आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने

काठमाडौं (पहिचान) साउन १५ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ ।

पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय आज बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।

फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुने भएको फोनिजका महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

जनही ४०,००० (चालिस हजार रुपैयाँ) राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९ औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान महासचिव मनोज मगरले बिज्ञप्ती निकालेर जानकारी दिएका छन् ।

पुरस्कृत पत्रकारको संक्षित विवरण

उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् । हाल एभरेष्ट दैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन ।

भैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिका साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्तकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गरेर मातृभाषा बिकासमा समेत उनले योगदान पुर्याएका छन् ।

छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गरेका छेटु शेर्पाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन ।

बिमला चौधरी
२०६२ सालदेखि पत्रकारीता सुरु गरेकी बिमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छन । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आएकी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.