छ, उनले भनिन–लामो समयदेखिको हाम्रो मागप्रति पत्रकारहरुले पनि आवाज उठाएर यसलाई सम्बोधन गर्ने वातावरण बनाईदिन आग्रह छ ।’ उनका अनुसार पोखरामा हाल ५० जना समलिंगीहरु खुलेर आएका छन् । त्यसबाहेक पनि थुप्रै यौनिक अल्पसंख्यकहरु समाजको डरले लुकेरै बसेका उनले वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.