काठमाडौं (पहिचान) बैशाख २२ – कपिलबस्तुको नौगडबाट भारतको बहराइच जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी समलिंगी सम्बन्धमा रहेका जोडीको मृत्यु भएको छ । हिजो साँझ भारतीय नम्वर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा तेस्रोलिंगी महिला र समलिंगी पुरुषको मृत्यु भएको नव जीवन संस्था कपिलबस्तुका कार्यक्रम संयोजक प्रेरणा विष्टले जानकारी दिइन ।
मेला हेर्न बहराइच जाने क्रममा तेस्रोलिंगी मोनक्का मुसलमान र उनका पार्टनर समलिंगी पुरुषको मृत्यु भएको हो । नव जीवन संस्थाकी सदस्य समेत रहेकी मोनक्काका पार्टनर समलिंगी पुरुषको भने नाम खुल्न सकेको छैन । कार्यक्रम संयोजक विष्टका अनुसार मोनक्का ७ बर्षको हुँदा बाबुको निधन भएको र आमा अर्कैसँग विवाह गरेर हिडेका थिए । उनी २ बर्षको भाईलाई पालेर बस्दै आएकी थिइन ।
३२ बर्षकी तेस्रोलिंगी महिला मोनक्का २० बर्षदेखि समलिंगी सम्बन्धमा रहेकी थिइन । नेपाल भारत सीमा क्षेत्रमा प्राय ओहोरदोहोर गर्ने उनी भारतीय नम्वर प्लेट भएको मोटरसाइकल चलाउथिन । कार्यक्रम संयोजक बिष्टले अल्पआयुमै मोनक्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको खवरले धेरै नरमाइलो लागेको वताइन ।
अत्यन्तै मिलनसार मोनक्काको मृत्युको खवरले नव जीवन संस्थालाई नै आघात परेको विष्टले वताइन । बिष्टका अनुसार मोनक्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जानकारी नव जीवन संस्थाका कर्मचारी राज मंगल लोधले फोन गरेर दिएका थिए । मोनक्काको शब आजै बेलुकी कपिलवस्तु ल्याउन विहानै आफन्त, छर छिमेकी भारत गएका छन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.