समलिंगी महिलाको कथा समेटिएको भिडियो सार्वजनिक

समलिंगी महिलाको कथा समेटिएको भिडियो सार्वजनिक

काठमाडौं (पहिचान) मंसिर ४ – समलिंगी महिलाको कथा समेटिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । परिवर्तित समाजमा आफ्नो लैंगिक पहिचान लुकाउन नहुने संदेश दिने उद्धेश्यले प्रविन श्रेष्ठको निर्देशनमा समलिंगी महिलाको कथा समेटिएको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको म्यूजिक भिडियोमा समलिंगी महिलाको कथा समेटिएको छ । गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई समलिंगी महिला जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा समलिंगी महिला बनेका रीमा र बेनिशाकोे इन्टिमेट सिन समेत समावेश गरिएको छ । भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे म्यूजिक भिडियो बन्ने, चलचित्र निर्माण हुने क्रम बढेको छ । समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएसँगै पहिचान लुकाएर बाचिरहेका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी निशंकोच पहिचान खुलाएर बाहिर आउन थालेका छन् । बिपरितलिंगी महिला र पुरुषको बुझाईमा आएको क्षणिक परिवर्तनका कारण नै उनीहरुलाई पहिचान खुलाएर आउन सहज भएको हो ।

कतिपय चलचित्र, म्यूजिक भिडियोमा समलिंगी तेस्रोलिंगी आफैले अभिनय समेत गरेका छन् । कतिपयमा विपरितलिंगी व्यक्तिले उनीहरुको कथा प्रस्तुत गरेका छन् । भुल्न मन बोलको गीतमा समलिंगी महिलाको कथामा रीमा र बेनिशाले अभिनय गरेका छन् ।

सबैको साथ र सहयोग पाए पहिचान लुकाएर बसेका समलिंगी महिला, समलिंगी पुरुष, तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष, अन्तरलिंगी महिला र अन्तरलिंगी पुरुषलाई अधिकार माग्न अझै सहज हुन्थ्यो कि ?

https://www.youtube.com/watch?v=-SMsbdu0Jy0&pbjreload=10

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.