सुदुरपश्चिमलाई ५० हजार रुपैयाँ राशीको राष्ट्रिय फुटसलको उपाधी

सुदुरपश्चिमलाई ५० हजार रुपैयाँ राशीको राष्ट्रिय फुटसलको उपाधी

काठमाडौं (पहिचान) बैशाख ८ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसलको उपाधी सुदुरपश्चिमले कब्जा गरेको छ । फाइनलमा काठमाडौं ए लाई ८ शुन्यले स्तव्ध पार्दै सुदुरपश्चिमले उपाधी कब्जा गरेको हो । नेपालमा सरकारी स्तरबाट पहिलो पटक भएको यौनिक तथा लैंगिक अल्पसख्यकहरुको राष्ट्रिय फुटसलको उपाधीसँगै सुदुरपश्चिमले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

काठमाडौं ए ले दोस्रो स्थान हासिल गर्दै ३० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाएको छ । ७ वटा टोलीले भाग लिएको प्रतियोगितामा काठमाडौं बि ले तेस्रो स्थानमा चित्त बुझाएको छ । उसले पूर्वाञ्चललाई शुन्यका विरुद्ध २ गोलले हराएर तेस्रो स्थानमा चित्त बुझाएको हो । काठमाडौं बि ले २० हजार रुपैयाँ नगद सहित शिल्ड र प्रमाणपत्र पाएको छ ।

काठमाडौं ए ले काठमाडौं बि लाई शुन्यका विरुद्ध १ गोलले हराएर फाइनल पुगेको हो भने सुदुरपश्चिमले पुर्वाञ्चललाई शुन्यका बिरुद्ध १० गोलले हराएर फाइल पुगेको हो । दोस्रो दिनको लिग चरणको खेलमा मध्यमाञ्चललाई सुदुरपश्चिमाञ्चलले शुन्यका बिरुद्ध ६ गोलले हरायो भने पश्चिमाञ्चललाई काठमाडौं ए ले १ का बिरुद्ध ४ गोलले हरायो ।

यस्तै लिग चरणकै अर्को खेलमा मध्यपश्चिमाञ्चललाई पूर्वाञ्चलले शुन्यका विरुद्ध १ गोलले हराएको राष्ट्रिय फुटसल संघका अफिसियल बिकि सिलाकारले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदको आयोजना, नील हिरा समाजको व्यवस्थापन र फुटसल संघको संयोजनमा नेपालमा पहिलो पटक सरकारी स्तरबाट यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको उपाधी बिजेता टोलीका टोली नेता राजु लामाले अवसर पाए अन्तराष्ट्रिय स्तरमा हुने खेलमा पनि प्रतिष्पर्धा गरेर उपाधी ल्याउने धोको रहेको वताए । काठमाडौं ए का क्याप्टेन बिश्वराज अधिकारीले सुदुरपश्चिमले उपाधी लगे पनि खुशी नै लागेको भन्दै दोस्रो स्थान प्राप्त गर्दा गर्वको महसुस भएको वताए ।

काठमाडौंका बि का क्याप्टेन सुदीप गौतमले राम्रो समन्यवमा भएको खेलमा तेस्रो स्थान पाउँदा उपाधी पाए सरहको खुशी लागेको वताए । विजेता प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले उद्घाटन गरेका थिए ।

दुई दिनसम्म चलेको फुटसल प्रतियोगितामा देशभरबाट ६३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडीले भाग लिएका थिए । यो प्रतियोगिता सम्पन्न गर्न १० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

परिषदले यो सुरुवात मात्रै भएको र अब यसले निरन्तरता पाउने वताएको छ । नील हिरा समाजले परिषदमा यौनिक तथा लैंगिक अल्पसंख्यक खेलकुद संघ नै दर्ता गर्न प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

नेपालमा सन् २०१२ मा पहिलो पटक नील हिरा समाजको आयोजनामा दक्षिण एसिया स्तरको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको खेल महोत्सव भएको थियो ।

तस्बिर : रुक्शाना कपाली

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.