अरब क्षेत्रमा खुल्यो पहिलो समलिंगी रेडियो, यस्तो छ जटिलता

अरब क्षेत्रमा खुल्यो पहिलो समलिंगी रेडियो, यस्तो छ जटिलता

काठमाडौं (पहिचान) असार ५ – उत्तरी अफ्रिकी देश ट्युनीशियामा समलैंगिकता अवैध र पुर्ण रुपमा अस्वीकार्य छ । तर त्यहाँ सन् २०११ यता स्थिती बदलिँदै गएको छ । ट्युनीशियामा अहिले समलिंगीका पक्षमा आवाजहरु उठ्न थालेका छन् । विश्वास जाग्दै गएपछि त्यहाँका समलिंगीहरुले बराबरी हक र पहिचानको माग उठाउन थालेका छन् ।

कानुनी रुपमा बैधानिकता नरहेको अवस्थामा ट्युनीशियामा समलिंगी रेडियो खोल्नु चानचुने कुरो होईन । समलिंगी रेडियो श्याम्सका संस्थापक बौहदिद बेलदेदी भन्छन्, ‘खुलेयाम एलजीबीटीआइबारे बोल्ने म नै पहिलो ब्यक्ति हुँ ।’ २५ बर्षका बेलहेदीले अरब क्षेत्रमै पहिलो समलिंगी रेडियो खोलेका हुन् । यो रेडियो खोल्न धेरै लगानी त गरिएको छैन, तर रेडियोको प्रशारण पुर्णरुपमा समलिंगीहरुमा केन्द्रीत छ । रेडियोमा बेलहेदीबाहेक अन्य ६ जना कार्यरत छन् । रेडियोको कार्यालय परिसर समलिंगी आन्दोलन र अधिकारको प्रतिक मानिने ईन्द्रेणी रङले रङरोगन गरिएको छ भने त्यहाँ ईन्द्रेणी झण्डा समेत राखिएको छ ।

रेडियोको यात्राबारे संस्थापक बेलहेदी भन्छन्, ‘हामीले रेडियो खोलेको ६ महिनामै १५ देशका १० हजार श्रोता बनेका छन् ।’ रेडियोको प्रशारण हप्तामा ६ दिन युट्युबबाट र अनलाईनमा लाईभ गरिन्छ । रेडियोमा गीत बजाईन्छ र साथसाथै समलिंगी अधिकारबारे गम्भिर बहस समेत गरिन्छ । तर प्रशारणमा प्रस्तोताको पहिचान भने खुलाईँदैन । ट्युनीसीयामा रहेको नेदरल्याण्डको दुतावासले रेडियोलाई आंशिक आर्थिक सहयोग दिँदै आएको छ । अन्तर्राष्ट्रिय दबाब र कानुनी चुनौतिका कारण सरकारले रेडियो स्टेशनलाई कानुनी मान्यता दिएको छ । उत्तरी अफ्रिकामा एलजीबीटीआइ समुहका लागि यो पहिलो उपलब्धि ठानिएको छ ।

रेडियो प्रशारणमा आएदेखि यसले पश्चिमा मिडियाको समेत ध्यान तानेको छ । रेडियोका संस्थापक बेलहेदीलाई मानिसले प्रताडित गर्न थालेपछि पश्चिमा मिडियाले उनलाई जोडतोडले साथ दिए । त्यसो त रेडियोप्रति धेरैको रिस पनि छ । बेलहेदी भन्छन्, ‘यस दौरान मलाई गालीले भरिएका ४७ सय म्यासेज आएका छन् ।’ ती म्यासेजमा ज्यान मार्नेदेखि पिट्ने धम्कीसम्म रहेका उनले बताए ।

समलिंगीलाई कानुनी मान्यता नरहेको ट्युनीशीयामा गे र लेस्बियनबिरुद्ध ३ बर्षको जेल सजायको प्रावधान छ । पछिल्लो बर्ष ट्युनीशीया सरकारले संदिग्ध समलिंगीहरुलाई पहिचान गर्न कुनै जाँच पनि नगर्ने घोषणा गरेको थियो । ट्युनीशीयाको समाज धार्मिक र रुढिवादी मान्यताले ग्रस्त छ । त्यहाँको समाजमा कहिल्यै पनि समलिंगीका मुद्दा खुला रुपमा मुखरित भएका छैनन् । समलिंगीबारे केहि कुरा आएपनि त्यहाँका मानिस यसबाट पन्छिन्छन् । यस्तो जटिलताकाबीच पनि ट्युनीशीयाको रेडियो श्याम्सले समिलिंगी हकअधिकारबारे जोडतोडका साथ आवाज उठाईरहेको छ ।
बिबिसी संवाददाता इड रामले लेखेको स्टोरीको अनुवाद ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.