यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाए तीज

यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाए तीज

झापा (पहिचान) भदौ २७ – समाजमा सहजपूर्वक चाडपर्व मनाउने अबस्था सिर्जना गर्न तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूतको माग गर्दै पूर्वका यौनिक तथा लैंगिक अल्पसंख्यकले दमकमा तीज मनाएका छन् । आजको गोरखापत्र दैनिकका अनुसार आफूहरु अझै पनि समाजमा खुलेर आउन सक्ने अबस्था नरहेको बताउँदै अरुको जस्तै आफूहरुको पनि रहर भएकाले तीज मनाएको सहभागीहरुले बताए ।

झापा, मोरङ र सुनसरी जिल्लाका यौनिक तथा लैंगिक अल्पसंख्यक एवं स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी भएर तीज मनाइएको लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला सुब्बाले जानकारी दिइन । सुब्बाका अनुसार यसरी पूर्वमा आफूहरु मिलेर पहिलो पटक सामूहिक तीज मनाउने कार्यक्रम राखिएको हो ।

‘हामीले जनप्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधि बोलाएका थियौ तर अत्यन्त कम मात्र आउनुभयो’ सुब्बाले भनिन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकले समाजमा अहिले पनि घृणाको पात्र भएर बाँच्नुपर्ने अबस्था रहेको भन्दै यस्तो अबस्थाको अन्त्य हुनुपर्ने बताइन ।
आफूहरुले यो पर्वमा पनि समान व्यवहारको माग गरेको उनको भनाई छ । यौनिक तथा लैंगिक अल्पसंख्यक हुनु आफूहरुको कमजोरी नभएर सृष्टिको बरदानका रुपमा बुझ्नुपर्नेमा उनको जोड छ । सृष्टिको बरदानप्रति हामी गर्व गर्छौ तर समाजले हामीलाई हेर्ने दृष्टिकोण भने अहिले पनि नकारात्मक रहेको सुब्बाले बताइन ।

दमक नगरपालिका वडा नम्वर ५ का वडा सदस्य ख्यामकुमारी परियारलाई यो समुदायसँग तीज मनाउन पाउँदा खुशी लागेको बताइन । उनीहरुलाई हेलाको दृष्टिले हेर्ने नभई उनीहरुको समस्याको समाधानका लागि सबै लाग्नु पर्ने उनको भनाई छ ।

नेपालमा नौ लाख यौनिक तथा लैंगिक अल्पसख्यक समुदायका व्यक्ति रहेको यो समुदायको अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले बताउँदै आएका छन् । जस अन्तर्गत समलिंगी पुरुष, समलिंगी महिला, तेस्रोलिंगी पुरुष, तेस्रोलिंगी महिला, द्धिलिंगी महिला, द्धिलिंगी पुरुष र अन्तरलिंगी महिला तथा अन्तरलिंगी पुरुष पर्दछन् ।

दमकसहित पूर्वी नेपालमा लिड नेपाल नामक संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यकका बिषयमा कार्यक्रम संचालन गर्दै आएको छ । आफूहरुको कार्यक्रममा बोलाएका निम्तालु खासै नआइदिने गरेको आयोजकको दुखेसो रहेको छ ।

लिड नेपालकी कार्यक्रम संयोजक सुब्बाका अनुसार हरेक कार्यक्रममा बोलाइए पनि समाजका लब्धप्रतिष्ठित व्यक्ति तथा सरकारी कार्यालयका जिम्मेवार व्यक्तिसमेत नआउने गरेको पाइएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.