एलबीटी समुदाय दोहोरो बिभेदमा

एलबीटी समुदाय दोहोरो बिभेदमा

काठमाडौं (पहिचान) साउन ४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रका एलबीटीहरुले आफूहरु दोहोरो विभेदमा परिरहेको बताएका छन् । एलबीटी समुदायमा समलिंगी महिला, तेस्रोलिंगी पुरुष र द्वयलिंगी महिला पर्छन ।

नील हिरा समाजको नर्वेजियन परियोजनाले एलबीटीको मुद्धामा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा उनीहरुले आफूहरु दोहोरो विभेद भोग्न बाध्य भइरहेको बताए । “हामी पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रकै सदस्य हौ उनीहरुले भने, एक त छोरी त्यसमाथि फरक पहिचान भएकै कारण हामी दोहोरो विभेदमा परेका छौ ।”

उनीहरुले नखुल्दा एउटा समस्या भएपनि खुल्दा १० वटा भन्दा धेरै समस्या भोग्नु परेको बताए । नेपाल प्रहरीको जागिर छाडेर टम बोय हेयर सलुन संचालन गरेका तेस्रोलिंगी पुरुष राज हुसेनले एलबीटी समुदाय लुकेर बस्नुको कारण धेरैले सोध्ने नगरेको सुनाए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि कतै पनि रोजगारीको अवसर नभएको बताए ।

“मिडिया हाउसहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्धा उठान गर्दै आएपनि समुदायका सदस्यलाई रोजगारीको अवसर दिएका छैनन् हुसेनले भने, काम नपाएर सडकमा भौतारिनु भन्दा पत्रिका वितरण गर्ने मात्र काम दिएपनि समुदायका सदस्यले गर्ने थिए ।” उनले मिडियाले नै रोजगारीका लागि आवेदन माग्दा महिला र पुरुष मात्रै उल्लेख गर्ने गरेको बताए ।

तेस्रोलिंगी पुरुष भक्ती शाह अहिले नेपाल पत्रकार महासंघ ललितपुर शाखाको सदस्य छन् । उनले पत्रकार महासंघमा यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित नगरिएको बताए । “पत्रकार महासंघको अघिल्लो कार्यसमितिले तयार गरेको मस्यौदा विधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्वको व्यवस्था हुनुपर्नेछ भनेर देखेको थिए शाहले भने फाइनल भएर आउदा मस्यौदा विधानमा उल्लेख हाम्रो समुदायको बिषय हटाइएछ ।”

अधिकारकर्मी दुर्गा थापाले एलबीटी समुदायमा कानुनी, राजनीतिक, सामाजिक र आर्थिकसँगै स्वास्थ्य समस्या जटिल बन्दै गएको बताइन । उनले समाजको हेर्ने दृष्टिकोण सकारात्मक नभएका कारण खुलेर आउने एलबीटीको संख्या कम रहेको बताइन । “एक त छोरी त्यसमा फरक पहिचान घरमा त स्वीकार्ने अवस्था नै छैन उनले भनिन्, सम्पत्तीको अधिकार, विवाहको अधिकार, धर्म सन्तान राख्न पाउने अधिकार पाउनबाट समेत बञ्चित हुनु परेको छ ।”

उनले विवाह गर्न एक जना केटा र एक जना केटी नै हुनु पर्छ भन्ने कानुनी र समाजिक मान्यता हट्नु पर्ने बताइन । “छोरी जन्मने बित्तिकै यो उमेरमा विवाह गरिदिनुपर्छ भन्ने परिवारको मानसिकता छ उनले भनिन् जवरजस्ती विवाह गरिदिने परिवारको ढिपीका कारण कतिपय विवाह गर्ने उमेरका एलबीटी बैदेशिक रोजगारीमा गएका छन् ।”

एलबीटी समुदायले विवाहको अधिकार पाउनु पर्ने माग गरे । “यहाँ भ्याकुत्तोको विहे गरिन्छ तर हामी जस्ता मान्छेको विवाह गर्ने कानुन बनाइदैन उनीहरुले भने, हामीले पहिचान अनुसारको नागरिकता, नागरिकतामा उल्लेख भएको पहिचानका आधारमा जागरि र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुबीचको विवाहको अधिकार कहिले पाउँछौ ? ”

अन्तरक्रियामा नील हिरा समाजका कानुनी अधिकृत अधिबक्ता सुजन पन्तले संबिधानमा लेखिएका अधिकार कार्यान्वयन नभए सर्बोच्च अदालत गएर रिट दर्ता गर्न सकिने सुझाव दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.