चितवनमा एक जना तेस्रोलिंगीको हत्या

चितवनमा एक जना तेस्रोलिंगीको हत्या

काठमाडौं (पहिचान) असोज २९ – चितवनको नारायणगढ लायन्सचोकमा रहेको ग्यारेज नजिकै एक जना तेस्रोलिंगीको हत्या भएको छ । शनिवार राती हत्या गरेर विग्रेको ट्रकको डालामा फालिरहेको अबस्थामा एक जना तेस्रोलिंगीको शब हिजो आइतवार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मानव सचेत समाज चितवनमा स्वयंसेवकको रुपमा काम गर्दै आएकी अन्दाजी २६ बर्षकी दिपिका उप्रेतीको शब प्रहरीले फेला पारेको समाजका प्रमूख देव श्रेष्ठले जानकारी दिए । झापा दमककी दिपिकाका परिवारले हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उजुरी दिएर पोष्टमार्टमपछि शब बुझेको श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमूख एसपी सुशील सिंह राठौरले टाउँकोका दुई ठाउँमा चोट लागेको अबस्था दिपिकाको शब भेटिएकाले उनको हत्या भएको हुन सक्ने बताए । ‘तेस्रोलिंगी बस्ने पूरानो ठाउँ हो पहिचानसँग एसपी राठौरले भने, प्रहरीले त्यो क्षेत्रमा राती नबस्न भन्दै आएको थियो ।’ उनले घटनाको अनुशन्धान सुरु गरेको जानकारी दिए ।

बिगत १० बर्षदेखि तेस्रोलिंगी महिला दिपिका (दीपक) ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानवअधिकार, एचआइभी रोकथाम लगायतका क्षेत्रमा काम गर्दै आएकी थिइन । मानव सचेत समाज चितवनका प्रमूख देब श्रेष्ठका अनुसार उनलाई परिवारले तेस्रोलिंगी भएकै कारण घरबाट निकालेका थिए ।

परिवारले जिल्ला प्रहरी कार्यालयमा समेत दिपिकालाई तेस्रोलिंगी पहिचान नदिए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको श्रेष्ठले वताए । ‘हत्या भएको छ, अपराधी पत्ता लगाउनु छ श्रेष्ठले पहिचानसँग भने, मरेपछि पनि परिवारले तेस्रोलिंगी पहिचान दिन मान्दैन, हाम्रो समाज, परिवार कस्तो निर्दयी छ ।’

दिपिकाको आज सोमबार दाहसंस्कार गरिएको छ । श्रेष्ठले हत्यामा संलग्नको अनुशन्धान गरेर कारवाहीका लागि प्रहरीलाई अनुरोध गरेको बताए । ‘हामी हाम्रो तर्फबाट प्रहरीलाई अनुशन्धानमा सघाउँछौ’ श्रेष्ठले भने । मानव सचेत समाज चितवनले यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकार, स्वास्थ्य, एचआइभी रोकथाम लगायतका जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.