लिंग फेरेकी बहिनीसँग टीका

लिंग फेरेकी बहिनीसँग टीका

काठमाडौं (पहिचान) कार्तिक २८ – प्यूठान नगरपालिका ४, टारीका ३२ वर्षीय अर्जुन लिंग परिवर्तनपछि अरुणा सुवेदी बनेकी छन् । आफ्नो स्वभाव छोरीको जस्तै भएपछि उनी गाउँमा भन्दा जिल्ला वाहिर वसिरहेकी थिईन् । कहिलेकाहीँ मात्र घर आउने गर्थिन् ।

अरुणा बनेपछि उनको दैनिकी पनि फेरिएको छ । अहिले परिवार र छरछिमेकसँग रमाएर बसेकी छन् । यसपाली दसैँ – तिहारमा घर आउँदा संकोच मानिनन् । स्थानीय महिलासँगै देउसीभैलो खेलेर रमाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

वाणिज्यशास्त्रमा स्नातक उनी गैरसरकारी संस्था सहयात्रा नेपालमा काम गर्छिन । त्यसैले धेरै समय कञ्चनपुरको महेन्द्रनगरमै बस्छिन् । आफ्नो स्वभाव र शारीरिक अवस्था बुझेपछि उनले लिंग परिर्वतन गर्ने निर्णय गरेको बताइन् । बहिनी बनेर घरमा आएकी अरुणासँग दाजु सुमनले भाइटीका लगाएको बताए ।

पहिल्यैदेखि महिलाको जस्तै वानीवेहोरा थियो, सुमनले भने, वयस्क भएदेखि धेरैजसो घरबाहिरै हुन्थिन् । यसपालि बहिनी घरमा आएपछि खुसीसाथ तिहार मनाएको उनले सुनाए । देवेन्द्रबहादुर र उमाका तीन सन्तानमध्ये अर्जुन कान्छो हुन् ।

‘भाइटिकामा बहिनीको धेरै महत्वहुन्छ सुमनले भने, भाइ ठानेको मान्छे बहिनी बनेर घर पस्दा नयाँ खुसी थपियो ।’ यसअघि छिमेकी काकाकी छोरीसँग भाइटीका लगाउने गरेको उनले बताए । यसपाली आफ्नै बहिनीको हातबाट टीका लगाउन पाउँदा सबै खुसी भएको उनले सुनाए । ‘मेरो स्वाभावले गर्दा परिवारको नै मान मर्दन भएजस्तो अनुभव गर्थे, अरुणाले भनिन्, म जे थिएँ त्यही बनेर आएपछि छरछिमेकमा घुलमिल गर्ने प्रयत्न गरिरहेको छु ।’

उनले समाजमा तेस्रोलिंगी, महिला–पुरुष समलिंगी, दुईलिंगी रहेको बताइन् । आफू समाजले अपेक्षा गरेको भन्दा फरक वर्गमा पर्ने उनको दाबी छ ।

उनका अनुसार लिंग परिवर्तनका लागि थाइल्यान्डमा शल्यक्रिया गर्न १० लाख रुपैयाँ खर्च भएको थियो । ‘शल्यक्रियापछि म पूर्णरुपमा केटी भइसकेकी छु, चुरा, पोते र साडी लगाएर घुमफिर गरिरहेकी उनले भनिन्, अब कसैले शंका नगर्दा हुन्छ ।’

नेपालमा अरुणा मात्रै लिंग परिवर्तन गर्ने एक्ली भने होइनन् । उनी जस्तै लिंग परिवर्तन गरेर महिला बनेका एक दर्जन भन्दा धेरै भइसकेका छन् । लिंग परिवर्तन गरेका मध्ये केहीले मात्रै अरुणाले जस्तै भाइटीका लगाउने अवसर पाएका छन् । धेरैको परिवारले अझै स्वीकार गरिसकेको छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.