कसले पहिरिएला मिस पिंकको ताज ? (हेर्नुहोस भिडियो)

कसले पहिरिएला मिस पिंकको ताज ? (हेर्नुहोस भिडियो)

bdr

काठमाडौं (पहिचान) जेठ २ – समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालयमा भोली यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको दिवसमा झण्डोत्तलन हुनेछ । नील हिरा समाजले भोली नै दिउँसो ४ बजे दिवसको अवसरमा मिस पिंक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा हुनेछ ।

मिस पिंक कार्यक्रममा १८ जना तेस्रोलिंगी महिला यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गर्दै स्टेजमा प्रस्तुत हुनेछन् । उनीहरुले समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार, समाजमा रहेको अन्धविश्वास, संविधानमा लेखिएको अधिकार, समलिंगी विवाहले कानुनी मान्यता नपाउँदा भोग्नु परेको समस्या उजागर गर्नेछन् । १८ जना तेस्रोलिंगी महिलालाई नील हिरा समाजले दिएको प्रशिक्षण आजदेखि सकिएको छ ।

उनीहरुलाई कोरियोग्राफर राजेश लामा, मेकअप आर्टिस चन्द्र गुरुङ र फेसन डिजाइनर एनी लामाले प्रशिक्षण दिए । उनीहरुको साथमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन, अधिकारकर्मी एवं नायिका भूमिका श्रेष्ठ, अधिकारकर्मी पिटर तामाङ लगायत विभिन्न विधामा पोख्त अभियानकर्मीहरुले प्रशिक्षण दिएका छन् ।

आज अन्तिम दिनको प्रशिक्षण दिदै अधिवक्ता सुजन पन्तले संविधानमा अधिकार लेख्ने एसियामै नेपाल पहिलो भएकोमा समुदायका सदस्यले गर्व गर्नु पर्ने वताए । उनले संविधानको धारा १२ मा लैंगिक पहिचान अनुसार नागरिकता पाउने, धारा १८ को समानताको हकमा यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण विभेद गर्न नहुने र धारा ४२ को सामाजिक न्यायको हकमा यो समुदायका व्यक्तिलाई समावेशी सिद्धान्त अनुसार राज्यका हरेक नीति निर्माण तहमा प्रतिनिधित्व गराउने लेखिएको जानकारी दिए । उनले संविधानमा अधिकार लेखिएपनि कार्यान्वयन नभएको बिषयलाई समुदायका सदस्यले उठाउनु पर्ने सुझाव दिए ।

पहिलो मिस पिंक २००७ मा सहभागी चर्चित तेस्रोलिंगी मोडल अन्जली लामाले हार जीतको भन्दा पनि समुदायको अधिकारका लागि एकवद्ध हुनु पर्ने सुझाव दिइन । उनले हरेक ठाउँमा अवसर रहेको वताउँदै हरेश नखान आग्रह पनि गरिन । अन्जली पहिलो पटक तेस्रोलिंगी मोडलको रुपमा अन्तराष्ट्रिय फिल्म फेष्टिवल कान्समा सहभागी भएर केहीदिन अघि मात्रै काठमाडौं आएकी हुन् ।

तेस्रोलिंगी अधिकारकर्मी एवं कान्छी चलचित्रकी नायिका भूमिका श्रेष्ठले तालिममा सहभागीलाई ग्रुमिङ गर्न पाउदाँ एक्साइटेड भएको वताइन । उनले आफूहरुको पालामा त्यति सारो खुलेर आउने नगरेको भन्दै अहिले नयाँ नयाँ तेस्रोलिंगी साथीहरु खुलेर आएको वताइन । नील हिरा समाजमा कार्यरत अधिकारकर्मी विश्वराज अधिकारी र पिटर तामाङले आत्मविश्वासका साथ स्टेजमा प्रस्तुत हुन आग्रह गरे ।

उनीहरुलाई नील हिरा समाजका संचार अधिकृत एवं पहिचान अनलाइनका सम्पादक माधब दुलालले कुनै डर, त्रास लिन नहुने सुझाव दिए । उनले नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिशेष दुतको रुपमा प्रस्तुत भएर समुदायले प्राप्त गरेका उपलव्धी र अझै भोग्नु परेका समस्या निर्धक्क साथ राख्न आग्रह गरे । सहभागी १८ जनालाई नै राम्रो गरेर उपाधी हात पार्न सबैले शुभकामना दिएका छन् । सहभागीहरुले उपाधी हात पारेमा देशमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै समुदायको अधिकार प्राप्तिका लागि वकालत गर्ने वताएका छन् ।

हेर्नुहोस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.