पत्रकार खड्काको खोजीमा सघाउन पत्रकार महासंघको आहृवान

पत्रकार खड्काको खोजीमा सघाउन पत्रकार महासंघको आहृवान

काठमाडौं (पहिचान) भदौ १७ – नेपाल पत्रकार महासंघले भदौ ९ गतेदेखि हराइरहेका पत्रकार तेजबहादुर खड्काको खोजी प्रभावकारी बनाउन पहल अघि बढाएको जनाएको छ । महासंघले बिज्ञप्ती निकालेर बाजुरा जिल्लाको बुढीनन्दा क्षेत्रबाट हराइरहेका बुढीनन्दा एफएममा कार्यरत पत्रकार खड्काको खोजी कार्यलाई प्रभावकारी बनाउन पहल अघि बढाएको हो ।

महासंघले महासचिव रमेश विष्टको संयोजकत्वमा गठन गरेको समितिले प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र प्रदेश प्रहरी प्रमुख डिआइजी सुरज केसीसँग छलफल गरेको छ ।

छलफलमा महासंघको टोलीले पत्रकार खड्काको खोजीमा कुनै कसर बाँकी नराखी काम गर्न आग्रह गरेको छ । मुख्यमन्त्री भट्टले पत्रकार खड्काको खोजीमा प्रदेश सरकारले कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण खोजीकार्यमा कठिनाई भइरहेको बताएका नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघसँगको भेटमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले पत्रकार खड्काको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनता परिचालित भएको जानकारी गराउँदै खोजी कार्यमा कुनै कमी नहुने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

महासंघले खड्काको खोजीका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा पहल गरिरहेको जनाएको छ । करिव १६ हजार फिटको उचाइमा पर्ने बुढीनन्दा क्षेत्रबाट हराएका पत्रकार खड्काको खोजी कार्यमा सघाउन महासंघले सम्बन्धित सबैमा आहृवान गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.